रोगको कारण नबनोस् दशै |
Posted by Sura Health on |
दशैंमा अधिकांश नेपालीलाई खानपिन, रमाइलो र भेटघाटमा भ्याइनभ्याई हुन्छ । तर चिकित्सकहरु भने विरामीका जिज्ञासा र अस्पतालबाट आउने बोलावटले हैरान बन्छन् । दशैंैको समयमा उच्च रक्तचाप, मुटु र पेटजन्य समस्याका विरामीको संख्या ह्वात्तै बढ्छ ।चाडबार्डको समयमा दिर्घ रोगीमा समस्या झन् बढ्छ भने जोखिमको बाटोमा रहेका तर लक्षण नदेखिइसकेहरूमा एकैपटक लक्षण देखिन थाल्छ । ‘दशैका समयमा आउने विरामीको अधिकांश चाप खानपानसँग सम्बन्धित हुन्छ ।’ बरिष्ठ मुटुरोग विशेषज्ञ डा.अवनीभूषण उपाध्याय भन्छन्, ‘अपच, पखालाजन्य र निन्द्रासँग सम्बन्धित समस्या पनि चाडवाडकै कारण निम्तिएका हुन्छन् ।’ डा.उपाध्यायका अनुसार बिग्रिने बाटो लिइसकेको मुटुलाई दशैंको खानाले बिग्रन नै मद्दत गर्छ । ‘मानिस तत्कालै अस्पताल भर्ना गर्नुपर्ने अवस्थामासमेत पुग्नसक्छ ।’ उपाध्याय भन्छन्, ‘हृदयाघातका रोगीको संख्या चाडपर्वपछि बढेको हाम्रो अनुभव छ ।’ चिकित्सकहरूले बताएजस्तै नेपाली समाजमा अधिकांश चाडपर्व विशेष प्रकारका खानेकुरासँगै जोडिएर आउँछन् । नेपाली समाजमा दशैंका बेलामा मासु भात, मासुचिउरा तथा मासुका अनेक परिकारसँगै मसलेदार र अधिक चिल्लोपना भएका खानेकुरा बढि खाइन्छ ।
कति ठाउँमा मासुभात खानकालागि पहिलेदेखि नै खसी, बोको, सुंगुर आदि पालेर राखिएको हुन्छ । मीठा परिकारले समयलाई रमाइलो त बनाउँछ । ‘तर खानामा विशेष ध्यान दिन सकिएन भने अस्वस्थ पनि बनाउने समय पनि चाडपर्व नै बन्छ’, वीर अस्पतालका फिजिसियान डा.भुपेन्द्रकुमार बस्नेतले भने । दशैं र तिहारजस्ता चाडपर्वमा मासुजन्य विभिन्न परिकार र अत्याधिक चिल्लो, मदिरा, विभिन्न प्रकारका मिठाईका परिकार खाने गरिन्छ । अधिकांश यस्ता खाना स्वास्थ्यका दृष्टिले भने हानिकारक मानिन्छन् । पौष्टिक दृष्टिकोणले माछामासु पोषिलो खाना भएपनि लगातारको सेवन र अत्याधिक चिल्लोपनाले ती खाद्य पदार्थ स्वास्थ्यमैत्री छैनन् ।
बयश्क र बृद्ध उमेरका अधिकांश मानिसमा मासुको सेवनले फाइदाभन्दा हानी नै बढी गरिरहेको पाइन्छ । सामान्य मानिसकालागि पनि हानिकारक मानिने मासु उच्च कोलेस्टोरल, उच्च रक्तचाप, युरिक एसिड र मुटुसम्बन्धी समस्या भएकाहरुलाई त अभिशाप नै बन्नसक्छ । विज्ञहरूका अनुसार मासु प्रोटिनको राम्रो स्रोत भएपनि यसमा कोलेस्टेरोल, चिल्लो पदार्थ, ट्राइग्लिसिराइड पनि प्रशस्त हुने भएकाले सन्तुलित रुपमा उपभोेग गर्न नसक्दा यसले समस्या थप्छ । बाथरोग विशेषज्ञ डा.