मधुमेह रोगीले के खान हुन्छ, खानु हुदैंन?
Posted by Sura Health on |
मधुमेह रोगीहरुले यो खान नहुने, त्यो खान नहुने, यो बार्नुपर्ने, त्यो बार्नुपर्ने भनेर भनिन्छ। विकसित देशहरुमा डायटिसियनसँग छलफल गरेर खानाको बारेमा राम्रो जानकारी लिएर त्यसै अनुसार गर्ने गर्छन्। हाम्रो देशमा त्यो अलि सम्भव हुदैंन। चिनीरोगीको खाना भनेको एक छाक सुख्खा रोटी, एक छाक उसिनेको चामलको भात, चिनी नहालेको चिया यस्तैयस्तै हुन्छ। गुलियो कुरा केही नि खानु हुदैंन, माटोमुनि फल्ने आलु, पिडालु खानुहुदैंन भन्ने गरिन्छ। आज मधुमेहका रोगीले के खान हुने, के नहुने बारे चित्रहरुका मार्फत केही जानकारी दिने प्रयास गर्दैछु।वास्तवमा भन्ने हो भने मधुमेहका रोगीले (र सकेसम्म सबैले पनि)खानुपर्ने खाना भनेको 'सन्तुलित खाना/Balanced Diet' नै हो। चित्रमा देखाएको खानाहरुको समिश्रणलाई 'प्लेट मोडल' भनिन्छ अर्थात् सम्पूर्ण खानालाई एउटा प्लेट मानेर त्यसको कति भाग के खाने भनेर बाडिएको मोडल। जस्तो माथिको चित्रमा एक छाकको खाना/एक प्लेटलाई बराबर तीन भागमा बाँडिएको छ। एक भागमा कार्बोहाइड्रेट, दोस्रोमा भिटामीन र खनिज पदार्थ र तेस्रो भागमा प्रोटिन र चिल्लो पदार्थ राखिएका छन्। चित्रमा कार्बोहाइड्रेट, भिटामीन, खनिज, प्रोटिन, चिल्लो पदार्थ पाउने खानाहरु पनि देखाइएका छन्। त्यसैले मधुमेह रोगीहरुले पनि सबै खालका खानाहरु खान हुन्छ तर सन्तुलित रुपमा खानुपर्ने हुन्छ। सामान्य अवस्थामा खाना सन्तुलित नभए पनि तत्कालै खासै फरक पर्दैन तर मधुमेह रोग लागेपछि भने खाना सन्तुलित हुनु अति जरुरी हुनजान्छ, जुन गर्न अलि गाह्रैं हुन्छ। त्यसैले प्राय: चिकित्सकहरुले सजिलोको लागि गुलियो पदार्थ, चामलको भात नखानु भन्छन्, तर ती खानै नहुने भने पक्कै होइन।
शरीरमा चिनीको मात्रा नियन्त्रित राख्नु अति जरुरी हुन्छ। सामान्य अवस्थामा यो काम इन्सुलिन र अन्य हर्मोनहरुले आफैं गरिरहेका हुन्छन्। तर मधुमेह भएपछि त्यो सम्भव हुदैंन र रगतमा चिनीको मात्रा नियन्त्रण गर्ने जटिल काम विरामी आफैंले परिवार, चिकित्सक र औषधीहरुको सहयोगमा गर्नुपर्ने हुन आउँछ। चिनीको मात्रा नियन्त्रित राख्न सकिएमा मधुमेहका खराब असरहरुलाई धेरै कम गर्न र पछाडी सार्न सकिन्छ।
मधुमेहमा पोषण सम्बन्धी पालना गर्नुपर्ने केही महत्वपूर्ण बुँदाहरु चित्रमा दिइएका छन्। माथि भनिए जस्तै यी कुराहरु मधुमेह रोगीका लागि मात्र नभएर सबैजनाले अपनाउनु सबैभन्दा उत्तम हुन्छ। त्यस्तै घरमा मधुमेह रोगीका लागि भनेर छुट्टै प्रकारको खाना बनाएर छुट्याउनु पनि हुदैंन। बरु घरका सबैजनाले सन्तुलित खाना खानु उचित हुन्छ।
कार्बोहाइड्रेट खानामा हुने शक्तिको प्रमुख स्रोत हो। त्यसैले यो अति जरुरी हुन्छ। दिनभरी चाहिने जम्मा क्यालोरी शक्तिको ५० देखि ६०% कार्बोहाइड्रेटबाट लिनुपर्छ। त्यसमा खस्रोपना भएका खानाहरु/Fibre Dietsको बढी मात्रामा प्रयोग गर्नुपर्छ, त्यो भन्नाले उसिना चामल, मिलमा नपिनीएको चामल, ब्राउन राइस, मकैको पिठो, गहुँको पिठो आदी पर्छन्।
माछामासु, अण्डा, दूधदही पनि खान नहुने भन्ने होइन। यिनमा प्रोटिनको मात्रा प्रशस्त हुन्छ र शरीरको वृद्धिविकास, मर्मतसम्भारको लागि यो आवश्यक हुन्छ। त्यसैले चिल्लो कम भएका प्रोटिनयुक्त खानाहरु आवश्यक मात्रामा खान जरुरी हुन्छ। मधुमेहका कारणले मृगौलामा समस्या देखापरेमा भने चिकित्सकको सल्लाहमा प्रोटिनयुक्त खानाको मात्रा घटाउनुपर्ने हुनसक्छ।
भिटामीन, खनिज पदार्थ भएका हरियो सागसब्जी, फलफूलहरु पनि आवश्यक मात्रामा सेवन गर्नुपर्छ। रेशादार खानाहरुले खानापछि रगतमा चिनीको मात्रा नियन्त्रणमा राख्न, रगतमा बोसो कोलेष्टेरोलको मात्रा नियन्त्रणमा राख्न, कब्जियतको समस्या कम गर्न, रक्तचाप नियन्त्रणमा राख्न मद्दत गर्ने गर्छ।
चिल्लो पदार्थ पनि हाम्रो शरीरका लागि आवश्यक हुन्छ। तसर्थ यो पनि प्रयोग गर्नुपर्ने हुन्छ तर आवश्यक मात्रामा मात्र र स्वर्थवर्धक तेलको प्रयोग गर्नुपर्छ। के हो त स्वस्थवर्धक तेल भनेको? मुटुको लागि राम्रो मानिने बोसो HDL/एचडिएलको मात्रा बढाउने र हानिकारक बोसो(LDL)लाई घटाउने खालका तेलहरु (जस्तै चित्रमा हरियो बक्समा देखाइएका तेलहरु)लाई स्वस्थवर्धक तेल भनिन्छ। कुन तेल स्वस्थवर्धक हो र कुन होइन भनेर सजिलै थाहा पाउन- जुन तेल सामान्य तापक्रममा तरल हुन्छ, ती सामान्य तापक्रममा जम्ने तेल वा घ्युभन्दा स्वस्थवर्धक हुन्छन्। रातो बक्समा भएका तेल, घ्युहरु स्वास्थ्यका लागि हानिकारक हुन्, तिनीहरुको सेवन सकेसम्म कम गर्नुपर्छ। त्यस्तै ओमेगा-3 बोसो भएको माछाको सेवन पनि स्वास्थ्यको लागि राम्रो मानिन्छ।
माथिका खानाहरुको साथसाथै पानी पनि प्रशस्त मात्रामा सेवन गर्नुपर्छ। दिनभरमा कम्तिमा ६ देखि ८ गिलास पानी सेवन गर्ने गर्नुपर्छ।
अन्त्यमा,
मधुमेहका रोगीले खान नहुने र अन्य सबैजनाले पनि सकेसम्म कम खानुपर्ने केही खानेकुराहरु र भोक लागेमा थप खान सकिने खानाहरु:
खाना सम्बन्धी उचित ज्ञान लिइ आफ्नो जीवन सहज, सरल र सुखद बनाऔं।
You can subscribe by e-mail to receive news updates and breaking stories.