स्वस्थ्य सम्बन्धि छलफल {health interview}
Posted by Sura Health on |
म २१ वर्षकी भएँ। मेरो उचाइ ४.७ फिट मात्र छ। १८-२० वर्षपछि उचाइ बढ्दैन भन्ने सुनें। होचो हुनु शारीरिक रुपमा रोग हो भने मानसिक रुपमा पनि त रोग हो नि। अन्य रोगको उपचार भएजस्तै यसको पनि उपचार होला कि ?
शीतलजी, उचाइ बढ्ने कुरा २५ वर्षसम्म देखिन सक्छ तर तपाईंले भनेजस्तै २०-२२ वर्षछि कम बढ्छ। उचाइको निर्णायक कारणमा वंषाणुगत तथा वातावरणीय दुवै हुन सक्छ। वंशाणुगत रुपमै कम उचाइ भएको भए त्यसको उपचारको सम्भावना आजको वैज्ञानिक तहले भेट्दैन, तर भोलि नयाँ-नयाँ सम्भावना, अध्ययन नहोलान् भन्न सकिंदैन। वातावरणीय प्रभावले उचाइमा असर परेको भए हामी पनि प्रभाव पार्न सक्छौं। जस्तो- सूर्यको प्रकाश, भिटामिन डी’, क्याल्सियम आदिको कमी तथा कुपोषणमध्ये केही भए हामी सच्याउन, उपचार गर्न सक्छौं। सुधार गरेर उचाइ बढ्ने उमेर बाँकी भएको भए उचाइ फेरि बढेर जान सक्छ। तसर्थ आफैं निचोड ननिकालौं, बरु एक जना फिजिसियन भेटेर छलफल तथा अध्ययन गरी उपाय अपनाएमा तपाईंको उचाइ बढ्ने सम्भावना गइसकेको छैन।
दश वर्षअघिदेखि खैनी खान थालेको थिएँ। दुई वर्षअघि खैनी छोडेर जर्दा पराग खान थालेकोमा त्यो पनि छोडेको एक वर्ष भइसक्यो, तर अहिले ओठको भित्रीपट्टि स-साना फोका आएको छ। मकै, चना, चिउराजस्ता साह्रो चीज खाँदा घाउ हुने, दुख्ने गर्छ र श्वास पनि गन्हाउँछ। डेन्टिस्टबाट दाँत सफा गराउँदा पनि ठीक भएको छैन। उपचारको लागि सल्लाह पाऊँ।
राजुजी, एक वर्षपहिले खराब बानी छाड्नुभएकोमा तपाईंलाई बधाई। ओठभित्र घाउ आउने कुरा या त भिटामिन सी’को कमीले हुन सक्छ वा मुखवरिपरिको झिल्ली, गिजा कमजोर भई संक्रमण भएको हुन सक्छ। त्यस्तै मुखभित्र, जिब्रोमा भिटामिन बी’को पनि भूमिका हुन्छ। त्यसैले पहिलो सल्लाह सन्तुलित भोजन, धेरै फलफूल, सागसब्जी लिने गर्नुस् भन्ने रहन्छ भने दोस्रोचाहिँ एक पटकलाई भिटामिन बी±सीसँगै भएको औषधि १०-१५ दिन सेवन गर्नुस्। साथै बिहान-बिहान नुनपानीले मुख-घाँटी कुल्ला गर्ने गर्नुस्। श्वास गन्हाउने कारणमा दाँतमा खानेकुरा अड्केर, मुखमै पाचन सुरु भएर हो। तसर्थ खाना खाएपछि बिहान-बेलुका दुई पटक दाँत माझ्ने गर्नुहोला। अन्य समयमा केही खाइएमा तुरुन्त मुख सफा गर्ने गर्नुहोला। यदि यसपछि पनि राम्रो नभएमा दाँतको चिकित्सक फिजिसियन भेट्न सकिन्छ। श्वास गन्हाउने अन्य कारणमा पेटको रोग अथवा फोक्सोको रोग पनि हुन सक्छ।
म ३३ वर्षको भएँ। मेरो मलद्वारछेउमा चामलजत्रो दाना निस्केको एक वर्षजति भयो। कुनै बेला चिलाउँछ भने कुनै बेला बिजाउँछ। अर्को कुरा, मेरो नाक जहिल्यै बन्द हुन्छ, चिसोमा अझै साह्रो हुन्छ र आँखा पनि चिलाइराख्छ। डाक्टरको सल्लाहअनुसार Antimine 4mg, Difflam 3mg, metenamic acid 250mg खाँदै छु र पनि हल्का मात्र बिसेक भयो। मेरो पेट खराब छैन। सुझाव पाए धेरै आभारी हुने थिएँ।
