दुर्गन्धित योनिस्रावको योगोपचार !!

Posted by Sura Health on |







                               

महिलाको यौनाड्डबाट सेतो वा हल्का पहेँलो–खैरो एवम् मैलो खालको दुर्गन्धित पदार्थ निस्कनुलाई श्वेतप्रदर  भएको भनिन्छ । यस्तो योनिस्राव नराम्रो गन्धयुक्त, पीप वा कुहिएको मासुजस्तो, पातलो वा बाक्लो चोक्टायुक्त हुन सक्छ । कसै–कसैमा रगत मिश्रित पनि हुन सक्छ । कसैमा थोरै स्राव हुन्छ भने कसैमा अति धेरै पनि हुन सक्छ । महिनावारी हुनुपहिले र पछि प्रायः यो बढ्छ । भित्री लुगा भिजेर पटक–पटक फेर्नुपर्ने गरी वा सेनिटरी प्याड वा थप कपडा राख्नुपर्ने गरी स्राव हुने गर्छ ।

सामान्य स्राव
सामान्य किसिमको योनिस्रावलाई पनि कसै–कसैले श्वेतप्रदर भएको ठानी चिन्ता लिने गरेको पाइन्छ । त्यसैले यसबारे पनि थाहा पाइराख्नुपर्छ । योनिमार्ग र गर्भाशयको मुखलाई सुक्खा हुन र अन्य किसिमको समस्याबाट बचाउन त्यहाँ स–साना ग्रन्थि हुन्छन्, जसले चिप्लो पदार्थ स्राव गर्छन् । यस्तो सामान्य खालको स्राव सेतो, हल्का पहेँलो र पेन्टीमा लागिहाले पनि छिट्टै सुक्ने एवम् केही च्यापच्याप लाग्ने खालको हुन्छ । यसमा कुनै प्रकारको दुर्गन्ध हुँदैन र यसबाट योनिमा चिलाउने, सुन्निने, पाछिएजस्तो पोल्ने आदि कुनै पनि लक्षण हुँदैन । तर पनि कतिपय महिला सामान्य स्रावलाई रोग भनेर झुक्किने र तर्सिने गर्छन् । त्यसैले श्वेतप्रदर र सामान्य स्रावको फरक थाहा पाइराख्नुपर्ने हुन्छ ।

श्वेतप्रदरका लक्षणहरू
यस समस्यामा योनिमार्गबाट सेतो वा पहेँलो रंगको चिप्लो तरल पदार्थ स्राव हुन्छ । आफूलाई मात्र नभई अरुले समेत थाहा पाउने गरी दुर्गन्ध आउन सक्छ । यसका साथमा योनि र वरपर धेरै चिलाउने, दुख्ने, पोल्ने र मसिना खटिरा (बिबिरा) आउने हुन्छ । योनि र वरपर तथा काछका ग्रन्थिहरूसमेत सुन्निने–दुख्ने हुन्छ । पिसाब छिटो लाग्ने र पिसाब गर्दा दुख्ने–पोल्ने हुन्छ । बढी समस्या भएमा कमजोरी र रिड्डटा लाग्ने, कम्मर र तल्लो पेट दुख्नेजस्ता लक्षण देखा पर्छन् । यसरी नै कसैलाई खान नरुच्ने, जीउ दुख्ने, गल्ने, थाक्ने, टाउको दुख्ने, वाकवाकी लाग्ने, ज्वरो आएजस्तो अनुभव हुने गर्छ । लामो समयसम्म यो समस्या हुनेलाई तौल घट्ने, मूत्रमार्ग छिटो–छिटो संक्रमण हुने, प्रजनन क्षमतामा ह्रास आउने आदि समस्या देखा पर्ने हुन्छ ।

श्वेतप्रदरको प्रकार र कारण सामान्यतया श्वेतप्रदर दुई प्रकारको हुन्छ ।

१. शारीरिक क्रियात्मक श्वेतप्रदर : यस प्रकारको श्वेतप्रदर त्यति धेरै जटिल हुँदैन । लक्षणहरू पनि कमै समस्यादायक हुन्छन् । यस्तो स्रावले योनिभित्र सामान्य चिप्लोपना र नरम बनाइराख्न सहयोग गर्छ । नियमित सरसफाइ गरेमा यसले थप लक्षण जन्माउँदैन । हर्मोनको असन्तुलन, गर्भावस्था, पहिलो महिनावारीजस्ता शारीरिक परिवर्तनहरूका समयमा यस्तो प्रकारको श्वेतप्रदर देखा पर्छ ।

२. शोथयुक्त श्वेतप्रदर : यस खालको श्वेतप्रदर बढी समस्यादायक हुन्छ । यसमा योनिमार्गका श्लैष्मिक भागहरू सुन्निने, संक्रमित हुने र अनेक लक्षण देखिने हुन्छ । विभिन्न भाइरस, ब्याक्टेरिया, फंगस, परजीवी आदिको संक्रमण हुनु, गर्भाशयमा अनेक प्रकारका रोग लाग्नु, योनिभित्र गरिने उपचार सामग्रीको अनुचित व्यवस्थापन र असर, परिवार नियोजनका अस्थायी साधनको प्रयोगबाट हुने समस्या आदि कारणले यौन तथा प्रजनन अंगमा विकार बढ्ने हुँदा यस प्रकारको श्वेतप्रदर हुने गर्छ ।

श्वेतप्रदरका विभिन्न कारणहरू हुन्छन् । जस्तै– योनिमा कीटाणुको संक्रमण हुनु, संक्रामक यौनरोग लाग्नु, इस्ट्रोजेन हर्मोनको असन्तुलन हुनु, गर्भाशयमा विभिन्न खालका रोग लाग्नु आदि अवस्थामा यस्तो समस्या देखिन्छ । कतिपयलाई वयष्कपनको लक्षणका रूपमा पनि यस्तो स्राव सुरुका महिनावारीको समयनजिक हुने गर्छ । तर प्रायः यौनाड्डको सफाइमा ध्यान नदिने र गर्भाशयका रोगहरू भएका महिलामा श्वेतप्रदरको समस्या हुन्छ । पाठेघरमा सिस्ट, टुइमर, क्यान्सर, घाउजस्ता अनेक प्रकारका रोगको लक्षणका रूपमा पनि श्वेतप्रदर हुन सक्छ । सर्ने यौनरोगहरू (सिफिलिस, गनोरिया आदि), पेटका रोगहरूलगायत एलर्जी, छालाका समस्या आदिमा समेत श्वेतप्रदर देखिने वा यसका  लक्षणहरू मिल्न सक्छन् । रोग र समस्या वा कारणअनुरूप श्वेतप्रदरमा एक वा धेरै प्रकारका लक्षणहरू प्रकट हुन्छन् ।

लक्षणहरूबाटै यो रोग पत्ता लाग्छ तर कुन कारणले भएको हो भन्ने थाहा पाउनको लागि चिकित्सकीय जाँच, पूरा पेटको अल्ट्रासाउन्ड, गर्भाशय–स्राव परीक्षण  लगायत मूत्र, रक्त आदिको ल्याब परीक्षण गर्न सकिन्छ । कारणहरूको राम्ररी उपचार गरिएमा यो समस्या पूरा ठीक हुन्छ ।

श्वेतप्रदर विभिन्न रोगको लक्षण भएकाले कुन रोग कति मात्रामा बिग्रन्छ, सोहीअनुरूपका असरहरू देखा पर्ने हुन्छ । श्वेतप्रदरले योनिमा चिलाउने, पोल्ने, दुख्ने आदि भई समस्या पार्छ भने यसबाट भगयोनिशोथ , डिम्बनलीशोथ , पाठेघरको मुखका समस्याहरू , पाठेघरभित्र सुन्निने , मूत्रमार्ग संक्रमण यौनाड्डवरपरको छालामा संक्रमण आदि हुन्छ । यदि यो क्यान्सरजस्तो समस्याको सूचकका रूपमा देखा परेको छ भने समयमै उपचार नगरेमा घातक समस्या आइपर्ने हुन्छ ।

