ताजा मस्तिष्कका लागि शिरोधारा !!

Posted by Sura Health on |







           
                 शिरमा निरन्तर औषधियुक्त तरल पदार्थको धारा खसाल्नु नै शिरोधारा हो । यसलाई आयुर्वेद चिकित्सा पद्धतिको प्रभावकारी बाह्य शरीर शुद्धि चिकित्साका रूपमा लिइन्छ । साथै शारीरिक एवम् मानसिक समस्यामा शिरोधारालाई महत्त्वपूर्ण चिकित्सा कर्मको रूपमा लिइन्छ । व्यक्तिको अवस्थाअनुसार तैलधारा, जलधारा, दुग्धधारा आदिद्वारा शिरोधारा गरिन्छ । यसमध्ये तैलधारा (तेलको धारा लगाएर गरिने) शिरोधारा बढी चर्चित छ ।

शिरोधारालाई आरामदायी चिकित्साको रूपमा लिइन्छ । यसले सम्पूर्ण शरीरलाई शून्यता र आरामको अनूभूति दिन्छ । व्यक्तिको शारीरिक, मानसिक अवस्थाअनुसार भिन्न–भिन्न किसिमका औषधियुक्त तरल पदार्थबाट शिरोधारा गर्नेबारे आयुर्वेदमा वर्णन गरिएको पाइन्छ ।

शिरोधारा नै किन ?
प्रायः सबै इन्द्रियहरूको स्थान टाउकोमा हुन्छ । नाक, कान, घाँटीजस्ता महत्त्वपूर्ण अड्डहरू शिरमै रहेका हुन्छन् । त्यस्तै मन र बुद्धिको स्थान शिर हो । मस्तिष्क एवम् मानसिक रोगहरूको स्थान पनि शिरमै छ । त्यसैले शिरोधाराबाट मानसिक शान्तिका साथै मस्तिष्क तेजिलो हुन्छ । शिरोधाराले मस्तिष्कमा रक्तसञ्चार बढाउँछ र स्मृति बढाउँछ । यसले कपाल र शिरलाई पोषण दिन्छ, राम्रो निद्रा प्रदान गर्छ, शरीर र मनलाई शान्त गराउँछ । त्यसैले तनाव र मानसिक समस्याको उपचारमा शिरोधारालाई महत्त्वपूर्ण उपचार विधि मानिन्छ ।

शिरोधारा भावनात्मक एवम् मानसिक विश्राम चिकित्सा हो । निद्रा नलाग्ने समस्या, तनाव, डिप्रेसन, भ्रम, पागलपन, रिस, चक्कर लाग्ने, वाथरोग, उच्च रक्तचाप, दमजस्ता दीर्घरोगमा शिरोधारा लाभदायक हुन्छ । त्यस्तै यसले अनुहारको पक्षघात रोक्न मद्दत पुर्याउँछ, घाँटी र टाउकोलाई मजबुत बनाइराख्छ, स्वरको गुणमा सुधार ल्याउँछ । ज्ञानेन्द्रियको कार्यसम्पादन, पाचनशक्तिमा सुधार आदिका लागि पनि शोरोधारा गर्न सकिन्छ । कपाल झर्ने, पातलो हुने, फुल्ने समस्या कम गर्न तथा स्मरणशक्ति बढाउन एवम् शरीरलाई शीतलता प्रदान गर्न पनि शिरोधाराको सहयोग लिइन्छ । यसै गरी बुद्धि, आत्मविश्वास र आत्मसम्मानमा सुधार गर्न, सौन्दर्य बचाइराख्न शिरोधारा उपयोगी हुने आयुर्वेदाचार्यहरू बताउँछन् ।

तर पेटभर खाना खाएपछि, दीर्घवाथरोगमा, ब्लडप्रेसर कम भएमा, गर्भवती अवस्थामा, मद्यपान गरेपछि, ब्रेन ट्युमर भएमा, शिरमा चोट लागेको अवस्थामा, तेलसँग एलर्जी हुनेहरूमा, तत्काल गर्दन–घाँटीमा चोट लागेको अवस्थामा शिरोधारा गर्नुहुँदैन ।

शिरोधारा गर्ने तरिका
शिरोधाराका लागि झुन्ड्याउने भाँडो जलधारीजस्तै फराकिलो मुख भएको २ लिटर तरलपदार्थ अट्ने हुन्छ । यस भाँडोलाई शिरबाट ४ अंगुल माथि पर्ने गरी झुन्ड्याइन्छ । यसको पिँधमा कान्छीऔंला जत्रो प्वाल बनाइएको हुन्छ । यस प्वालमा कपडा अथवा धागो छिराएर अड्काएको हुन्छ । यसै धागोबाट शिरोधारा गरिने व्यक्तिको शिरमा निश्चत समयसम्म एकैनासले तरलपदार्थ प्रवाह गराउनुपर्छ ।

शिरोधारा गराउनुपर्ने व्यक्तिले मलमूत्र त्याग गरी चिकित्सा शøयामा सुतेर मन एकाग्र गर्नुपर्छ । कुन तरल पदार्थले शिरोधारा गर्ने हो यकिन गरी तरलपदार्थ तेल भएमा मनतातो गरी तताउनुपर्छ । सो तरलपदार्थ धारापात्रमा हालेर निधारमा तेलको धारा लगाइन्छ । निधारको सबै भागमा पुग्ने गरी धारापात्रलाई एक थेरापिस्टले बिस्तारै हल्लाउँछन् भने अर्का थेरापिस्टले निधारबाट तरलपदार्थ सड्ढलन गरी पुनः तताई फेरि धारापात्रमा राख्छन् । तेस्रो थेरापिस्टले बिरामीलाई मन्दरूपमा मसाज गर्छन्, जसले बिरामीलाई जागरण गराइरहोस् र तन्त्रिकालाई पोषण पुगोस् ।

शिरोधाराको प्रक्रियापछि निधार राम्ररी पुछेर शिरमा रास्नादि चूर्णजस्ता वातप्रधान चूर्ण लगाउनुपर्छ । बिरामीलाई केही समयसम्म आराम गराई मनतातो पानीले नुहाउन लगाइन्छ । शिरोधारापछि प्रत्यक्ष चिसोको सम्पर्कबाट बच्नुपर्छ ।

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips