मुटु र मुटु रोग |
Posted by Sura Health on |
परिचय: हृदयशास्त्र हृदय तथा रक्त नलीहरुसँग सम्बन्धित चिकित्साको एक क्षेत्र हो। यस क्षेत्रमा विशिष्टिकरण गर्ने चिकित्सकहरुलाई हृदयशास्त्री भनिन्छ। हृदयशास्त्र दुई संस्कृत शब्द हृदय (मुटु) र शास्त्र मिलेर बनेको शब्द हो। यो क्षेत्रलाई कन्जेनाइटल हृदय डिफेक्ट, कोरोनरी धमनी रोग, हृदयघात, भाल्भुलर हृदय रोग आदिमा विभाजित गर्न सकिन्छ।
मुटु मानव लगायत भर्टेब्रेट प्राणीहरूको शरीरको एक अङ्ग हो। यस अङ्ग शरीरको सञ्चालन प्रक्रियासँग सम्बन्धित छ। सामान्यतः एउटा वयस्क मानिसको मुटुको तौल ९ देखि ११ औन्स हुन्छ। सम्भवतः मानिसको शरीरको सबैभन्दा बलियो अङ्ग नै मुटु हुनुपर्छ। एक दिनमा मुटुले करिब २ हजार ग्यालन रगत पम्प गर्छ। गर्भाधान भएको करिब ८ हप्ताभित्रमै मानिसको मुटु विकसित भइसकेको हुन्छ। जबकि त्यो बेलामा भ्रूण करिब १ इन्च मात्र लामो हुन्छ। अझ गर्भाधानको ४ हप्तादेखि नै भू्रणको मुटु पनि धड्कन सुरू भइसकेको हुन्छ । पहिलो ओपन हार्ट सर्जरी सन् १८९३मा डा. डानियर हल विलियमले गरेका थिए। सन् १९६७ मा दक्षिण अफ्रिकाको केप टाउनमा पहिलो पटक मुटुको सफल प्रत्यारोपण गर्ने काम सम्पन्न भएको थियो।
मुटु र रक्तनली सम्बन्धी रोग विभिन्न प्रकारका छन्। जस्तै: कोरोनरी मुटुरोग र हृदयाघात, मुटुको बाथरोग, जन्मजात हुने मुटुको रोग, उच्च रक्तचाप, मस्तिष्कघात आदि। कोरोनरी मुटुरोग र हृदयाघात आजका जल्दाबल्दा समस्या हुन्। रोगको पहिचान र उपचार पद्धतिमा भएको ठूलो प्रगतिका बाबजुद अझै पनि एक तिहाइ भन्दा बढी मानिसको पहिलो हृदयाघातमा नै मृत्यु हुन्छ। केही दशक अगाडिसम्म बुढ्यौली र धनी मानिसको रोग भनेर चिनिए पनि अचेल युवा उमेरका, मध्यम र निम्न आर्थिक अवस्था भएका युवामा हृदयाघातको समेत यो रोग देखिन थालेको छ। यसका प्रमुख कारणमा चुरोट र सुर्ती सेवन, बोसो र चिल्लोयुक्त खाना, मानसिक तनाव, शारीरकि परश्रिमको अभाव, मोटोपन, उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्टेरोल, सागसब्जी र फलफूलको सेवनमा आएको कमी आदि छन्। हृदयाघात अचानक नै हुने भए पनि त्यसका लागि वर्षौं लगाएर शरीरभित्र हृदयाघातको परिस्थिति तयार हुन्छ।
मुटुरोगबाट बच्ने उपाय घरबाटै सुरु गर्नुपर्ने र घरका महिला यसमा सजग भएमा परिवारका सम्पूर्ण सदस्यलाई नै रोगबाट बचाउन सकिने हुनाले विश्व मुटु महासंघले यस्तो कार्यक्रम ल्याएको हो। महासंघको अगुवाइमा प्रत्येक वर्ष सेप्टेम्बरको अन्तिम आइतबार का दिन मुटुरोग र यसबाट बच्ने उपाय सम्बन्धमा जनचेतना जगाउन विश्व मुटु दिवस संसारभरि मनाउँदै आइरहेको छ ।