सरोजजी, चामलजत्रो दाना गुदद्वारमा आयो भन्नुभएको सुन्दा कतै बबासिर वा पाइल्स हो कि जस्तो पनि लाग्यो, होइन जस्तो पनि लाग्यो। त्योबाहेक मुसाजस्तो, छालाको त्यान्द्रोजस्तो निस्कन पनि सक्छ। त्यो कुरा सम्बन्धित विशेषज्ञ चिकित्सक -सर्जन वा पेटको सर्जन) ले हेरेर मात्र सही निदान दिन सक्ने भएकोले त्यो बाटोतिर विचार गर्ने कि। त्यो आकार नबढेमा वा नदुखेमा आत्तिनुपर्ने नहुन पनि सक्ला तर फुर्सदले विशेषज्ञ देखाउनुस्। तपाईंको दोस्रो समस्यामा तपाईंलाई एलर्जी हुने, चिसोले बढी सताउने देखिन्छ। त्यति मात्र नभएर कतै नाकको हड्डी बांगो पनि हुन सक्छ। त्यस्तो हुनेहरुलाई नाक बन्द हुने समस्या धेरै हुने गर्छ। तपाईंले खाएको औषधि बुझ्दा एलर्जी तथा दर्दनाशक नै लाग्छ। तर पनि त्यो औषधिको साथसाथै एक पटक नाक-कान-घाँटी विशेषज्ञ देखाउनुस्। साथै चिसो धूवाँ, धूलो, खार वा एलर्जी हुन सक्ने अवस्थाबाट बच्ने र सादा उमालेको पानीको बाफ दिनको दुई पटक लिने गर्नुभएमा फाइदा हुनेछ।
दिसा गर्दा मेरो गुदद्वार केही बाहिर निस्कन्छ तर पीडा हुँदैन। मांसपेशी खुम्च्याएर भित्रै तान्ने अभ्यास गर्छु यसले गर्दा दिसा सबै नन्रि्रने, धुन असजिलो लाग्ने गरेको छ। पाइल्सको प्रारम्भिक रुप हो कि जस्तो लागेको छ। उचित सल्लाहको अपेक्षा गर्दछु।
शिखरजी, तपाईंको समस्या पाइल्स नभएर साधारण बेर्नो’ (Reetum Prolapse) हो जस्तो लाग्यो। यस्तो समस्या धेरै कन्ने, बल गर्ने, साह्रो खोकी लाग्ने, आँउमासी-रगतमासी पर्ने, कब्जियत हुने आदि भएमा हुने गर्छ। पाइल्स भएमा पहिले गिर्खा महसुस हुने, रगत आउने हुन्छ। तर एकै पटक गुदद्वार निस्कने हुँदैन। हाललाई जसरी भए पनि दिसा सहज र पातलो गराउनुस्। दिसा गर्दा बल नपरेमा र सहज भएमा बेर्नो’ ननिस्कन पनि सक्छ। तर निस्किहालेमा भित्र पठाउनै पर्छ। ख्याल गर्नुपर्ने कुरा नङ काटिएको हुनुपर्छ र सकेसम्म नङ नभएपट्टिको भाग हत्केलापट्टिबाट भित्र पठाउने गर्नुपर्छ। यदि सधैँजसो आइरहने र पठाउनै पर्ने हो भने केही उपाय गर्नै पर्ने हुन्छ, त्यसको लागि सर्जन वा पेटरोग सर्जन भेट्नुस्। यसका लागि वीर अस्पताल, शिक्षण अस्पताल वा काठमाडौं मेडिकल कलेजमा सम्पर्क गर्न सक्नुहुन्छ।
मेरी आमा ५१ वर्षको हुनुभयो। उहाँलाई आफन्तकहाँ, हस्पिटलमा वा मन्दिरहरुमा लैजानुपर्दा निकै समस्या हुने गरेको छ। किनकि मोटरमा चढ्यो कि बान्ता गरिहाल्नुहुन्छ। यसको सजिलो उपचार भए आमा र म दुवैलाई राहत मिल्ने थियो।
खड्काजी, तपाईंले भनेको समस्याको निराकण गर्न गाह्रो छ। आजसम्म विज्ञानले केही कमी गराउने औषधि मात्र दिन सकेको छ। हाम्रो शरीरको भित्री कानमा सन्तुलन व्यवस्थापन गर्ने अंग हुन्छ, जसको केन्द्र मस्तिष्कमा हुन्छ। मोटर, पानीजहाजमा यात्रा गर्दा ती अंगमा असन्तुलन हुने र उल्टी आउने हुन्छ। एभोमिन, डोमपेरिडोन, अन्डेसार्टनजस्ता औषधि सेवन गरेर यात्रा गरेमा यो समस्यामा केही कमी हुने गर्छ। साथै यात्रा गर्दा केही समय मुखले ठूलो श्वास लिने र नाकले फ्याँक्ने खालको नियमित व्यायाम गरेमा केही सहयोग हुन सक्छ। त्यसको साथसाथै सवारीसाधनको गति सीमित गर्ने र अगाडिको सिटमा बस्ने गरेमा अलि कम होला कि।
म २६ वर्षकी भएँ। मेरो आँखावरिपरि कालो देखिएको छ। साथै नाक र गालामा कालो चाया आएको छ। यसलाई हटाउने उपाय के होला ?
सीमाजी, तपाईंले बाहिर निस्कँदा अनुहार सीधा घामबाट बचाउनुस्। क्याप वा छाता प्रयोग गर्नुस्। हाललाई त्यस्तो बचावट गरेपछि दिनको दुई पटक औषधि पसल वा कस्मेटिक पसलमा सजिलै पाइने मेलालाइट’ भन्ने क्रिम किनेर २-३ महिनासम्म लगाउनुस्। त्यसपछि बिस्तारै त्यो दाग कम होला वा हराएर जाला। कम भए वा नभए पनि वा पूरै ठीक भए पनि एक पटक छाला विशेषज्ञसँग भेटेर अलि प्रस्टरुपमा छलफल गरेमा राम्रो हुनेछ। अनुहारको कुरा ख्याल गर्नुहोला। जे पायो त्यही नलगाउनु होला। जो पायो उसको सल्लाह पनि नलिनुहोला। विज्ञानले प्रमाणित नगरेको कुरा गर्नुहुँदैन।
मेरो हातगोडा असाध्यै फुट्छ। गर्मी सुरु भएपछि केही हदसम्म ठीक हुन्छ। मोजा नलगाई अरुलाई खाली गोडा देखाउन पनि लाज लागेर आउँछ। मे के गरौं ?
परीजी, यो अलिकति ख्याल गर्नुभएमा ठीक हुन्छ। एउटा कुरा पक्कै हो कि हरेक व्यक्तिको छालाको गुण फरक-फरक हुन्छ। जसको हातखुट्टा चिसो-धूलोमा सम्पर्कमा आउने, स्याहार नपाउने भयो भने फुट्न थाल्छ। त्यस्तै नरमपना, चिल्लोपना, धूने, सफा राख्ने, मोजा लगाउने आदि उपायहरु अपनाउने गरेमा यो समस्या आइपर्दैन। त्यसैले तपाईंलाई सल्लाह छ- हातखुट्टा मनतातो पानीले धुनुस्, भ्यासेलिन लगाउनुस् तथा खुला नराखी मोजा लगाउने गर्नुस्। नियमितरुपमा यसो गर्दा हातखुट्टा फुट्ने प्रक्रिया घट्ने वा हराएर जाने गर्छ।
मेरो दाहिने हातमा दुईवटा मुसा आएको छ। यसबाट कुनै पीडा त भएको छैन तर मानसिक रुपमा अप्ठ्यारो महसुस भएको छ। यसलाई हटाउने सजिलो उपाय के होला ?
मुसा हटाउन गाह्रो छैन। तर काट्नु हुँदैन, झन् बढी फैलिने डर हुन्छ। यदि सानो नाइलनको रेसाले वा कुनै धागोले मुसाको फेदैदेखि कसेर एक-दुई दिन राखेमा रगत सञ्चालन बन्द भई त्यो मुसा मरेर निर्मूल हुन सक्छ। अस्पतालको छालारोग विभागमा वा छालाको क्लिनिकमा पनि सहज तरिकाले हटाउने उपाय वा तरिका अपनाउने गरिन्छ, जुन सेवा सजिलै लिन सक्नुहुन्छ। एक पटक अस्पतालमा गई आफ्नो मानसिक अप्ठेरो निमिट्यान्न पार्नुहोस्।
You can subscribe by e-mail to receive news updates and breaking stories.