You are here: Home /
Health News / ३० करोड लगानीमा एलोपेथिक औषधि उद्योग !!
पुसबाट व्यावसायिक उत्पादन थालिने रूपन्देहीको आनन्दवन–७, १२ नम्बरमा एप्पल फर्मास्युटिकल्स प्रालि स्थापना हुँदै छ । एलोपेथिक औषधि उत्पादन गर्ने यो उद्योगको निर्माण अन्तिम चरणमा पुगेको र आगामी पुसबाट व्यावसायिक उत्पादन शुरू हुने सञ्चालक जगत पन्तले जानकारी दिए ।
लुम्बिनी अञ्चलका युवा चिकित्सक, इञ्जिनीयर, फर्मासिष्टलगायत १० जनाको रू. ३० करोड लगानीमा उक्त औषधि उद्योग स्थापना हुन लागेको हो । उद्योगले अहिले औषधिको परीक्षण उत्पादनको तयारी गरिरहेको छ । ‘हामी १५ दिनभित्रै परीक्षण उत्पादन सम्पन्न गर्छौं,’ पन्तले भने । कम्पनीले ट्याबलेट, मल्हम र क्याप्सुलमा विभिन्न प्रकारका औषधि उत्पादन गर्नेछ । उद्योगमा प्रारम्भिक चरणमा ४० जनाले रोजगारी पाउने बताइएको छ । पूर्ण क्षमतामा चल्न थालेपछि उद्योगले १ सय ५ जनालाई रोजगारी दिन सक्ने सञ्चालक पन्तले जानकारी दिए ।
उद्योग १ बिगाहा ५ कट्ठा जमीनमा फैलिएको छ । विदेशी औषधिको आयात घटाउने उद्देश्यले एलोपेथिक औषधि उद्योगमा लगानी गरेको अर्का सञ्चालक डा. सुमन्त बञ्जाडेले बताए । नेपालमा हाल ७० प्रतिशत एलोपेथिक औषधि भारतबाट आयात भइरहेको छ । उद्योगका लागि चाहिने कच्चापदार्थ भारतलगायत मुलुकबाट ल्याइने पन्तले जानकारी दिए ।
पूर्ण क्षमतामा कम्पनी सञ्चालन हुँदा वार्षिक रू. १ अर्ब मूल्यबराबरको औषधि उत्पादन गर्न सकिने उनले बताए । विश्व स्वास्थ्य सङ्गठनको ‘जीएमपी गाइडलाइन’अनुसार अत्याधुनिक प्रविधि प्रयोग गरी उद्योग स्थापना गरिएको बताइएको छ । उद्योगबाट उत्पादित औषधि स्वदेशमै खपत गर्ने लक्ष्य राखिएको छ ।