चुरोट, सुर्तीको सेवन नगर्ने वा त्याग्ने, नियमित शारीरकि व्यायाम गर्ने, सागसब्जी र फलफूल बढी सेवन गर्ने, मासु, चिल्लो, बोसोयुक्त खानेकुरा, जंक फुड कम गर्ने, मानसिक तनाव कम गर्ने, तौल ठीक राख्ने, भुँडी बढ्न नदिने र नियमित रूपमा चिकित्सकसँग सम्पर्कमा रहेर परीक्षण गराई आवश्यक सल्लाह लिने गरेमा हृदयाघातबाट सजिलै बच्न सकिन्छ।नेपालमा देखिएका प्रमुख मुटु रोगमा जन्मजात मुटु रोगी (जन्मजात मुटुभित्रका प्वाल), बाथ मुटु रोग, उच्च रक्तचाप, हृदयाघात, हर्टफेल, तथा मुटुको धड्कन गडबड हुने रोग रहेका छन् । जन्मजात मुटुरोग: जन्मजात मुटुरोगमा बच्चा जन्मिँदाखेरि नै मुटुको बनावटमा समस्या हुन्छ। यो रोग थोरैलाई मात्र लाग्ने गर्छ । भ्रुण अवस्थामा मुटु बन्ने क्रममा खराबी आएमा यस्तो अवस्थाको सिर्जना हुन्छ। गर्भधारण गरेको तीन महिनाभित्र रुबेला नामक एककिसिमको दादुराजस्तै प्रकृति भएको रोग लाग्यो भने यसले शिशुको निर्माण भइरहेको मुटुमा विकृति गराउँछ, फलस्वरूप जन्मजात बालकमा मुटुको समस्या आउनेछ । आनुवंशिक गडबडी, नजिकको नातामा विवाह, गर्भावस्थामा मध्यपान, धुम्रपान, विभिन्न रसायन र विषादीको सम्पर्कमा आउने, गर्भावस्थामा महिलाले गर्भका लागि असुरक्षति मानिएका औषधिको सेवन, गर्भावस्थामा मधुमेह हुनु, बढ्दो उमेर ४० वर्ष आसपासमा गर्भवती हुनु आदि यसका केही कारण हुन्। गर्भावस्थामा शरीरमा एक्सरेको विकीरण परेमा मुटुको संरचनामा गडबडी भई बच्चामा विकृत मुटुको निर्माण हुन जान्छ। भोजनमा भिटामिन र अन्य आवश्यक पोषण तत्त्वको कमी भएमा पनि जन्मजात मुटु रोग लाग्ने सम्भावना रहन्छ ।
बच्चा जन्मिएपछि राम्रोसँग दूध चुस्न नसक्ने, शिशुको उमेरअनुसार शारीरिक विकास नहुने, निधारमा पसिना आउने, बच्चाको तौल नबढ्ने, बारम्बार नवजात शिशुलाई रुघाखोकी, निमोनियाले सताइराख्ने, कसैकसैको ओठ, जिब्रो, नङ नीलो देखिने, औँलाका टुप्पा बाक्ला र चाक्ला हुने, मुटु हल्लिने, दम बढ्ने यस रोगका प्रमुख लक्षण हुन्। गर्भ रहेको १८ साता आसपासमै इकोकार्डियोग्राफी जाँच गरी बच्चाको मुटुमा समस्या भएरनभएको थाहा पाउन सकिन्छ। धेरै नै जटिल अवस्थामा मुटुको समस्या रहेमा गर्भपतनलगायत उपायसमेत अपनाउन सकिन्छ।
मुटुको बाथ (बाथ मुटु रोग)
मुटुको बाथ बच्चाहरूमा हुने अर्को प्रमुख मुटुरोग हो। मुटुको बाथरोगको समस्या हाम्रो देशको सबैभन्दा ठूलो स्वास्थ्य समस्यामध्ये एक हो। बाथमुटु रोग यो बच्चा अवस्थामा घाँटीमा समस्या भइरहेका केटाकेटीलाई देखिने रोग हो । सामान्यतया तीनदेखि १५ वर्षका बालबालिकामा बराबर घाँटी दुख्ने, टन्सिल बढ्ने हुन सक्छ । यसरी बराबर घाँटी दुख्ने, टन्सिल बढ्नेगरेका केटाकेटीलाई एक किसिमको ज्वरो आउन सक्छ, जुन वेला एकपछि अर्को गरी हात खुट्टाका ठूला जोर्नीहरू दुख्ने र सुन्निने हुन्छन् । यस ज्वरोलाई बाथ ज्वरो भनिन्छ । यसै एक