जडीबुटी बाट उपचार !

Posted by Sura Health on |








जडीबुटी गुरु

तीन वर्षको उमेरदेखि निरन्तर जडीबुटीको खोजबिन र रोगीहरूको उपचारमा लागेका अनुसन्धाता हुन्, धर्मराज पौडेल, ४५। गोरखा, खरीबोटमा जन्मेका यिनै पौडेलले हालै योगी धर्ममहारसका नाममा आयुर्वेदिक जडीबुटी विज्ञान नामक १ हजार १ सय २ पृष्ठको गहकिलो पुस्तक निकालेका छन्।

उनकी पहिली जडीबुटी शिक्षिका रहिछन्, आफ्नै हजुरआमा। उनी तीन वर्षको हुँदा हजुरआमाले चिनाएको जडीबुटी खोजेर ल्याउँथे र ओखती तयार गर्थे। आश्चर्य त के भने त्यही बेलादेखि उनी वल्लोपल्लो गाउँमा बिरामी पर्दा आफैँ गएर औषधी उपचार गराउँथे।

आयुर्वेदको औपचारकि शिक्षाका लागि पौडेल भारतको इलाहावाद पुगेछन्। र, चार वर्षसम्म त्यहाँका आयुर्वेदविज्ञ र संन्यासीहरूको संगत गरेछन्। ०६० सालदेखि यस पुस्तक लेखनको तयारीमा लागेछन्। तर, उनलाई यति तीक्ष्ण ज्ञानी बनाएका रहेछन्, योगी नरहरिनाथले। भन्छन्, "योगीजीकै उत्पे्ररणा र निरन्तरको आग्रहलाई गुरुदक्षिणा ठानेर नै यो पुस्तक तयार गरेको हुँ।"

नरहरिनाथको देहावसानपछि उनी बूढीगण्डकीस्थित राम्दी पुगे। त्यहाँ उनले नरहरिनाथका धमिराले खाइसकेका विभिन्न पाण्डुलिपि पाए। तिनमा जडीबुटी सम्बन्धमा लेखिएका थुप्रै लेख पनि थिए। तिनै पाण्डुलिपिले पनि उनलाई पुस्तक लेख्न थप सघाए। ती पाण्डुलिपिलाई उनले जतनसित राखेका छन्।

योगी नरहरिनाथलाई उनी आफ्ना परम् गुरु मान्छन्। अहिले आफ्ना गुरुका देशभरि छरिएका पाण्डुलिपि संकलन गर्न लागिपरेका छन्। नरहरिनाथको पाण्डुलिपि छ भन्ने सुन्नासाथ देशको जुनैसुकै क्षेत्रमा पनि पुगिहाल्छन् र त्यसलाई प्राप्त गरेपछि मात्र लामो सास फेर्छन्।

आयुर्वेदिक उपचार पद्धतिलाई अचुक उपचार मान्ने पौडेल यति ठूलो पुस्तक प्रकाशन गरेपछि पनि हात बाँधेर बसेका छैनन्। जिल्लाका सदरमुकाम र गाउँगाउँसम्म पुगी स्वास्थ्य शिविर नै चलाएर यसबारे जानकारी र उपचार पनि गर्दै छन्। भन्छन्, "म आमनेपालीलाई निरोगी बनाउने शिक्षा दिन चाहन्छु। त्यसैले शिविर राखेर र फोनबाटै पनि जनजनमा ज्ञान बाँड्दै हिँडिरहेछु।"

कसरी धर्ममहारस बने त धर्मराज पौडेल ? आयुर्वेद अनुसार ६ किसिमका रस हुन्छन् : तीतो-टर्रो, अमिलो-पीरो र गुलियो-नुनिलो। यिनै रसको संयोजन नै महारस हो, यिनै रसहरूमाथि विज्ञता हासिल गरेपछि उनले यसलाई आफ्नो नाममा प्रयोग गरे। भन्छन्, "हामी चार रस अमिलो, पीरो, गुलियो र नुनिलोको मात्र बढी प्रयोग गर्छौं। अचुक औषधी भने तीतो र टर्रो नै हुन्। त्यसैले यी दुई स्वादका जडीबुटीको प्रयोग बढी गर्नुपर्छ।"

उनको भनाइमा यस्ता जडीबुटीलाई हामी औषधीका रूपमा मात्र प्रयोग गर्छौं। तर, यिनलाई नियमित पौष्टिक आहारका रूपमा प्रयोग गर्नुपर्छ। यसो गर्दा हाम्रो प्रतिरोधात्मक क्षमतामा वृद्धि हुन्छ र हामी सदा निरोगी रहन सक्छौँ।

उनी आफूले जानेको जडीबुटीको ज्ञानलाई आफैँमा सीमित राख्न चाहँदैनन्। त्यसैले गाउँगाउँमा जडीबुटी चिनाउँदै हिँड्छन्। भन्छन्, "मेरी आमा सानैमा बित्नुभयो, त्यसैले मलाई उहाँको अनुहार थाहा छैन। तर, म हरेक जडीबुटीको अनुहार चिन्छु। मलाई जडीबुटी आफ्नी आमाजत्तिकै पि्रय र आत्मीय लाग्छ।" 

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips