पिँडौला बाउँडिने समस्या !!
Posted by Sura Health on |
दिनभरिको शारीरिक व्यस्तता र आरामको अभावमा धेरैजसो मानिसले खुट्टा बाउँडिने (पिँडुला फर्किने) समस्या झेलिरहेका हुन्छन् । अधिकांश व्यक्तिले यस्तो समस्यामा हतारमा डोरी तथा कपडाले खुट्टा बाँधेर सुत्ने गर्छन् । चिकित्सकहरूका अनुसार पिँडुला बाउडिएपछि खुट्टामा कसेर बाँध्नु भनेको झन् खतरा बढाउनु हो । यसले रक्तसञ्चारमा अवरोध भएर खुट्टामा अनेक समस्या देखिनुको साथै खुट्टा काट्नुपर्नेसम्म अवस्था निम्त्याउन सक्छ । त्यसैले चिकित्सकहरू पिडुला फर्किनेबित्तिकै पैतालालाई माथितिर फर्काएर मालिस गर्न सुझाव दिन्छन् ।
व्यस्तता र आरामको अभावमा पछिल्लो समय खुट्टा बाउँडिने समस्याबाट पीडित हुनेहरूको संख्या बढ्दै गइरहेको चिकित्सकले बताएका छन् । अधिकांश व्यक्तिमा यो समस्या राति सुत्ने बेलामा देखा पर्छ । त्यसैले यसलाई राति उत्पन्न पिडादायि रोग पनि भन्ने गरीन्छ । खुट्टा बाउँडिने समस्या अकस्मात् हुने गर्दछ । दिनभर काममा व्यस्तता, मांसापेशीको बढी प्रयोग, रगतको पयाप्त प्रवाह नहुने वा नसामा समस्यालगायत कारणले यो समस्या हुने चिकित्सकको भनाइ छ । मांसपेशी बढी व्यस्त राख्ने खेलाडी, हिमाल आरोही, दौडने व्यक्तिहरूमा यस्तो समस्या देखिने बढी गर्दछ । शरीरमा क्याल्सियम तथा इलेक्ट्रोलाइटसको मात्रा कम भएर तथा अन्य रोगका कारण पनि यो समस्या हुने गरेको छ ।
शहिद मेमोरियल अस्पतालका अर्थोपेडिक सर्जन डा. दीपक श्रेष्ठका अनुसार खुट्टा बाउँडिँदा पिँडौलाको मासु फर्किएर अगाडि आउँछ र पिडुलाको मासपेशिभित्र सिल्का हानेजस्तो हुने र कटकटी दुख्छ । ‘खुट्टाको पिँडुला बाउडियो वा दुख्यो भने धेरैजसो व्यक्तिले दुखाइ कम गर्न डोरी वा कपडाले बाँध्ने गर्छन’ डा. श्रेष्ठ भन्छन ‘यसो गर्दा उनिहरूलाई पीडा कम हुने र निदाउन सहज हुने भए पनि डोरी वा कपडाले बाँध्दा खुट्टाको औंलासम्म रगत प्रवाह हुन नपाई नीलो हुन सक्ने र खुट्टा काम नलाग्ने पनि हुन सक्छ ।’
उनका अनुसार सावधानी नपुर्याउदा खुट्टा नै काम नलाग्ने भई काट्नुपर्ने अवस्था पनि आउन सक्छ । त्यसैले बाँध्नुभन्दा हल्का ढंगले पिँडौलामा मसाज गर्नु लाभदायी हुन्छ । मसाज गर्दा दुखाइमा कमी आउनुका साथै आरामको महसुस हुन्छ । बिस्तारै मसाज गर्ने वा दुखेको भागलाई पानीमा भिजाउने आदि गर्नुपर्छ ।
पिडुला फर्किदा तथा बाउँडिदा अत्यधिक पीडा हुन्छ तर त्यो केही क्षणका लागि मात्र हुन्छ । केही व्यक्तिमा एक वा दुई मिनेटसम्म हुन्छ भने केहीमा १० मिनेटसम्म । बाहिरबाट झट्ट हेर्दा केही नदेखिने तर पीडितलाई भित्रभित्रै पीडा दिइरहेको हुन्छ । यो रोगको उपचारका लागि हत्तपत्त अस्पताल जानु आवश्यक पनि ठान्दैनन् पीडितहरू । राति सुत्ने बेलामा खुट्टाको पिँडौला कटकटी दुख्ने तथा हात, तिघ्रा, औंला र पाखुरामा पनि दुखाइले सताउँछ भने हेलचेक्र्याइँ नगर्न सुझाब दिन्छन् डा. श्रेष्ठ । भन्छन् ‘यस्तो समस्या छ भने समयमा नै उपचार गर्नु आवश्यक छ अन्यथा यो समस्याले झन् जटिल रूप लिन सक्छ ।’ उनका अनुसार खुट्टाको पिडुला फर्किएपछि अर्थात् बाउडिएपछि त्यस क्षेत्रको मांसपेशी च्यातिन्छ, जसकारण नै हातखुट्टा दुख्नेलगायत विभिन्न समस्या देखा पर्छन् ।
काममा व्यस्त हुनुपर्दा शरीरलाई पर्याप्त पानीका साथै अन्य खनिज पदार्थको पनि कमी हुन पुग्छ । फलस्वरुप हातखुट्टा कटकटी दुख्ने समस्या देखा पर्छ । यस किसिमको दुखाइ अचानक हुन सक्ने अर्थोपेडिक सर्जन डा. हेम लिम्बूले बताए– ‘मांसपेशीको आवश्यकताभन्दा बढी प्रयोग गर्ने व्यक्तिहरू पीडित हुन्छन् ।’ हातखुट्टासँगै शरीरलाई पनि पर्याप्त आरामको जरुरत पर्छ । सन्तुलित भोजनसँगै शरीरलाई क्याल्सियम, म्याग्नेसियम, पोटासियम आदिको पनि आवश्यकता पर्दछ । काममा व्यस्त भइरहने व्यक्तिले स्वास्थ्यप्रति ध्यान दिन नपाउने भएकोले पनि यी विभिन्न समस्याहरू देखा पर्ने डा. लिम्बूले बताए । त्यस्तै रगत प्रवाह हुने धमनीमा रोकावट आयो भने तथा ढाडको नसा च्यापियो भने पनि पिँडौला दुख्न सक्छ । खुट्टा झुन्ड्याएर वा खुम्च्याएर बस्दा तथा काम गर्दा रगत सुचारु रूपले प्रवाह हुन नपाई पिँडौला तथा तिघ्रा दुख्न सक्छ । यस्तो दुखाइ केही मिनेटपछि बिस्तारै कम हुँदै जान्छ । डा. लिम्बूले उच्च रक्तचाप भएका बिरामीले खाने औषधिले शरीरमा भएको पोटासियमको मात्रामा कमी ल्याउने भएकाले उनीहरूले पनि पनि पिँडौला दुख्ने समस्या बेहोर्नुपरेको तथा मधुमेह, एनिमिया, थाइराइडबाट पीडित भएकालाई पनि यो समस्याले सताउने गरेको बताए ।
यसो गरौँ : पिँडुला तथा तिघ्राको मांशपेशी बाउडिएर फर्किनासाथ डोरी तथा कपडाले बाध्नु हुँदैन । भुइँमा सुतेर खुट्टालाई माथितिर फर्काएर पैतालामा थिच्ने गर्नुपर्छ । खुट्टालाई तन्काएर पैतालामा थिच्यो भने तुरुन्त आराम मिल्छ । त्यसपछि उक्त मांशपेशी वरिपरि विस्तारै मसाज गर्नुपर्छ । पिडुला तथा तिघ्रामा डोरी तथा कपडाले कसेर बाध्नुको सट्टा रवरको व्यान्ड अर्थात व्यान्डेजले हल्का बाध्नु उत्तम हुने डा. लिम्बूले बताए । कहिलेकाहीँ मात्र दुख्ने पिँडुला तथा तिघ्राको पनि के उपचार गर्न जानु भन्ने गलत धारणामा बस्नु हुँदैन । बेलैमा सम्बन्धित चिकित्सकसँग उपचार गराएर सावधानी अपनाउनु आवश्यक छ । यसका साथै दैनिक प्रशस्त पानी पिउने, मांसपेशीलाई आराम दिने, भिटामिन, जुस तथा खनिज पदार्थको सेवन गर्दा पनि यो समस्यावाट छुटकारा पाउन सकिन्छ ।
खुट्टाको मांशपेशी दुखेर बाउडिनु तथा फर्किनु भनेको त्यस आसपासका मांसपेशी च्यातिनु हो । एकपटक समस्या भएपछि बारम्बार दोहोरिने तथा च्यातिएको मासपेशीले थप जटिलता उत्पन्न गर्ने भएकाले यस्तो समस्यापीडितहरूले अनिवार्य रूपमा फिजियोथेरापि गर्नुपर्ने चिकित्सकहरू बताउँछन् ।
You can subscribe by e-mail to receive news updates and breaking stories.