प्रकारको जीवाणुले शरीरभित्र उत्पन्न गर्ने प्रक्रियाका कारण मुटुका भल्भ खराब हुने रोग लाग्छ । यसलाई बाथ मुटुको रोग भनिन्छ । मुटुको भल्भ एकपटक खराब भएपछि यो जीवनभरका लागि समस्या बन्छ। बच्चालाई घाँटी दुख्ने, टन्सिल बढ्नेबित्तिकै स्वास्थ्यकर्मीकहाँ पुर्याएर आवश्यक निदान र उपचार गरे बच्चालाई यसबाट सजिलै बचाउन सकिन्छ। जीवनशैलीसँग सम्बन्धित मुटुरोग - हृदयाघात/हार्ट अट्याक
मुटुका धेरैजसो रोग जीवनशैलीसँग सम्बन्धित छन् । जीवनशैलीसँग सम्बन्धित मुटु रोगमा हृदयाघात, उच्च रक्तचाप, मधुमेह, आदि पर्छन् । मुटु रोगमध्ये हृदयाघातलाई मानव मृत्युको नम्बर एक रोगका रूपमा लिइँदै आएको छ । मुटु मांसपेशीको डल्लो हो । यसले पम्पको काम गर्छ र शरीरभरि रक्त सञ्चालन गराउँछ । मुटुलाई यो काम गर्ने ऊर्जा मुटुका मांसपेशीको बाहिरी भागमा रहेका तीनवटा कोरोनरी रक्तनलीमा प्रवाहित हुने रगतमार्फत ग्लुकोज र अक्सिजनबाट प्राप्त हुन्छ । त्यसकारण मुटुलाई आवश्यक पर्ने ऊर्जा प्राप्त हुन मुटुका कोरोनरी रक्तनली स्वस्थ हुनु जरुरी छ । तर, यी रक्तनली भित्र विभिन्न कारणबाट कोलेस्ट्रोल (बोसो) जमेर साँघुरो हुने गर्छ । जसकारण मुटुमा रगतको प्रवाहमा अवरोध उत्पन्न हुन्छ र मुटुका मांसपेशीमा पर्याप्त मात्रामा ग्लुकोज र अक्सिजन पुग्दैन । जसकारण बिस्तारै कोरोनरी रक्तनली पूरै बन्द हुने सम्भावना बढी हुन्छ । यदि रक्तनली पूरै बन्द भएको खण्डमा रगतको प्रवाह पनि पूरै बन्द हुन्छ र मुटमा ऊर्जाको आपूर्ति ठप्प हुन्छ । मुटुमा ग्लुकोज र अक्सिजनको आपूर्ति नभएपछि मुटुको मांसपेशी क्षतिग्रस्त हुन थाल्छ र यो क्रम लम्बिँदै गएमा मांसपेशी मर्छ र यसले काम गर्न छाड्छ । यो अवस्थालाई हृदयाघात भएको भनिन्छ । हृदयाघात हुँदा छातीको बीचभागमा असह्य पीडा उत्पन्न हुन्छ । हृदयाघात भएका व्यक्तिले समयमै उपचार नपाए रोगीको तत्काल मृत्यु हुन सक्छ ।
हार्ट फेल
हार्ट फेल पनि मुटुको डरलाग्दो रोग हो । अधिकांश मानिस दम बढ्नेबित्तिकै फोक्सोमा खराबी आयो भन्ने सोच रहेको हुन्छ । यो आंशिक रूपमा मात्र सत्य हो । दमको सम्बन्ध फोक्सोसँग मात्र नभई मुटुसँग पनि रहेको छ । यदि शारीरिक श्रम गर्दा दम बढ्छ र आराम गरेपछि यो कम भएर जान्छ भने यो मुटु रोग हुन सक्छ । मुटु सुन्निएको, मुटुका मांसपेशी कमजोर भएको, मुटुको भल्ब बिगि्रएको अवस्थामा यस्तो प्रकृतिको दम उत्पन्न हुन्छ । यसलाई हार्ट फेल भएको भनिन्छ । हार्ट अट्याक र हार्ट फेल फरक-फरक अवस्था हुन् । हार्ट अट्याक भएपछि मुटु कमजोर भई हार्ट फेल हुन्छ । मुटु कमजोर हुँदा मानिस सास नपुगेर निसासिन्छ । लेखक : डाक्टर .बर्दी पौडेल हुनुहुन्छ .
You can subscribe by e-mail to receive news updates and breaking stories.