You are here: Home /
Health Tips / गर्भावस्थामा हुने साधारण समस्या !!
डा. सुमनराज ताम्राकार ! गर्भावस्थामा किशोरी वा महिलाको शरीरमा आउने प्रजनन्सँग सम्बन्धित ग्रन्थिहरूको रासायनिक परिवर्तनसँगै शारीरिक परिवर्तन आउने हुनाले कतिपय समस्या देखा पर्छन्। गर्भ रहेको तीन-चार महिनासम्म विशेषगरी बिहानीपख वाकवाकी लाग्छ। वाकवाकी लागे बिहान उठ्नेबित्तिकै बिस्कुट, चिउरा खाने, चिल्लो-पिरो खानेकुरा कम खाने, दिनभरिमा धेरै पटक तर थोरथोरै खाइरहनुपर्छ। यदि अत्यधिक वाकवाकी लागे वा चार महिनासम्म वाकवाकी लागिरहे स्वास्थ्यकर्मीसँग सल्लाह लिनुपर्छ।
गर्भावस्थामा आमाशयसँगै जोडिएको खाद्यनलीको तल्लो भाग खुकुलो हुने एवं गर्भावस्थाको अन्तिमतिर बढेको पाठेघरले आमाशयलाई थिच्ने हुनाले मुखमा अमिलो पानी आउँछ र छाती पनि पोल्छ। यसका लागि मसला तथा चिल्लोयुक्त खाना कम गर्ने, प्रशस्त झोल पदार्थ पिउने। यस्तो बेला खानेबित्तिकै ओछ्यानमा पल्टिनु हुँदैन। सिरानी अलि अग्लो बनाउने एवं अम्लीयपन कम गर्ने खाने कुरा खाने। यसमा औषधिको आवश्यकता पर्न सक्छ।
गर्भ रहेको बेला योनिस्राव (सेतो पानी) अलि बढी हुन सक्छ। यसका लागि सरसफाइ गर्ने एवं सुतीको भित्री कपडा (अन्डर गार्मेन्ट) दिनहुँ फेर्ने। पिसाब पोल्नुका साथै चिलाउने, गन्हाउने स्राव बढ्यो भने वा ज्वरो पनि आयो भने चिकित्सकसँग सल्लाह लिनुपर्छ।
गर्भमा बढिरहेको शिशुले पाठेघर पछाडिको रगतको नसालाई थिच्ने हुनाले शरीरको तल्लो भागबाट रगत र्फकन कठिन हुन्छ। कतिपय महिलामा पिंडौला एवं जननेन्दि्रय वरिपरिका नसा फुल्न सक्छन्। यस्तो समस्याबाट जोगिन धेरै बेर उभिनु हुँदैन। देब्रे कोल्टे परी आराम गर्नुपर्छ। पिंडौलामा पट्टी (ब्यान्डेज) बाँध्न सकिन्छ। कसैकसैलाई अल्काइको समस्या बढेर दिसा गर्दा चहर्याउने, पोल्ने एवं रगत देखा पर्ने हुन सक्छ। यसका लागि चिकित्सकसँग आवश्यक सल्लाह लिनुपर्छ।
कतिपय गर्भवती महिलाको पेट एवं आन्द्राको चाल अलि सुस्त हुनाले कब्जियत हुन सक्छ। हल्का व्यायाम, प्रशस्त झोल पदार्थको सेवन एवं रेसायुक्त खानेकुरा (सागसब्जी, स्याउ, मुला, गाजर) खानुपर्छ।
खुट्टा सुन्निए गोडा नझुन्ड्याई बस्ने, धेरै बेर नउभिने, कोल्टे फेरी आराम गर्ने, खुट्टाको भाग अलि अग्लो बनाई सुत्ने। यदि हात र अनुहारसमेत फुलेको भए त्यो गर्भावस्थामा बढ्ने रक्तचापका कारणले भएको हो वा अन्य अरू कुनै कारणले हो, रक्तचाप र पिसाबमा प्रोटिन छ-छैन जँचाउनुपर्छ।
गर्भावस्थामा बढिरहेको बच्चा पुठ्ठाको हड्डीमा अटाउन अलि फुक्नुपर्छ। यसका लागि महिलाको शरीरबाट निस्कने रिल्याक्सिन नामको रासायनिक पदार्थका कारण जोर्नीहरू फुक्ने क्रममा कम्मर पनि दुख्छ। पेटको आकार बढेपछि पेटको छाला तथा मांसपेशी तन्किएर कम्मरमा असर पुग्छ। यसका लागि ढाडको व्यायाम एवं हल्का मालिस गर्ने, कुप्रो परेर काम नगर्ने तथा सुत्दा घुँडामुनि सिरानी राख्ने।
गर्भावस्थामा शरीरमा क्याल्सियमको मात्रा कम भयो भने पिंडौला बाउँडिन सक्छ। यसका लागि क्याल्सियमयुक्त खानेकुरा (दूध, सागपात, अण्डा) का साथै क्याल्सियम चक्की पनि खानुपर्ने हुन्छ।