जाडोको सहवास हितकारक
Posted by Sura Health on |
जाडो याममा तेलले मालिस गर्नु, घाम ताप्नु, पान खानु, सिरक अर्थात् ओढ्ने ओढनु, तातो खानेकुरा भोजन गर्नु, तातो पानीको प्रयोग गर्नु र नारीका साथ रहनु सात चीज हितकर हुने कुरा आयुर्वेदमा बताइएको छ। भनिएको छ-
तैलातप ताम्बुलं तूलिका तप्त भोजनम्।
तप्तोदकं तरुणनारी शीते सप्त सुखावहाः।
जाडोमा घाम प्यारो हुन्छ। त्यसैले घाम ताप्दा शरीरमा जीवनशक्ति बढ्छ। यसबाट अन्य शारीरिक लाभ पनि प्राप्त गर्न सकिन्छ। त्यस्तै तेल मालिस गर्नु कपाल, छालाका लागि लाभदायक हुन्छ। यसले छाला मुलायम बनाई सर्दी घुस्नबाट बचाउनुका साथै खस्रो र फुट्नबाट रोक्ने काम गर्छ। मालिस र व्यायाम गर्नाले रक्तसञ्चालन राम्रोसँग हुन पाउँछ।
जाडोमा तातो पानीले नुहाउने गर्नुपर्छ। मनतातो पानी पिउँदा सर्दी लाग्न पाउँदैन। त्यस्तै तातो घरमा बस्नु, तातो खानेकुरा खानु, तातो ऊनी लुगा लगाउनु पनि जाडोबाट बच्ने उपाय हुन्। हेमन्त ऋतु अर्थात् मंसिर-पुसमा इच्छाअनुसार स्त्री-पुरुष सहवास गर्नु पनि हितकारक हुने कुरा आयुर्वेदमा उल्लेख गरिएको छ। जाडोमा वातवर्द्धक र थोरै खाना खानु, दिउँसो सुत्नु, परिश्रम नगर्नु, अति जाडो सहन खोज्नु, धेरै बेर भोकै रहनु आदि अपाच्य मानिन्छ। त्यसैले यसबाट बच्नुपर्छ। यी विधिको नियमपूर्वक पालन गरेमा जाडोयाम अर्थात् शीत ऋतुमा स्वस्थता प्राप्त गर्न सकिन्छ। बलवृद्धिका साथै रोगप्रतिरोधात्मक क्षमता बढ्छ। त्यसैले ऋतुचर्याको पालन गर्नु अत्यन्त उपयोगी मानिन्छ।

You can subscribe by e-mail to receive news updates and breaking stories.