ओठ फुट्छ ? कुरूप बनाउला ?
Posted by Sura Health on |
राती सुत्दा विशेष गरी ग्लिसिरिनमा कागती र गुलाबजल हालेर ओठ, गाला, हात र खुट्टामा दल्नाले फुट्ने प्रकृया कम हुन्छ । राती सुत्ने बेलामा घरमै पाइने घिउ, मखन, दूधको तर आदि हलुका तरिकाले ओठमा दल्नाले फाइदा पुग्छ । शरीरमा पानीको मात्रामा कमी हुँदा ओठ, गाला, हात, खुट्टा फुट्न सक्छ । त्यसैले गर्मी र जाडो दुवै मौसममा पानीको पर्याप्त प्रयोग गर्नुपर्छ ।
ओठ फुट्ने धेरैजसो व्यक्तिहरू बारम्बार जिब्रोले ओठ चाट्छन् । यसो गर्दा केही सन्चो भएजस्तो लाग्छ तर थुक सुकेपछि पहिलेको भन्दा झन् सुख्खा हुन्छ । बारम्बार ओठ चाटिरहँदा ओठको छाला वरिपरि कालो हुनजान्छ । विशेष गरी यो बालबालिकालाई देखापर्ने समस्या भए पनि कहिलेकाहीँ ठूला व्यक्तिहरूमा पनि देखापर्छ ।
सुत्नुभन्दाअघि अनुहार सफा गरेर तैलीय पदार्थहरूको प्रयोग गर्नु ठीक हुन्छ । जस्तो–दूधको तर, तेल, तोरीको तेल वा तिलको तेल, ग्लिसिरिन आदिको प्रयोग गर्नु राम्रो हुन्छ । यो घरमै पाइने सस्तो औषधी हो ।
ओठ फुट्दा सुरुआतमा ओठको माथिल्लो भागमा के–के भएजस्तो हुन सक्छ । ज्वरो आएको बेला वा जाडो भएको बेला यो बढी हुन्छ । यस्तो बेलामा पहिले छाला रातो हुन्छ, चिलाउँछ घाउजस्तो भएर सुन्निन्छ । यस्तो बेलामा ऐना हेरेर हातले ती घाउ वा फोकाहरू छुन मन लागिरहने वा जिब्रोले चलाइरहन मन लाग्ने हुन्छ । यस्तो किसिमको घाउ एक प्रकारको जीवाणुबाट हुन्छ । कसैकसैलाई यो बारम्बार भइरहन्छ । यो बेलामा घाउलाई सकेसम्म सफा र सुख्खा राख्नुपर्छ । कहिलेकाहीँ मात्रै यसमा पीप आउन सक्छ । हातले छुने गर्नु हुँदैन ।
यसै गरी हात खुट्टाका छाला खस्रो हुनु र फुट्नु पनि शरीरले तैलीय पदार्थ उत्पादन कम गरेका कारणले हुने अवस्थाहरू हुन् । यस कारण शरीरका हावा पर्ने भागमा चिल्लो पदार्थ÷तैलीय पदार्थ दली फुट्न नदिन नरम पारेर राख्न सकिन्छ |
You can subscribe by e-mail to receive news updates and breaking stories.