वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षणमा लापरबाही !!
Posted by Sura Health on |
काठमाडौ, मंसिर १० -
- लागत उठाउन ५ जनाको रगत मिसाएर एचआईभी र ५ जनाको सेरम मिसाएर हेपाटाइटिस परीक्षण -स्वास्थ्य परीक्षणको गुणस्तरमा ठूलो समस्या छ: महासंघ
स्वास्थ्य संस्थाहरूले लागत उठाउन र खर्च धान्न एकभन्दा बढीको रगत मिसाएर एचआईभी र एक जनाभन्दा बढी मानिसको सेरम मिसाएर हेपाटाइटिस बी र सी परीक्षण गर्ने गरेको खुलासा भएको छ ।
कम्तीमा १४ प्रकारको प्रयोगशाला परीक्षण १ हजार २ सय ५० रुपैयाँमा धान्नुपर्ने भएकाले उनीहरूले स्वास्थ्य परीक्षणमा यस्तो लापरबाही गर्दै आएका हुन्् । यसले गर्दा वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षणमा गुणस्तर कायम हुन सकेको छैन । मलेसियाबाट मात्र स्वास्थ परीक्षणमा हुने त्रुटिका कारण मासिक १ सय ८० देखि २ सय जना फर्किनुपरिरहेको छ ।
'लागत धान्न धेरैजसो क्लिनिकले सामान्यतया ५ जनाको रगत मिसाएर एचआईभी, ५ जना मानिसको सेरम मिसाएर हेपाटाइटिस बी र सी परीक्षण गर्ने गरेका छन््,' राजधानीमा सञ्चालित एक मेडिकल सेन्टरका सञ्चालकले भने, 'त्यसो नगर्ने हो भने साढे १२ सय रुपैयाँमा १४ प्रकारको ल्याब टेस्ट गर्न सम्भव छैन ।'
साउदी अरब, ओमन र बहराइनबाहेकका देशमा वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण गर्ने संस्थाहरूले जानाजान स्वास्थ्य परीक्षणमा लापरबाही गरिरहेका छन् । सरकारले पुरुषका लागि विभिन्न १४ प्रकारको प्रयोगशाला परीक्षण गर्ने शुल्क ५ प्रतिशत करसहित २ हजार ९ सय ४० रुपैयाँ र महिलाका लागि विभिन्न १५ प्रकारको प्रयोगशाला परीक्षण शुल्क ३ हजार ५७ रुपैयाँ ५० पैसा तोकिदिएको छ ।
तर नेपाल स्वास्थ्य व्यवसायी महासंघ र नेपाल वैदेशिक रोजगार मेडिकल एसोसिएसनले परीक्षण शुल्कमा कार्टेलिङ गरी प्रतिव्यक्ति २ हजार ६ सय ५० रुपैयाँ मात्र तोकेका छन् । व्यवसायीहरूका अनुसार यी दुवै संस्थामा आबद्ध करिब ९० प्रतिशत स्वास्थ संस्थाले स्वास्थ परीक्षण गर्ने 'ग्राहक' उपलब्ध गराएबापत सम्बन्धित म्यानपावर कम्पनीलाई प्रतिव्यक्ति १ हजार रुपैयाँ कमिसन
बुझाउँछन् । उनीहरूले एसोसिएसन र महासंघलाई स्वास्थ्य परीक्षण रिपोर्टमा टाँस्ने होलोग्रामबापत प्रतिव्यक्ति २ सय रुपैयाँ बुझाउनुपर्छ ।
बाँकी १ हजार ४ सय ५० रुपैयाँमध्ये २ सय रुपैयाँ डाक्टरलाई बुझाउनुपर्छ भने १ हजार २ सय ५० रुपैयाँले कम्तीमा १४ प्रकारको प्रयोगशाला परीक्षण धान्नुपर्छ । 'यति रकमले प्रयोगशालाका लागि आवश्यक रिएजेन्ट -रसायन), सुई, निडल, कपासलगायत अन्य सामग्री किन्न पनि पुग्दैन,' राजधानीकै अर्को मेडिकल सेन्टरका सञ्चालक बताउँछन्, 'कर्मचारीको तलबभत्ता, कोठा भाडा र उपकरण लागत धान्न तलमाथि नगरी हुँदैहुँदैन ।'
सरकारले एक्सरेको १ सय ७०, एचआईभी १ र २ को ३ सय, हेपाटाइटिस बीको २ सय ५०, हेपाटाइटिस सीको २ सय ५०, भीडीआरएल/टीपीएचएको २ सय ५०, पिसाबको ४०, रगतको १ सय २०, रक्त समूह छुट्याउन ६०, मलेरिया प्यारासाइटको १ सय, एफबीएस -सुगर) को ६०, एलएफटी -लिभर फ््सन टेस्ट) को ४ सय, क्यानबिज -लागू औषध) परीक्षणको ५ सय र मुन्टक्स -टीबी) परीक्षणको १ सय रुपैयाँ प्रयोगशाला परीक्षण शुल्क तोकेको छ । तर क्लिनिकलाई एउटा एक्सरे फिल्मको १ सय ५०, एचआईभी परीक्षण गर्ने किटको १ सय १० वा 'इलाइजा' मेसिनबाट एचआईभी परीक्षण गर्ने रिएजेन्ट -रसायन) को ३ सय, हेपाटाइटिस बी परीक्षण गर्ने किटको ४०, हेपाटाइटिस सी परिक्षण गर्ने किटको १ सय, भीडीआरएल किटको २० र टीपीएचए किटको २० रुपैयाँ पर्छ ।
त्यस्तै पिसाब, रक्त समूह, रगत, मलेरिया प्यारासाइट, सुगर, एलएफटी, मुन्टक्स र क्यानबिज परीक्षणका लागि आवश्यक किट र रिएजेन्टका लागि क्रमशः ५, १०, १५, २०, ३०, १ सय, १० र २ सय रुपैयाँ पर्छ ।
अर्थात किट र रसायन किन्न मात्र क्लिनिकले प्रतिव्यक्ति ८ सय ३० रुपैयाँ खर्चिनुपर्छ । इलाइजा मेसिनबाट एचआईभी परीक्षण गर्ने हो भने १ हजार २० रुपैयाँ लाग्छ । त्यसबाहेक करिब ५० रुपैयाँको सुई, निडल, कपास लगायत सामग्रीमा र यातायातमा खर्च हुन्छ । 'इमान्दार भएर स्वास्थ परीक्षण गर्ने हो भने धान्न सकिन्न,' ती व्यवसायी भन्छन्, 'क्लिनिक चलाउन २० लाख रुपैयाँसम्मको मेसिनसहित करिब १ करोड रुपैयाँ लाग्छ । कोठा भाडा र स्टाफ खर्च उत्तिकै हुन्छ । अनि कैफियत नगरेर के गर्ने ?'
उनका अनुसार धेरैजसो क्लिनिकले खर्च धान्न र नाफा कमाउन एउटा किटबाट कम्तीमा ५ जनाको रगत मिसाएर एचआईभी परीक्षण गर्छन् । हेपाटाइटिस बी र सी पनि कम्तीमा ५ जनाको सेरम मिसाएर एउटै किटबाट गरिन्छ । किटले नेगेटिभ र पोजिटिभ संकेत मात्र देखाउने भएकाले अपवादमा कसैलाई एचआईभी वा हेपाटाइटिस भएको पोजिटिभ संकेत देखाए फेरि रगत र सेरमलाई दुई समूहमा विभाजन गरी किटमा राखिन्छ ।
किटले जुन समूहको रगत र सेरमको नमुनामा पोजिटिभ संकेत गर्छ, त्यो समूहका मानिसको रगत र सेरमको नतिजा छुट्टटाछुट्टैै परीक्षण गरिन्छ । व्यवसायीहरूका अनुसार धेरै मानिसको नमुना एकै ठाउँमा मिसाएर परीक्षण गर्दा कहिलेकाहीँ 'ओभरलोड' भएर किटले काम गर्दैन ।
यस्तो अवस्थामा वैदेशिक रोजगारीमा गएका मानिस गलत स्वास्थ रिपोर्टका कारण फर्किनुपर्छ ।
नेपाल स्वास्थ व्यवसायी महासंघका अध्यक्ष प्रविन तिवारी म्यानपावर कम्पनीलाई कमिसन दिनुपर्ने भएकाले स्वास्थ परीक्षण गुणस्तरीय हुन नसकेको स्विकार्छन् । 'कमिसनका कारण स्वास्थ परीक्षणको गुणस्तरमा ठूलो समस्या छ,' उनी भन्छन्, 'यसलाई हटाउनुपर्छ ।' स्रोत ;कान्तिपुर
You can subscribe by e-mail to receive news updates and breaking stories.