अरूण गुप्ताका अनुसार युरिक एसिड भएका व्यक्तिहरुले रातो मासु, रक्सी तथा बढी प्रोटिनयुक्त खाना सकभर खानु हुँदैन । ‘अन्य सामान्य मानिसले पनि बढी रातो मासुको सेवन गर्नाले युरिक एसिडको जोखिम बढाउँछ । जुन हड्डी कँुज्जिने, जोर्नीबाट पीप बग्ने र प्यारालाइसिस्को पनि कारण बन्न सक्छ ।’,उनी भन्छन् ।पोषणविद् जया प्रधानका अनुसार रातो मासु अर्थात खसी, बोका, राँगा, बँदेल, भेडा आदिको मासुमा प्रोटिनका साथै फ्याटी एसिड पनि प्रशस्त मात्रामा हुन्छ । जसका कारण मासुमा भएको कोलेस्टेरोलले भन्दा यसमा भएको फ्याटी एसिडले शरीरलाई हानी पु¥याउँछ । ‘शरीरभित्र कोलेस्टेरोल फ्याटी एसिडसँग मिलेपछि खराब चिल्लो बन्छ ।’ प्रधान भन्छिन्, ‘सकेसम्म आँखाले देखिने चिल्लो वा बोसो निकालेर थोरै मात्र तेलको प्रयोग गरी पकाएको मासु वा उसिनेको मासु खानु कम हानिकारक हुन्छ ।’
भित्री अंगहरू मुटु, कलेजो, मिर्गौला र फोक्सोमा कोलेस्टेरोलको साथै भिटामिन ए, डी, ई, तामा, लौहतत्व, जिंकजस्ता खनिजतत्व पनि यी अंगमा प्रशस्त मात्रामा पाइन्छ । विज्ञहरूका अनुसार कलेजो फलामको राम्रो स्रोत भए पनि यसमा रासायनिक पदार्थहरु फोहरको रूपमा जम्मा हुने भएकाले कलेजो उपभोग नगर्दा नै राम्रो हुन्छ । मासु खानै परेमा सेतो मासु उपयुक्त हुने प्रधान बताउँछिन । ‘सेतो मासुमा कुखृुरा र हाँसको मासु प्रोटिनको उत्तम स्रोत हो, यसमा रातो मासुको दाँजोमा चिल्लो पदार्थ पनि कम हुन्छ ।’
केही वर्ष अघिसम्म मदिरा थोरै व्यक्तिले लुकेर खाने वस्तु मात्र थियो । अहिले ‘सोसल’ बन्ने वा आधुनिक हुने बहानामा धेरै घरमा रक्सी छिरिसकेको छ । मदिरा थोरै पिउँदासम्म मन खुशी र आनन्दको अनुभूति भएपनि धेरै भएपछि चक्कर लाग्ने, टाउको दुख्ने, वान्ता हुने र बेहोस हुने हुन्छ । मदिराजन्य पदार्थमध्ये बियर र वाइनमा अल्कोहलको मात्रा कम हुन्छ भने रम, जिन, भोड्का, ब्राण्डी, ह्विस्की आदिमा अल्कोहलको मात्रा बढी हुन्छ । रक्सी पेटमा पुगेपछि सोसिएर रगतमा मिसिन्छ र बग्दै शरीरको सबै भागमा पुग्छ । मिर्गौला रोग विशेषज्ञ डा.शक्तिकुमार बस्नेतका अनुसार रक्सीमा अत्याधिक मात्रामा क्यालोरी हुने भएकोले यसले तौल बढाउँछ । ‘तौल बढेपछि शरीरका बिभिन्न अंगमासमेत असर गर्छ । मधुमेहको औषधि सेवन गरिरहेका व्यक्तिहरुले रक्सी सेवन गरेमा मिर्गौला फेल हुने सम्भावना नै बढी हुन्छ ।’ उनले भने ।