श्वेतप्रदरको समस्यामा योग चिकित्सा
क) आसन चिकित्साः
श्वेतप्रदरमा वज्रासन, सशंकासन, मृगासन मण्डूकासन, पवनमुक्तासन, सलभासन, भुजड्डासन, नाभ्यासन, धनुरासन, विपरीतकरणी, सर्वाड्डासन, सूर्य नमस्कार, चक्रासन, मार्जरी आसन, पश्चिमोत्तानासन, हलासन आदिले फाइदा गर्छ ।

चक्रासनः उत्तानो सुत्नुस् । दुवै खुट्टा खुम्च्याउनुस् र केही फरक राख्नुस्, जोडेर पनि गर्न सकिन्छ । दुवै हातलाई फोटोमा जस्तो टाउकाको दायाँतिर हत्केलाको भाग समान दूरीमा टेक्नुस् । अब हात र खुट्टाको बलले श्वास लिँदै उठाउनुस् । जीउलाई जतिसक्दो माथि उठाउने, शरीरलाई सन्तुलनमा राखेर केही बेर अडइएर राख्नुस् र श्वास छोड्दै बिस्तारै जीउ पहिलेकै अवस्थामा ल्याउनुस् । चक्रासनमा अभ्यस्त भैसकेपछि यसैमा रही दायाँ र बायाँ खुट्टा उचालेर पनि अभ्यास गर्नुपर्छ ।

यस आसनले हातखुट्टा तथा मेरुदण्ड र पेटलाई बलियो बनाउँछ । उचाइ बढाउन, तौल घटाउन र मांसपेशीलाई कसिलो पार्न पनि यो आसन अति उपयोगी छ । तर केही दिनसम्म अन्य आसनहरू गरेर शरीर लचिलो भएपछि मात्र यो आसन गर्नुपर्छ ।
धेरै मोटो, ढाड दुख्ने, रिड्डटा लाग्ने, कमजोरी, टाउको दुख्ने, मुटु र रक्तनलीसम्बन्धी रोगहरू भएको, आँखा पाक्नेजस्ता समस्या भएका बिरामीले यो आसन गर्नुहुँदैन । सुरुमा अरुको सहाराले गर्नुपर्छ, सन्तुलन जरुरी छ ।

हलासनः उत्तानो सुत्नुस् । दुवै खुट्टा सोझो राखी जोड्नुस् । अब श्वास लिँदै दुवै खुट्टालाई माथि उठाउनुस् र कम्मर मोड्दै टाउकाको पछाडतिर खुट्टाको पञ्जा टेकाउनुस्, खुट्टा सोझो राख्नुस् । यसरी बसिरहँदा श्वासप्रश्वास सामान्य किसिमले गर्नुस् । केही बेर रोकिनुस् र पूर्ववत् अवस्थामा आउनुस् । यसरी नै तीनदेखि पाँच पटक अभ्यास गर्नुस् ।

