भोक जगाउन योग चिकित्सा !!

Posted by Sura Health on |







         
     डा. क्षितिज बराकोटी                                                      
                                                                                                                                                                                                                                                                         अरुचि एक यस्तो समस्या हो जसमा सामान्यतया भोक नलाग्ने वा खान मन नलाग्ने हुन्छ । यो अनेक रोगहरुको लक्षणका रुपमा देखिने एउटा समस्या हो ।

अरुचिका लक्षणहरु
सामान्य अवस्थामा निश्चित अवधिमा भोक लाग्छ । तर अरुचिमा भोक लाग्ने समयमा पनि भोकको अनुभव हुँदैन वा भोक लागेजस्तो भए तापनि खाना मुखमा हालेपछि खान मन हुँदैन । यस समस्यामा जतिसुकै मीठो वा स्वादिलो कुरा पनि खाऊँ–खाऊँ नलाग्ने वा खाइहाले पनि एक–दुई गाँसमै अरुचि लाग्न सक्छ वा वाकवाकी हुन्छ, खानाको स्वाद हराउँछ । जबरजस्ती खुवाउने प्रयास गरेमा बान्ता नै हुन्छ । कसैलाई खानाको नाम सुन्नासाथै दिक्क लाग्ने, तनाव हुने वा वाकवाकी लाग्ने हुन्छ ।
 अरुचिका प्रकार र कारण
अरुचि दुई प्रकारका हुन्छन् वा अरुचि हुनुका पछाडि दुई कारणहरु हुन्छन् । ती हुन्–
शारीरिक कारणको अरुचि ः

शारीरिक कारणअन्तर्गत पेटका रोगहरु जस्तै– तीव्र वा जीर्ण ग्यास्ट्राइटिस, जुका वा अन्य प्रकारका कृमिहरु पर्नु, अपच, हेपाटाइटिस, कमलपित्तजस्ता समस्या प्रमुख कारण हुन् । यसरी नै रुघाखोकीलगायत आमासय, कलेजो, आन्द्रा आदिमा हुने अवरोध, क्यान्सर आदि अनेक सामान्य वा जटिल कारणले गर्दा पनि खान मन लाग्दैन । कुनै पनि प्रकारको ज्वरो वा संक्रमणका अवस्था जस्तै– टाइफाइड, मलेरिया, डेंग्यु, कालाजार, मूत्रमार्गको संक्रमण आदिमा भोक हराउँछ । कुपोषणको डरलाग्दो लक्षणको रुपमा पनि अरुचि आउँछ । बढी चिया–कफी, मद्यपान, लागूपदार्थ आदिको प्रयोग गर्नु, खानपानको समय बढी गडबडी भैरहनु, औषधिहरुको प्रयोग जस्तै– एन्टिबायोटिक आदि खानु, हर्मोनको गडबडी, मुखको संक्रमण, शरीरको कुनै पनि भागमा हुने तीव्र दुखाइ आदि पनि अरुचिका खास
कारणहरु हुन् ।

मानसिक कारणको अरुचि ः
बढी चिन्ता, तनाव तथा डिप्रेसनको अवस्थामा पनि भोक नलाग्ने समस्या आउँछ । हिस्टेरिया, सिजोफ्रेनियाजस्ता मनोरोगहरुमा समेत खाना खानेसम्बन्धी गडबडीअन्तर्गत कहिले बढी खाने त कहिले खाँदै नखाने लक्षणहरु आउँछन् । मोटो हुने डरले गरिने अव्यवस्थित डाइटिङ पनि यस्तै एक कारण हो ।

अरुचिले हुन सक्ने जटिलता
अरुचिले गर्दा कमजोरी बढ्ने, तौल घट्ने, रगतमा हेमोग्लोबिनको मात्रा घट्ने, रक्तचाप न्यून हुने, रिंगटा लाग्ने, पखाला चल्ने, कब्जियत हुने, टाउको दुख्ने, जीउ गल्ने–दुख्ने हुन्छ । विभिन्न रोगले छिट्टै समात्ने हुन्छ । महिलामा महिनावारीको गडबडी पनि हुन्छ । अरुचि दीर्घकालीन भएमा बेहोस हुने वा ज्यानै जोखिममा पर्न जान्छ ।

अरुचिको कारणहरुको निदान
अरुचिका कतिपय कारणहरु चिकित्सकले जाँचेपछि नै थाहा पाउन सकिन्छ । यसरी नै शारीरिक कारणहरुले गर्दा हुने अरुचिको निदानका लागि इन्डोस्कोपी, अल्ट्रासाउन्ड, एक्स–रे,  दिसा, रगत, खकार आदि प्रयोगशाला परीक्षण पनि गर्न सकिन्छ ।  साथै मानसिक जाँच तथा मनोवैज्ञानिक परीक्षणहरुबाट मानसिक कारणले भएको अरुचिबारे निदान गर्न सकिन्छ ।

भोक जगाउने उपयोगी योगचिकित्सा
अरुचिको उपचारका लागि कारक रोगको पहिचान गरी त्यसको निवारण गर्नु जरुरी छ । धेरै कारणहरुले हुने अरुचिलाई योगोपचारले पूर्ण निको पार्छ र राम्ररी भोक लाग्छ । केही समस्यामा भने अन्य चिकित्सा पद्धतिको पनि सहयोग लिई उपचार गर्न सकिन्छ ।