रगतमा रहेको अल्कोहलको मात्रा जति बढ्दै जान्छ यसले दिमाग र स्नायू प्रणालीलाई त्यति नै नकारात्मक प्रभाव पनि पार्दै जान्छ । रक्सीले सबैभन्दा बढी असर दिमागमा र त्यसपछि क्रमशः मुटु र कलेजोमा पार्छ । डा.रेग्मीका अनुसार रक्सीलाई पचाउने काम कलेजोको हो । ‘कलेजोमा रक्सी जम्मा हुँदै टुक्रिँदै जल्दै जान्छ, यसक्रममा प्रशस्त ऊर्जा उत्पन्न हुन्छ । त्यो ऊर्जा खर्च नभएमा बोसोमा परिवर्तन भई कलेजो, रक्तनली र मुटुमा जम्मा हुनपुग्छ ।’ रक्सीलाई पचाउन कलेजोले धेरै जोडतोडका साथ काम गर्नुपर्ने भएकोले कलेजो थाक्छ, त्यहाँ बोसो जम्मा हुँदै जान्छ । ‘कलेजोमा बोसो बढ्दै गएपछि त्यसले कलेजो नष्ट हुँदै जान्छ अनि ‘लिभर सिरोसिस’ र कलेजोले काम गर्न छोड्छ ।चिकित्सकहरूका अनुसार रक्सीको अत्याधिक सेवनले कलेजो, मस्तिस्क, मुटुरोग, क्यान्सर, दुर्घटना, आत्महत्या र पागलपनसम्म पु¥याउँछ । ‘रक्सीले रक्तचाप बढाउने र मस्तिस्कघात (स्ट्रोक, प्यारालाइसिस), मुटु सुन्निने र राम्रोसँग पम्प गर्न नसक्ने अवस्था उत्पन्न हुन्छ ।’ चाडपर्वको अवसरमा मदिराजन्य पदार्थ बढी सेवन गरिने हुँनाले मुटुको धड्कनमा गडबडी उत्पन्न भई हर्टफेल हुनसक्छ । ‘गर्भवती महिलाले रक्सी पिएको खण्डमा विकृत मुटु भएको बच्चा जन्मन सक्छ । साथै रगतमा युरिक एसिड र ट्राईग्लाइसेराइड बढाउँछ ।’ उनले भने ।
नेपाली भान्सामा स्वादका लागि मसला र तेलको प्रयोग नै बढी गर्ने परम्परा छ । अत्याधिक चिल्लोको सेवा पनि रोगको प्रमुख कारक हो । तेलमा ३ प्रकारका फ्याटी एसिड पाइन्छन् । स्यायूरेटेड, मोनोअजस्याचुरेटेड र पोलिअनस्याचुरेटेड । स्याचुरेटेड फ्याटी एसिडले मुटुलाई हानी गर्छ । तेलमा प्रशस्त मात्रमा हुने टाईग्लिसेराइडले हृदयघातक कोलेस्टेरोलको उत्पादन बढाउने र मुटुमा नकारात्मक असर गर्छ ।
चिल्लो पदार्थले शरीरका लागि आवश्यक छ । तेलमा कोलेस्टोरल हँुदैन तर अनस्याच्यूरेटेड फ्याट बढी हुन्छ । यस्तै घिउमा कोलेस्टेरोल र स्याच्यूरेटेर फ्याट बढी हुन्छ, जुन मुटुका लागि बढी हानिकारक छ । चिकित्सकहरू दशैंमा भान्सामा सकेसम्म चिल्लो पदार्थको प्रयोग घटाउन सुझाव दिन्छन् । त्यसमा पनि विभिन्न मीठाई र मरमसला बनाउन चिल्लो पदार्थलाई धेरैपल्ट तताएर समेत प्रयोग गरिन्छ । ‘जति धेरैपटक ततायो, उति नै त्यसमा ट्रान्सफ्याट उत्पन्न हुन्छ, जुन स्वास्थ्यका लागि धेरै हानिकारक छ ।’
चाडपर्वको वेला चिल्लो, बोसो, मासु धेरै खाने चलन छ । मुटुरोगीहरुले यस्तो परिकार खाँदां धेरै विचार पु¥याउनु पर्छ । छाला भएको मासुमा बोसो र कोलेस्टोरल धेरै हुन्छ । तेल वा चिल्लो पदार्थमा फ्राई गर्दा यो झन् हानिकारक बन्छ । यस कारण बोसो र छाला नभएको मासु खाने प्रयास गर्नुपर्छ । यसर्थ मासुलाई उसिनेर वा रोष्ट गरेर पकाउँदा उत्तम हुन्छ । मासु खाँदा त्यससँगै हरियो सागपात र सलाद पनि खान चिकित्सकहरू सुझाव दिन्छन् ।
खाना मात्रै होइन, दशैंलगायतका चाडपर्वमा गरिने अन्य खेलबाडले पनि रोग थप गरिरहेकै हुन्छन् । मानसिक रोग विशेषज्ञ डा.कपिलदेव उपाध्यायका अनुसार निद्रा बिगारेर रातभरी जुवातासमा बस्ने बानीले जित्नैपर्छ भन्ने तनाब थप्छ । ‘रातभरी नसुत्दा अर्को दिनभरी मानिसमा ताजापन आउँदैन । दुई÷तीन दिन यही अवस्था भएमा त निद्राको चक्र नै खल्बलिन्छ र अनेक शारीरिक समस्यासमेत देखिन थाल्छ ।’ उपाध्यायले थपे, ‘निद्राको चक्र खल्बलिएपछि मानिस रिसाउने, चिडचिडापन बढ्ने र झर्किने समस्या देखिन्छ ।’ शहीद मेमोरियल अस्पतालका हाडजोर्नी रोग विशेषज्ञ डा. दिपक श्रेष्ठले चाडपर्वको समयमा बढी मदिरा सेवन गर्ने र फुर्सदिलो हुने भएकोले मानिसहरू बढी यात्राको मुडमा हुने भएकोले दुर्घटनाको संभावना पनि बढी हुने गरेको बताउँछन् ।

डा. अवनिभूषण उपाध्याय
वरिष्ठ मुटुरोग विशेषज्ञ
अधिकांश नेपालीका घरमा दशैं तिहारमा पाक्ने खाना मुटुमैत्री छैनन् । अधिकांश खाना स्वास्थ्यका लागि हानिकारक भनिएका खाना नै हुन्छन् । सामान्य सूत्र भनेको मुटु रोगबाट बच्नको लागि रक्सी सेवन नगर्ने, चिल्लो पदार्थ कम गर्ने, चिल्लो बढी हुने माछा,मासु आदि खानु हुँदैन भनिन्छ । तर, हरेकका भान्सामा यस्ता सल्लाहको उल्लंघन भइरहेको हुन्छ । रक्सी सेवनले मुटुलाई फाइदा गर्छ भन्ने गरिन्छ । यस्तो भनाई कहिले काहिँ एकदमै नियन्त्रित रुपमा सेवन गर्नेका हकमा मात्र लागु हुन्छ । मासु र रक्सी चाडपर्वमा मात्र खाने होइन, यसबेला बढी खाने गरिन्छ । यसले गर्दा मुटुलाई प्रत्यक्ष असर गर्छ । बिग्रिने बाटो लिइसकेको मुटुलाई दशैंको खानाले बिग्रन नै मद्दत गर्छ । मानिस तत्कालै अस्पताल भर्ना गर्नुपर्ने अवस्थामा समेत पुग्न सक्छ । त्यसकारण हृदयघातका रोगीहरुको संख्या चाडपर्वपछि बढेको हाम्रो अनुभव छ । त्यसकारण चाडपर्वमा खानपिनमा पनि बिशेष ध्यान दिनुपर्छ ।

डा. शक्ति बस्नेत
चाडपर्वको नाममा बढी रक्सी सेवन गर्दा शरीरका अंगहरुमा असन्तुलन हुन जान्छ । यसले गर्दा मिर्गौलाले गर्ने नियमित क्रियाकलापमा सन्तुलन गर्ने प्रक्रिया रक्सीका कारण असन्तुलित हुन पुग्छ । वियरले हाम्रो शरीरको मेटाबोलिजममा असर गर्छ । वियर खाँदा शरीरमा पानीको मात्रा बढ्न जान्छ । त्यति नै मात्रामा शरीरमा बाहिर गएन भने शरीरमा पानीको मात्रा बढ्न गई मिर्गौलालाई असर गर्छ । एक अनुसन्धान अनुसार एक ग्लास रक्सीलेसमेत मिर्गौलालाई असर गर्छ । मदिरा सेवनका कारण प्रेसर बढेमा त्यसको असर मुटु, मिर्गौला, आँखालगायतका अन्य अंगमासमेत पर्छ ।
रक्सीमा अत्याधिक मात्रामा क्यालोरी हुन्छ । त्यसले गर्दा मानिसको तौल बढ्न जान्छ । तौल बढेपछि शरीरका बिभिन्न अंगमासमेत असर गर्छ । मधुमेहको औषधि सेवन गरिरहेका व्यक्तिहरुले रक्सी सेवन गरेमा मिर्गौला फेल हुने सम्भावना बढी हुन्छ । मधुमेहका बिरामीले रक्सी सेवन गरेमा मिर्गौलाबाट ग्लुकोज बन्न रोक्छ, जसले गर्दा मधुमेहका बिरामीको ग्लुकोज असन्तुलित हुन पुग्छ

डा. कपिलदेव उपाध्याय
वरिष्ठ मानसीकरोग विशेषज्ञ
दशैमा ८० प्रतिशत वयश्क र बृद्धले तास खेल्ने गर्छन् । केही व्यक्ति त रातभरी नै तास खेलेर विताउँछन् । धेरै पैसा राखेर रातभरी खेल्दा जित्नैपर्ने सोचसँगै तनाव बढ्छ । पैसा हारेको समयमा तनावमा खेल्ने र सुत्न नपाउनाले पनि स्वास्थ्यमा खराबी आउन सक्छ । एक प्रतिशत मानिस जुवातासका ‘एडिक’ हुन्छन् । उनीहरुलाई तास खेल्न नपाए छटपटी हुन्छ । तासकै कारण पारिवारिक झगडा र आर्थिक अभावले पनि तनाव दिनसक्छ । यस्ता व्यक्तिलाई चाडपर्वमा मात्र होइन, बाह्रै महिना खेलिरहनुपर्ने हुन्छ । यस्ता व्यक्तिले तास नखेलेको समयमा पनि तास खेल्न पाए हुन्थ्यो भन्ने सोचका कारण अरु कुनै काम गर्न सक्दैनन् । उनीहरुमा पारिवारिक तनाव बढ्दै जान्छ र आर्थिक संकट पर्न सक्छ । जसले गर्दा उसलाई मानसिक समस्या उत्पन्न हुन सक्छ ।
चाडपर्वलाई रमाइलो गर्ने अवसर मानेर २/४ घण्टा आनन्द लिँदा स्वास्थ्यलाई फाइदा नै पु¥याउँछ । तर, रातभरी तास खेल्ने भने गर्नु हँुदैन । रातभरी नसुत्दा अर्को दिनभरी मानिसमा ताजापन आउँदैन । दुई÷तीन दिन यही अवस्था भएमा त निद्राको चक्र नै खल्बलिन्छ र अनेक शारीरिक समस्यासमेत देखिन थाल्छ । निद्राको चक्र खल्बलिएपछि मानिस रिसाउने, चिडचिडापन बढ्ने र झर्किने समस्या देखिन्छ । यस्ता व्यक्ति सानो सानो कुरामा रिसाउने हुँदा उनीहरुसँग झगडासमेत हुनसक्छ । चाडपर्वको नाममा रातभरी खेल्दा नकारात्मक असर पर्छ ।

डा. दिपक श्रेष्ठ
वरिष्ठ हाडजोर्नीरोग विशेषज्ञ
चाडपर्वको समयमा बढी मदिरा सेवन गर्ने र फुर्सदिलो भएकोले मानिसहरू बढी यात्राको मुडमा हुने भएकोले दुर्घटनाको संभावना पनि उत्तिकै हुन्छ । दुर्घटनाअनुसार कतिपय चोटले मानिसलाई मृत्यु वा जीवनभर ओछ्यानमा पनि पार्न सक्छ । दुर्घटना भएपछि त्यसको व्यवस्थापन सही ढंगले गर्न जानेमा ठूलो क्षति हुनबाट बचाउँन सकिन्छ । ढाडमा हुने स्पाइनल कर्ड नामक नशाको चोटका कारण प्यारालाइसिस हुनसक्छ । यस्तो अवस्थामा बिरामीको हात, खुट्टा र ढाडलाई असर पर्ने गरी हल्लाएर उठाउनु हुँदैन । त्यस्ता घाइतेलाई असर नपर्ने गरी तलबाट आड दिएर उठाउनु पर्छ बिरामीलाई जतिसक्यो छिटो नजिकमा रहेको सुविधा सम्पन्न अस्पताल पु¥याउनुपर्छ । दुर्घटना हुनासाथ मानिस आफैं उठेर हिँड्ने गर्नु हुदैन । यस्तो अवस्थामा चोटपटक लागेको थाहा हुँदैन, पछि मात्र दुख्न शुरु गर्छ । तत्काल थाहा नहुने हुँदा दुर्घटना हुनासाथ जबर्जस्ती हिँडेमा सामान्य रूपमा हड्डी भाचिएको भए पनि पछि ठूलो समस्याका रुपमा देखा पर्न सक्छ ।

डा. भुपेन्द्र बस्नेत
वरिष्ठ फिजीसीयन
चाडबाडमा हामी कि धेरै खाने र कि त पूर्ण पहरेजमा बस्ने गर्छौं । तर, मानव शरीरकालागि सधैं सन्तुलित भोजनको जरुरी हुन्छ । सन्तुलित भन्नाले कार्वोहाइड्रेट, प्रोटिन, भिटामिन, मिनरल सबैको समिश्रण भएको भोजन हो ।
चाडपर्वमा खाने स्वादिला खानालाई पनि सन्तुलित बनाउन सकिएमा त्यसले शरीरलाई नोक्सानको सट्टा फाइदा नै गर्छ । अक्सर दशैंमा हामी मासुका विभिन्न परिकार भुटेर, तारेर, पोलेर र सुकाएर खाने गर्छौं । यस्ता परिकारले शरीरलाई बढी फाइदा गर्दैनन् । खानामा सन्तुलन मिलेन भने एसिडिटी हुन्छ ।
चाडपर्वको नाममा धेरै तारेको, भुटेको, पोलेको कुरा कम खाने गर्नुपर्छ । यस्ता खानाले मधुमेह, प्रेसर र युरिक एसिड बढ्नुका साथै पेटको क्यान्सरलाई पनि बढाउने गर्छन् । चाडपर्वमा माछा मासु मात्र खाने होइन, यसको साथै सागसब्जी र फलफूल पनि त्यति नै मात्रामा खाने गर्दा पेटमा हुने असर कम गराउन सकिन्छ ।

डा. अरूण गुप्ता
वरिष्ठ बाथरोग विशेषज्ञ
चाडपर्व मनाउँदा स्वास्थ्यमा पनि बिशेष ध्यान दिनुपर्छ । युरिक एसिड वा बाथरोगबाट पीडितहरूले शरीरको शक्ति अनुसार खानपिन गर्ने गर्छन् । युरिक एसिड भएकाहरूले खसी, राँगो आदिको रातो मासु, रक्सी, शाकाहारी भए पनि पालुङ्गोको साग, तामा, गुन्द्रुक, अमिलो पदार्थ, काउली आदि खाने गरेमा पनि युरिक एसिडको मात्रा बढ्छ । युरिक एसिड बढेर बाथरोग लाग्ने संभावना हुन्छ ।
खुट्टाको बुढी औंला सुन्निने र दुख्नेबाट यो रोगको शुरुवात हुन्छ । युरिक एसिडको मात्रा बढ्दै गएमा हिँड्न, बस्न र उठ्न नै समस्या हुन्छ । सुन्निएको ठाँउमा निलो र रातो डाम देखिन्छ । यो रोग जुनसुकै उमेर र समयमा पनि लाग्न सक्छ । यो खानाको कारणले गर्दा हुने रोग हो । बेलुका खाना खाएर सुतेको बिरामी बिहान उठ्न र बस्न नै नसक्ने पनि हुनसक्छ । यसलाई क्रिष्टल डिपोजिसन वाथ पनि भन्ने गरिन्छ । युरिक एसिड भएका व्यक्तिहरुले रातो मासु, रक्सी तथा बढी प्रोटिनयुक्त खाना सकभर खानु हुँदैन । कसैकसैको युरिक एसिड चाहिँ अन्य केही रोगसँग पनि सम्बन्धित हुनसक्छ । हड्डी कँुज्जिने, जोर्नीबाट पीप बग्ने र प्यारालाइसिस् पनि हुनसक्छ । युरिक एसिड बढ्न नदिनका लागि बिशेष गरी हामीले खाने कुरामा ध्यान दिनुपर्छ ।
You can subscribe by e-mail to receive news updates and breaking stories.