वैज्ञानिकले बनाए क्यान्सर पत्ता लगाउने चक्कु
Posted by Sura Health on |
वैज्ञानिकहरुले एउटा यस्ता आधुनिक चक्कुको आविष्कार गरेका छन् जो क्यान्सरको शल्यक्रियाको क्षेत्रमा क्रान्तिकारी औजार सावित हुनसक्छ ।
बेलायतको लण्डनस्थित इम्पेरियल कलेजका वैज्ञानिकहरुले यस्तो समझदार चक्कुको आविष्कार गरेका हुन् ।
शोधकर्ताहरुको विश्वास यो छ की यस चक्कुले क्यान्सरको सर्जरीका दौरान क्यान्सरजन्य ट्युमरका कोशिकाहरु शरीरमा छुट्ने खतरा तथा समस्यालाई हटाउनेछ । सर्जरीद्धारा क्यान्सरको उपचार गरेपछि पनि केही क्यान्सर कोशिकाहरु सरीरभित्र रहेका कारण उपचार पछि पनि फेरी क्यान्सर फैलिने घटना समेत प्रकाशमा आउने गरेकोमा अब यो औजारको प्रयोगपछि त्यस्तो घटनामा कमी आउने अपेक्षा गरिएको छ । खासगरी स्तन क्यान्सरको सर्जरीको क्रममा सरीरभित्र क्यान्सर कोष छुट्ने र फेरी सर्जरी गर्नुपर्ने समस्या दोहोरिने गरेको पाइएको छ । साथै फोक्सोको क्यान्सरको सर्जरीका क्रममा पनि यस्तो समस्या हुने गरेको बताइन्छ ।
विज्ञान पत्रिका ट्रान्सलेसनल मेडिसिन मा प्रकाशित खबर अनुसार आइ नाइफ नामको उक्त चक्कु क्यान्सर कोषलाई पहिचान गर्नमा सक्षम हुनेछ । यो उपकरणको चिकित्सकीय परीक्षण भैरहेको बताइएको छ ।
यो नयाँ चक्कुमा क्यान्सर कोशिकालाई काट्नको लागि तापको प्रयोग गरिन्छ । यसरी कोशिकाहरुलाई काट्ने क्रममा निस्कने धुवाँलाई आधार मानेर सर्जनले उक्त कोशिका क्यान्सरजन्य भए नभएको पत्ता लगाउन सक्छ । यो चक्कुमा मास स्पेक्टोमिटर प्रविधि प्रयोग गरिएको बताइएको छ ।
अहिलेसम्म ९१ जना क्यान्सर रोगीमा यो चक्कुको सफल परीक्षण गरिएको छ । शोधकर्ता डाक्टर जोल्टनका अनुसार यो नतिजाले यस चक्कुलाई विभिन्न खाले क्यान्सरको अपरेशनमा प्रयोग गर्न सकिने देखाएको छ । यसको प्रयोगबाट शल्यक्रियापछि पनि फेरि सरीरमा क्यान्सर देखिने र दोश्रो पटक सर्जरी गराउन पर्ने समस्या कम हुने र धेरै मानिसको ज्यान बच्ने दाबी उनको छ । बेलायतका विभिन्न ३ वटा अस्पतालमा सुरुमा यो चक्कुको प्रयोग गर्न लागिएको छ
You can subscribe by e-mail to receive news updates and breaking stories.