कुनै पनि यौगिक सूक्ष्म व्यायाम, स्थुल व्यायाम तथा आसनहरु अरुचिका लागि उपयोगी छन्, तर रोग र कारणअनुरुप मात्र प्रभावकारी आसनहरुको चयन गर्नु उपयुक्त हुन्छ । यसका लागि योग चिकित्सक, योग विशेषज्ञ वा प्राकृतिक चिकित्सकको सल्लाह लिनु बुद्धिमानी हुनेछ ।

किनभने कतिपय अरुचिका लक्षणहरु गम्भीर रोगको लक्षणका रुपमा आएको हुन्छ र सो अवस्थामा सावधानी अपनाइएन भने परिणाम नराम्रो हुन सक्छ । तलका केही कारणअनुरुपको योगाभ्यासहरु हेरौं–

अपच, ग्यास्ट्राइटिस, कब्जियतले भएको अरुचिका लागि योगाभ्यास ः
नौकासन, हलासन, भुज·ासन, सलभासन, धनुरासन, नाभ्यासन, पश्चिमोत्तानासन, वज्रासन, सशंकासन, मण्डूकासन, षट्पादासन, सर्वा·ासन, सूर्य नमस्कारजस्ता आसनहरुले लाभ प्रदान गर्छन् । यसरी नै अग्निसार क्रिया, जलधौति (पानी पिएर वमन गर्ने), दण्डधौति (विशेष प्रकारले बनाइएको धागो वा रबरको क्याथेटर वा पाइपको सहयोगले खाली पेटमा पिएको पानी पेटबाट बाहिर निकाल्ने विधि), वस्ति (आधुनिक रुपको वस्तिमा एनिमा पटको माध्यमले उमालेर सेलाएको मनतातो स्वच्छ पानी मलद्वारबाट ठूलो आन्द्रा, पेटभित्र पठाई तालिमप्राप्त व्यक्तिको सहयोगले पेट सफा गर्ने विधि), कपालभाँति (कुनै ध्यानात्मक आसन जस्तै– पद्मासन, वज्रासन, सुखासन आदिमध्ये कुनै एकमा बसी आँखा चिम्लेर पेटलाई भित्र तान्दै झड्का दिएर लयबद्धरुपमा मुख बन्द गरी नाकबाट श्वास बाहिर छोड्ने अभ्यास) आदिले पाचन ग्रन्थि, कलेजोलगायत आन्द्राहरुको शोधन भई कार्यक्षमता बढ्छ र खाना रुच्छ । नौलि (विशेष किसिमले पेटको सञ्चालन विधि), लघु तथा पूर्ण शंखप्रक्षालन (पानी पिएर निर्धारित आसनहरुको अभ्यास गरी पेट सफा गर्ने विधि), उड्डियानबन्ध, ध्यान, यौगिक–सात्त्विक भोजनको प्रयोगले खानाको अरुचि हटाउन सहयोग गर्छ ।

रुघाखोकी, पिनास आदिले भएको अरुचिका लागि योगाभ्यास ः
विभिन्न सूक्ष्म व्यायामहरु, सशंकासन, मृगासन, जलनेति, सूत्रनेति, घृतनेति, वस्ति, धौति, कपालभाँति, अनुलोम–विलोम, सूर्यभेदी प्राणायाम आदिले नाक–मुखको समस्याका कारण हुने अरुचि कम गर्छ ।

अन्य कारणले हुने अरुचिका लागि योगाभ्यास ः
कुनै पनि संक्रामक ज्वरो आदिले भएको अरुचिका लागि शवासन, शिथिलासन, वस्ति तथा चिकित्सकद्वारा निर्धारित अन्य योग–विधिहरु गर्न सकिन्छ । त्यस्तै कलेजो सुन्निने, हेपाटाइटिस, सिरोसिस आदि रोग तथा आमासय, आन्द्राको अल्सर आदिले भएको अरुचिका लागि शवासन, शिथिलासन, वस्ति, हल्का किसिमले अभ्यास गर्ने अग्निसार क्रिया, अनुलोम–विलोम, नाडिशोधन, ध्यान आदि लाभदायक छ । चिकित्सकद्वारा निर्धारित अन्य योग–विधिहरु पनि अभ्यास गर्नु पर्छ ।

मानसिक तथा मनोवैज्ञानिक कारणको अरुचिमा यम, नियमलगायत विभिन्न शक्ति विकासका क्रिया वा सूक्ष्म व्यायामहरु, बालासन, हलासन, धु्रवासन, गरुडासन, सूर्य नमस्कार, सर्वांगासन, पद्मासन, नाडिशोधन प्राणायाम, ध्यान, विभिन्न हस्त तथा शारीरिक मुद्राहरु आदि गर्न सकिन्छ । यस्ता योगाभ्यासले मनोरोगहरु कम गर्छ र अरुचि कम हुन्छ । माथि बताइएका योग–विधिहरुको अभ्यासका लागि विगतमा प्रकाशित साधनाका अंकहरुमा हेर्न सकिन्छ । तर पनि योग विशेषज्ञको सल्लाहबमोजिम मात्र योगासनहरु गर्नुपर्दछ ।

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips