तिहारको खाना र स्वास्थ्य !!
Posted by Sura Health on |
तिहारमा दिदीबहिनीले दिने मसला हाम्रो स्वास्थ्यका दृष्टिले पनि उपयुक्त छन्। त्यसमा समावेश हुने ओखरलाई पोषणको बट्टा भने पनि हुन्छ। ओखरमा एन्टिइन्फ्लामेन्टरी तथा एन्टिअक्सिडेन्ट तत्वहरूका साथै ओमेगा ३ जस्तो महत्वपूर्ण तत्व पनि पाइन्छ। यसको नियमित सेवनले कोलेस्ट्रोल घट्छ, रोगविरुद्ध लड्ने शक्ति बढ्छ तथा दीर्घरोगमा पनि कम पीडा हुन्छ। त्यस्तै बदाममा भिटामिन ई, प्रोटिन, फाइबरका साथै अन्य भिटामिनहरू पाइन्छन्। बदामले क्यान्सर तथा मुटु रोगबाट मात्र बचाउँदैन, मोतीबिन्दु हुने सम्भावना पनि कम गर्छ। पिस्ता सानो भए पनि त्यसको एक दानामा हामीलाई एक दिनमा चाहिने फाइबरको करिब १० प्रतिशत भाग हुन्छ। त्यसबाहेक पिस्तामा भिटामिन बी समूहका भिटामिन तथा खनिज पदार्थहरू पाइन्छन्। पिस्तामा एमिनो एसिड उच्च मात्रामा पाइने भएकाले त्यसले बालक, वृद्ध सबैको विकासमा महत्वपूर्ण भूमिका खेल्छ। त्यस्तै काजुमा प्रशस्त मात्रामा बोसो हुन्छ। यो बोसो अनस्याचुरेटेड तथा मोनोयाचुरेटेड हुने भएकाले शरीरमा रहेको ट्राइग्लिेसोराइड घट्छ। यसबाहेक काजुमा महत्वपूर्ण खनिजहरू -कपर, जिङ्क तथा म्याग्नेसियम) पाइने भएकाले मस्तिष्क, स्नायु तथा रोगप्रतिरोधात्मक शक्तिको विकासमा मद्दत पुग्छ। त्यस्तै कटुसमा पनि अनस्याचुरेटेड फ्याट, खनिज पदार्थहरू -कपर, जिङ्क, म्याग्नेसियम, फस्फोरस, क्याल्सियम, पोटासियम) तथा भिटामिन ए, ई तथा बी समूहका भिटामिनहरू पाइन्छन्। यसको सेवनले केही क्यान्सरबाट समेत जोगाउँछ।
हरेक चाडपर्वमा पसलमा सजाइएका मिठाईंहरू किन्ने चलन बढ्दै गएको छ। बजारका मिठाईंमा अनावश्यक रंग, प्रिजभेटिभ्स तथा एडेटिभ्स (रसायनहरू) प्रयोग गरिएको हुन सक्छ। यस किसिमका रसायन तथा रंगहरूले पेट गडबड गराउनुका साथै पखाला लाग्ने सम्भावना पनि बढाउँछन्। कुनै रंगले दीर्घकालीन असर गर्न सक्छ। यसले जिब्रोमा खटिरा आउने, पेट पोल्ने, मुखबाट अमिलो पानी आउने, सास गन्हाउने आदि समस्यालाई जन्म दिनसक्छ। त्यसैले बजारका आकर्षक मिठाईं भन्दा घरका परिकार रोज्नु स्वस्थकर हुन्छ।
तिहारको अवसरमा गरिने एकदिनको मदिरापानले मुटु, पेट, मस्तिष्क, मिर्गौला तथा अन्य दीर्घकालीन असर हुने सम्भावना कम हुन्छ। यद्यपि एकैपटक बढी मदिरा सेवनले मानिसको ज्यान जान सक्छ। तास तथा जुवाको सुरमा तिहारमा लगातार वा छिटो-छिटो धेरै मदिरा सेवन गर्नु खतरनाक साबित हुन सक्छ। हुन त रगतमा इथानोलको मात्रामा शून्य दशमलव शून्य तीन (०.०३) पुग्नेबित्तिकै मादक पदार्थको असर देखिन थाल्छ। यस्तो अवस्थामा मदिराजन्य पदार्थ सेवनकर्ता बढी मात्र बोल्दैन आनन्दसमेत महसुस गर्छ। यो अवस्थामा आफूलाई कायम राख्न सक्नु उपयुक्त हुन्छ र रमाइलो पनि भैरहन्छ। त्यसपछि पनि मदिराको सेवन नरोके रगतमा इथानोलको मात्रा बढ्दै जान्छ। यो अवस्थामा मानिसले आफूलाई बढी अनुभवी देखाउने तथा आफ्ना कुरामा तर्क गर्ने हुन्छ। रगतमा इथानोलको मात्रा शून्य दशमलव दुईभन्दा बढी भए सचेततामा कमी आउने, गरेका कामको स्मरण नरहने, पिसाब गरेको थाहा नपाउने लक्षणहरू देखिन सक्छन्। मानिस यो अवस्थामा पुग्नेबित्तिकै उपचार गर्नुपर्ने हुन्छ। यो अवस्थामा थप मदिरा सेवन गर्नु भनेको मृत्युको मुखमा जानु हो। यद्यपि थप मदिरा सेवन नगरे पनि पेटमा रहेको मदिरा शोषण हुन सक्छ र रगतमा इथानोलको मात्रा बढ्न सक्छ। रगतमा यसको मात्रा शून्य दशमलव ३ भन्दा बढी भएमा बेहोस हुने तथा शून्य दशमलव ५ भन्दा बढी भए ज्यानै जाने सम्भावना हुन्छ। मदिराका कारण मानिसको मृत्यु भएको हामीले सुनेका छौं। कसैलाई थोरै मदिराले पनि मात लाग्न सक्छ त कसैलाई धेरै चाहिन्छ। शरीरको तौल, बोसोको मात्रा र मदिराको किसिमसँग मात लाग्ने तथा मृत्यु हुने कुराको गहिरो सम्बन्ध हुन्छ। सामान्यतया ५५ केजी तौल भएको व्यक्तिले एक घन्टाभित्र ४० प्रतिशत इथानोल भएको मदिरा (हि्वस्की, भोटका, रम) १० प्याक (४४० मिलिलिटर) भन्दा बढी सेवन गरे कतिपय अवस्थामा मानिसको मृत्यु पनि हुन सक्छ। बढी मदिरापान गरेको भोलिपल्ट शरीरमा पानीको मात्राका साथै ग्लुकोजको पनि कमी हुन्छ फलस्वरूप टाउको दुख्ने, थकित महसुस गर्ने र कतिपय अवस्थामा बेहोस हुने हुनसक्छ।
चाडपर्वको रमाइलो वातावरण तथा विभिन्न परिकारको सुगन्धले जिब्रो रसाएको अवस्थामा के खाने र के नखाने भन्दा पनि अलिअलि सबै खाइदिँदा खासै फरक पर्दैन। यद्यपि आफ्नो नियमित खानामा गुलियो, चिल्लो, पिरो, नुनिलो आदि खानेकुरामा कमी ल्याउनुपर्छ। दिदीबहिनीहरूले तिहारमा आफ्नै हातले बनाएका खानेकुरा ख्वाउँदा अनावश्यक रंग तथा रसायनबाट बच्न सकिन्छ। संयमित भएर उचित मात्रामा खाए सेल, अनरसा, अचार, फलफूल, मिठाईं, पान तथा मसलाले स्वास्थ्यलाई फाइदा पुर्याउँछन्। त्यसैले आफ्ना दाजुभाइलाई गुलियो, चिल्लो, पिरो, अमिलो अनि मसालेदार खानेकुराभन्दा फलफूल बढी दिनुपर्छ।
You can subscribe by e-mail to receive news updates and breaking stories.