यस आसनले खुट्टा र कम्मरलाई लचिलो र बलियो बनाउँछ । दुब्लाउन र उचाइ बढाउन मद्दत गर्छ । पाचन प्रणालीलाई बलियो पार्छ । मधुमेह, अपच, कब्जियत, विभिन्न स्त्रीरोगहरू, पुरुषका केही यौनसमस्याहरू, आँखाको कमजोरी आदि समस्यामा यस आसनले लाभ दिन्छ । अनुहारको छाला राम्रो हुन्छ । तर कम्मर–ढाड दुख्ने, मेरुदण्डको हाड खिइने, नसा च्यापिने र साइटिकाका बिरामीले यो आसन गर्नुहुँदैन । महिनावारी र गर्भावस्थामा पनि गर्नुहुँदैन । यसरी नै रिड्डटा लाग्ने, कान–आँखा दुख्ने–पाक्ने, टाउको दुख्ने बिरामीले यो आसन गर्नुहुँदैन । यस आसनको अभ्यासपछि भुजड्डासन गर्दा शरीरमा सन्तुलन कायम रहन्छ ।
विपरीतकरणी तथा सर्वाड्डासनः सर्वाड्डासन र विपरीतकरणी केही मिल्दाजुल्दा छन् । त्यसैले यहाँ सर्वाड्डासनबारे उल्लेख गरिन्छ । सर्वप्रथम उत्तानो सुत्नुस् । बिस्तारै दुवै खुट्टालाई सोझो राखी माथि उठाउनुस् । कुहिना, काँध र हातको बलले जीउको तल्लो भागलाई माथि (उल्टोतिर) उठाउनुस् र जीउ सोझो पारी केही बेर श्वासप्रश्वास सामान्य गर्दै अडिनुस् । केही मिनेटपछि बिस्तारै हात र जीउ तल राख्नुस् । यस आसनको अभ्यासपछि शरीरलाई सन्तुलनमा राख्नको लागि मत्स्यासन वा उष्ट्रासन वा भुजड्डासन गर्नु राम्रो हुन्छ ।

यस आसनले अनिद्रा र आँखाको कमजोरी कम गर्छ, अनुहारको सौन्दर्य बढाउँछ । मस्तिष्क, पिटइटरी, थाइराइड, स्पाइनल कर्ड आदि अड्डहरूलाई स्वस्थ र सबल राख्न मद्दत गर्छ,  हर्मोनको असन्तुलन घटाउँछ । रक्तशुद्धिमा सहायक हुन्छ, प्रजनन अड्डका रोगहरूमा सुधार तथा दुर्बलता कम गर्छ । तर यो आसन गर्दनको हाड खिइने, नसा च्यापिने, रिड्डटा लाग्ने, कान–आँखा दुख्ने, टाउको दुख्ने बिरामीले गर्नुहुँदैन ।  यस आसनको अभ्यासपछि शरीरको सन्तुलनका लागि मत्स्यासन वा भुजड्डासनजस्ता विपरीत स्थितिका आसनहरूको अभ्यास गर्नुपर्छ ।

ख) शोधनकर्म वा षट्कर्म चिकित्सा
स्त्री प्रजननाड्ड र पेटको सफाइ गर्ने विधिहरूले श्वेतप्रदरको समस्या समाधान गर्न निकै मद्दत पुग्छ । आन्तरिक सफाइ गर्ने षट्कर्मका विधिहरूमध्ये निम्न विधि उपयोगी छन् ।

वस्तिः श्वेतप्रदरमा पेट–आन्द्रा सफा गरेमा संक्रमण छिटो निको हुन सहयोग मिल्छ । तालिमप्राप्त व्यक्तिको सहयोगले वस्तिको प्रयोग गर्न सकिन्छ । यसमा वस्तिपात्र वा एनिमा पटको माध्यमले उमालेर सेलाएको एक लिटर जति मनतातो स्वच्छ पानी पेटभित्र पठाई पेट सफा गरिन्छ ।  

यसै गरी योनिबाट पानी पठाई योनिवस्ति पनि गर्नुपर्ने हुन्छ । यसका लागि वस्तिपात्रमा पानी भरेर झुन्डइई पानी रोक्ने, टुक्रुक्क बस्ने, वस्तिको पाइपमा भएको नोजलमा थोरै चिल्लो दली सावधानीपूर्वक योनिभित्र पठाउने अनि वस्तिपात्रबाट पानी छोड्नुपर्छ । यस क्रममा भित्र गएको पानि योनिमार्गबाट नै बाहिर निस्कन्छ । एक लिटर पानी राखी दैनिक तीन–चार पटकसम्म गर्न सकिन्छ ।

यसरी नै  नौली,  कपालभाँति, अग्निसार क्रिया आदिले पनि श्वेतप्रदर कम गर्न सहयोग गर्छ । तर महिनावारीको समयमा, छाती–पेट दुखेको अवस्थामा यी शोधनकर्महरू गर्नु ठीक छैन । अरु बेला तालिमप्राप्त व्यक्तिबाट यो अभ्यास गर्नुपर्छ ।

अन्य चिकित्सा
प्राणायाम चिकित्साः नाडिशोधन, चन्द्रभेदन, भस्त्रिका तथा उज्जायी प्राणायामले श्वेतप्रदरमा लाभ दिन्छ ।
बन्ध चिकित्साः मूलबन्ध र उड्डियानबन्धको प्रयोग यस समस्यामा उपयोगी छ ।

ध्यान चिकित्साः ध्यानले मनमा शान्ति, आनन्द, एकाग्रता र सुखको अनुभूति दिन्छ । हर्मोनको गडबडी, तनावका कारण हुने श्वेतप्रदर कम पार्नसमेत यो उपयोगी छ । कुनै पनि खालको ध्यान दैनिक आधा–एक घण्टा गर्न सकिन्छ ।

यौगिक आहार चिकित्साः अम्लप्रधान र श्लेष्माकारक भोजनले श्वेतप्रदरलाई बढाउँछ । त्यसैले यस समस्यामा महिलाले सादा यौगिक भोजन प्रयोग गर्नुपर्छ । फलफूल, सलाद र हरियो तरकारी बढी प्रयोग गरी प्राकृतिक गुणहरू नष्ट नगरी बनाइएको खानपानको प्रयोग गर्नुपर्छ । तामसिक खानपान गर्दा तुरुन्तै गनाउने सेतो पानी बग्ने समस्या बढेको पाइन्छ । तसर्थ समस्या बढ्न नदिन र बढेको अवस्थालाई नियन्त्रण गर्न सुपाच्य, शाकाहार र सात्त्विक खानाको प्रयोग गर्नुपर्छ । ताजा फलको जुस (खासगरी मौसमअनुसारको जुस) बढी लाभदायक हुन्छ ।

थप सल्लाहः दैनिक एक–दुई पटक २०–३० मिनेटसम्म नितम्ब स्नान वा हिपबाथको प्रयोग गर्नुस् । यसका लागि गहिरो बस्न मिल्ने बाटा अथवा टबमा नीमको पात मिसाई उमालेको पानी राखेर सहन सक्ने तातो भएपछि नग्न भएर कम्मर, जननेन्द्रिय तथा पेटको भाग डुब्ने गरी बस्नुपर्छ । यसरी नै सरसफाइमा ध्यान दिनुपर्छ । भित्री कपडाहरू फेरिराख्नुपर्छ । हरेक पटक शौचपछि योनिलाई सफा राख्नु अत्यावश्यक छ । योगविज्ञ वा प्राकृतिक चिकित्सकसँग सल्लाह लिई योग चिकित्सा अपनाउनुपर्छ । प्राकृतिक चिकित्साका साथमा योग चिकित्सा श्वेतप्रदरका लागि बढी प्रभावकारी हुन्छ । कुनै–कुनै कारणले भएको श्वेतप्रदरको समस्यामा औषधि चिकित्सा पनि मिश्रित गरी अपनाउनुपर्ने हुँदा सम्बन्धित विज्ञको परामर्शसमेत लिन सकिन्छ । प्रायः धेरै कारणले हुने यस स्त्रीरोगमा योग चिकित्सा लाभदायक पाइएको छ ।
                                                                                                                                                      

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips