मानसिक स्वास्थ्य र प्रजनन (Health Article)

Posted by Sura Health on |







मानसिक स्वास्थ्य र प्रजनन (Health Article) 


काठमाडौ, मंसिर २५ - प्रजनन स्वास्थ्यको बहुआयामिक महत्त्व छ । जीवनचक्रमा आइपर्ने जैविक, सामाजिक एवं मनोवैज्ञानिक उतारचढाव अनि त्यसमा अन्तरनिहित मानसिक स्वास्थ्यसम्बन्धी वस्तुगत तथ्यलाई यस आलेखमार्फत प्रकाश पार्ने जमर्को गरिएको छ ।


मानसिक स्वास्थ्य र प्रजनन Health Article Image
Health Article Image
मनोवैज्ञानिक रुपले महिलाले आफूलाई कमजोर सम्झने, रिसको वेग बढ्ने र सम्बन्धमा समस्या आउन सक्छ । - See more Below:

१. महिलाहरूको जैविक चक्रमा रासायनिक पदार्थहरू (हर्मोन, न्युरोट्रान्समिटर) को प्रभावका बारेमा थुप्रै अध्ययन भएका छन् । उमेर बढ्दै जाँदा यौनांग एवं जनेन्दि्रयहरूमा हुने वृद्धि विकास, मासिक रजस्वलाको क्रम, गर्भाधान, गर्भावस्था अनि मातृत्वको अवस्था, बच्चाहरूले दुग्ध पान गर्ने समय, अन्ततः ४५-५० वर्ष पुगेपछि बन्द हुन जाने मासिक धर्म । यी सब अवस्थामा इस्ट्रोजन, प्रोजेस्टेरोन, अक्सिटोसिन, प्रोलाक्टिन आदि हर्मोनहरू अनि सेरेटोनिन, डोपामिन आदि न्युरोट्रान्स्िमटरहरूको प्रभाव देखिएको छ ।


२. उल्लिखित सबै रासायनिक तत्त्वको कारण महिलाहरूको मानसिक अवस्थामा आइपर्ने प्रभाव पनि स्पष्ट भइरहेका छन् ।


क) मासिक रजस्वला हुनुभन्दा १ हप्ताअघिको समयदेखि प्रायः महिलाहरूमा आलस्यपन, उदासीनता, चिडचिडाहट आदि लक्षण देखापर्ने हुन सक्छ ।

मनोवैज्ञानिक रूपले पनि महिलाहरूले आफूलाई कमजोर एवं अशक्त सम्झने, रिसको वेग बढ्ने र सम्बन्धहरूमा समस्या आउने हुन्छ । यस्ता लक्षणहरूलाई 'पि्रमेन्सुरल सिम्टम्स' भनिन्छ, जुन महिनावारी सुरु हुनासाथ धेरै महिलामा आफसेआफ हराएर जाने गर्छ । तर ३ देखि ९ प्रतिशत महिनावारी हुने महिलामा यसले शारीरिक मात्र नभई मानसिक स्वास्थ्यमा समेत नकारात्मक असर ल्याउने हुनाले यसलाई 'प्रमेन्सुरल डिस्फोरिक डिसअर्डर' भन्ने गरिन्छ जसको औषधोपचारै गर्नुपर्ने हुन सक्छ । यस्तो समस्या भएका महिलालाई भविष्यमा 'डिपे्रसन', 'एङ्जाइटी' जस्ता मानसिक रोग लाग्ने सम्भावना बढी हुन्छ ।

ख) गर्भवती एवं सुत्केरी अवस्थामा समेत केही महिलाहरूमा मानसिक रोगका लक्षण देखा पर्न सक्छन् । ५० प्रतिशत सुत्केरीमा बच्चा जन्माएको पहिलो एक हप्तामा देखा पर्ने केही मनोवैज्ञानिक समस्या आफैं हराएर जान्छन् । तर १५-२० प्रतिशत नवजात शिशुका आमाहरूमा भने डिपे्रसन, अनि ०.५ प्रतिशतमा साइकोसिस समेत हुन सक्छ । त्यस्तै केही महिलाहरूमा नवजात शिशुसँग मातृत्वको सम्बन्ध राख्नमा समेत समस्या आउने हुन सक्छ जसलाई 'मदर इन्फान्ट रिलेसनसिप डिसअर्डर' भनिन्छ ।

ग) रजस्वला हुने क्रम बन्द हुनुको केही महिना अघिदेखि ४५ वर्ष हाराहारीमा रहेका महिलामा यसमा अनियमितता देखा परिरहेको हुन्छ । इस्ट्रोजन-प्रोजेस्टेरोन हर्मोनहरूमा आउने उतारचढावका कारण तिनमा 'पेरिमेनोपाउजल सिन्ड्रोम' भनिने शारीरिक एवं मनोवैज्ञानिक समस्याहरूको समष्टिगत रूप देखा पर्छ यी प्रौढावस्थाका नारीहरूमा । शारीरिक कमजोरी, बढ्दो उमेर अनि पारिवारिक-सामाजिक विविध कारक तत्त्वहरूले तिनमा उदासीनता, अत्यास बढाइरहेका हुन्छन् नै, कसैलाई त साइकोसिस-सिजोफ्रेनियाजस्ता क्लिष्ट रोगहरूसमेत लाग्न सक्छ ।

३. यी जैविक चक्रबाहेक पनि महिलाहरूमा प्रजननसँग सम्बन्धित अन्य समस्या आइ पर्न सक्छन् । गर्भपतन (आकस्मिक, ऐच्छिक या आपत्कालीन) हुँदा या निःसन्तान रहनुपर्दा महिलाहरूमा आइपर्ने मनोसामाजिक समस्याहरूका बारेमा अन्तर्राष्ट्रिय स्तरमा विभिन्न अध्ययन अनुसन्धान हुने गरे पनि हाम्रो मुलुकमा त्यस्ता शोधकार्यहरू भएका पाइन्न्ान् ।

आकस्मिक या आपत्कालीन गर्भपतनका कारण महिलामा देखा पर्ने 'डिप्रेसन, एङ्जाइटी या पोस्टट्रमाटिक स्ट्रेस डिसअर्डरजस्ता रोगहरू हुन् अथवा योजना नगरिएको गर्भाधान या विभिन्न कारणवश कुमारी अवस्थामै रहन गएको गर्भलाई समाजबाट लुकाउनुपर्ने बाध्यता एवं डरत्रासका कारण आइपर्ने मनोवैज्ञानिक पीडा अनि असुरक्षित गर्भपतनका दुष्परिणामले महिलालाई शारीरिक मात्र नभई मानसिक रूपमा समेत अस्वस्थ पार्न सक्छ ।

निःसन्तान दम्पतीमध्ये पनि महिलालाई नै अझै बढी पारिवारिक एवं सामाजिक रापताप पर्ने गर्छ, जसले गर्दा तिनलाई झनै बढी निर्बल बनाउँछ, परिणामस्वरूप सन्तानोत्पत्ति प्रक्रियामै असर पर्न गई पीडाहरूमा गुणात्मक वृद्धि हुन जान्छ ।

प्रजनन प्रक्रियासँग अन्तरसम्बन्धित अरू पनि समस्या छन्: छोरी जन्माउँदाका पीडा अनि भ्रुणको लिंग परीक्षण गर्न अल्ट्रासाउन्ड गराई छोरी भएमा गर्भपतन गराउनेजस्ता कुरीति—कुथितिहरू जसलाई बेलैमा सम्बोधन नगरिएमा भविष्यमा अझ भयावह तस्बिर देखा पर्न सक्ने छ । उपरोक्त सबै तथ्यले महिलाको जीवनचक्र एवं मानसिक स्वास्थ्यको सटिक अध्ययन गर्न ढोका खोलिसकेका हुनाले आजैदेखि महिलाको प्रजनन मानसिक स्वास्थ्यबारेमा बहस गर्ने हो कि ?

साभारः ekantipur.com  लेखक मानसिक रोग विशेषज्ञ हुन् ।


Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips