मुटु स्वस्थ राख्न बिहान नास्ता खानुस्

Posted by Sura Health on |







                                                                                                            यदि तपाइँ आफ्नो मुटु स्वस्थ राख्न चाहनुहुन्छ भने बिहान नास्ता खान नभुल्नुहोस् । विहान खाजा नखाने मानिसको मुटु अस्वस्थ हुने खतरा बढि हुने एक अध्ययनले देखाएको छ ।

अमेरिकी शोधकर्ताहरुले २७ हजार मानिसमा गरेको शोधबाट यस्तो निष्कर्ष निकालेका हुन् । हार्वर्ड विश्वविद्यालयको स्कुल अफ पब्लिक हेल्थका शोधकर्ताहरुको यो शोध सम्बन्धि समाचार सर्कुलेशन नामक जर्नलमा छापिएको छ । शोधकर्ताहरुको निष्कर्ष छ- एक पटक खाना नखानु भनेको मस्तिष्कमा अतिरिक्त बोझ थप्नु हो ।
यसअघि बि्रटिस हार्ट फाउण्डेसनले समेत बिहानको खाजाले मानिसहरुलाई दिउसोको लन्च अघि गुलियो खानेकुरा खानबाट रोक्ने र त्यसको सकारात्मक प्रभाव मुटुमा पर्ने बताएको थियो ।
शोधका क्रममा ४५ देखि ८२ वर्ष उमेरका पुरुषमा १६ वर्षसम्म अध्ययन गरियो । जसका क्रममा डेढ हजार जना भन्दा बढि मानिसलाई हृदयाघात भयो वा मुटुले पूरै काम गर्न छाड्यो ।
खाजा नखानेलाई २७ प्रतिशत बढि खतरा
अध्ययनले के देखायो भने जो मानिसले बिहान खाजा खाँदैनथे उनीहरुमा बिहानको खाजा खाने मान्छेमा भन्दा २७ प्रतिशत बढि मुटुरोग देखियो । शोधकर्ताहरुले जिवनशैली सँग जोडिएका अन्य कुरा जस्तै धूमपान तथा व्यायाम लगायतका विषयलाई पनि मध्यनजर गरेका थिए ।
शोधकर्ता डाक्टर लिया काहिलका अनुसार बिहान उठेको एक घण्टाभित्र केही न केही खाजा खानैपर्छ ।
खाने विषय स्वास्थ्यका लागि निकै महत्वपूर्ण रहेको र खानका लागि सधै दिउसो सम्म पर्खिँदा स्वास्थ्य विस्तारै कमजोर हुँदै जाने उनको भनाइ छ । यसबाट अन्ततः उच्च रक्तचाप, मोटोपन तथा मधुमेह जस्ता रोगको खतरा बढ्छ र मुटुमा दीर्घकालीन असर पूराउँछ ।
बि्रटिस हार्ट फाउण्डेसनका पोषण विज्ञ भिक्टोरिया टेलका अनुसार यो शोध केवल ४५ वर्ष भन्दा माथिका पुरुषमा भएको हुँदा यसको निष्कर्षलाई अझै विश्वसनीय बनाउनका लागि अन्य उमेर समूहका मानिसमा पनि यसको अध्ययन गर्नुपर्ने आवश्यकता छ ।
बिहानको खाजाले पोषणमा विविधता ल्याउनुका साथै दिउसो स्न्याक्स तथा गुलियो लगायतका खानेकुरा खाने दरमा कमी ल्याउने हुनाले मुटु स्वस्थ राख्न सघाउ पुग्छ । यसबाट बढि भोजन गर्ने दरमा पनि कमी हुन गई मोटोपन लगायतका समस्या समेत कम हुन्छन् । बिहानको भोजनमा अन्न, गेडागुडी, फलफूल लगायतका हल्का भोजन गर्नु स्वास्थ्यका लागि निकै फाइदाजनक हुने शोधकर्ताहरुको ठम्याइ छ ।

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips