You are here: Home /
Beauty Tips / कालो पोतोको घरेलु उपचार

सुन्दर छालाको रहर कसलाई पो नहोला ? पहिला महिलालाई मात्र सुन्दर बन्नुपर्छ भन्ने मान्यता रहि आएको थियो तर अहिले सुन्दर बन्नु महिलाको मात्र रुचिको विषय नभई पुरुषलाई पनि आकर्षक र सुन्दर बन्ने रहर हुन्छ । तर रहर गर्दैमा र कृत्रिम उपायले मात्रै हुने भए सबैका अनुहारमा चमक हुने थियो । कतिपयलाई अनुहारमा कालो पोतो आएर ठूलो तनाव दिने गर्छ । विशेषगरी महिलालाई नै आउने कालो पोतोले उनीहरुको आत्मविश्वासलाई समेत प्रभावित गरिरहेको हुन्छ । काला पोतोका कारण अनुहारमा खैरो वा कालो दाग बस्ने गर्छ । कालोपोतो दुवै गालाबाट सुरु भएर बटरफ्लाइको आकारमा वृद्धि हुँदै जान्छ । कहिलेकांही यो नाक र आँखाको माथिल्लो भागमा समेत हुन्छ । आँखा वरिपरि वा अनुहारमा कालो पोतो आउँदा सौन्दर्यलाई प्रत्यक्ष प्रभाव पार्छ । ‘अनुहारको कालो पोतोका कारण पेटको गडबडी, हर्मोनको असन्तुलन, औलो, कलेजो वा अन्य कुनै शारीरिक रोगव्याधी समेत हुन सक्छ’ वरिष्ठ आयुर्वेदिक चिकित्सक डा. कृष्णराज पराजुली भन्छन्, ‘यदि सामान्य रुपले कालो पोतोको समस्या देखिएको हो भने यसलाई आफैंले घरेलु उपचारको माध्यमले समेत निको पार्न सकिन्छ ।’ घ्यूकुमारीको पातभित्र हुने गुदिलाई कालो पोतो, चाया देखिएको भागमा लगाउँदा लाभदायक हुने डा. पराजुली बताउँछन् । घ्यूकुमारीको उपयोग छाला रोगका लागि अत्यन्त प्रभावकारी मानिन्छ । यति मात्र नभएर शंखभष्मलाई दूधको तरमा मिसाएर अनुहारमा लेप लगाउनाले समेत फाइदा पुग्ने उल्लेख गर्दै पराजुली भन्छन्, ‘बेसार, चुत्रोको बोक्रा घोटेर लगाउनाले समेत सामान्य कालो पोतो हटाउन मद्दत गर्छ ।’ कसैकसैलाई भने डन्डिफोरसँगै कालो पोतो देखिने समस्या समेत रहने गरेको छ । यस्तो स्थितिमा भने मुलाको बीउ घोटेर लगाउनु राम्रो हुन्छ भने सिमलको काँडा घाटेर लगाउँदा पनि डन्डिफोरसँगै कालो पोतोको समस्याबाट मुक्ति पाइने डा. पराजुली बताउँछन् । रक्तअल्पत्ता, हर्मोनको असन्तुलन, गालाबाट बढी पसिना आउनु, गर्भावस्था, अन्य औषधिको साइड इफेक्ट, प्रदुषण आदिका कारणले पनि हुनसक्ने कालो पोतोका बारेमा आयुर्वेद क्याम्पसका डा. रामआधार यादव भन्छन्, ‘महिलालाई इन्ड्रोक्राइनल डिजिअर्डर, हाइपोथाइराइडिज्म आदिले समेत कालो पोतोको समस्या देखिन सक्छ । यसमा हामी बिरामीको रोगसँगै कालो पोतोको स्थानीय उपचार पनि गछौँ ।