You are here: Home /
Health News / विश्व एड्स दिवस मनाईदैं !!
एचआईभीको नयाँ संक्रमण, भेदभाव र एड्सबाट हुने मृत्युलाई शुन्यमा पु-याऔं’ भन्ने मुल नाराका साथ यसवर्षको विश्व एड्स दिवस नेपालमा पनि विभिन्न कार्यक्रमका साथ मनाईंदैंछ ।
सरकारी, विभिन्न गैरसरकारी तथा निजी संघसंस्था तथा नागरिक समाजको सहभागितामा एड्स दिवस मनाउन लागिएको हो । एचआइभी र एड्ससंबन्धी प्रभावकारी रोकथाम, उपचार, हेरचाह तथा सहयोगका लागि विश्वव्यापी समर्थन जुटाउँदैं वृहत्तर रुपमा जनचेतना जगाउने र भावी कार्यक्रमका लागि बहुपक्षीय समन्वय, सहकार्य र सहभागिता बढाउने उद्देश्यले सन् १९८८ डिसेम्बर १ देखि विश्व एड्स दिवस मनाउन शुरु गरिएको हो ।
युएन एड्सले नोभेम्बर २०१३ मा प्रकाशित गरेको तथ्यांकअनुसार विश्वभर करिब ३ करोड ५३ लाख मानिसहरु एचआइभी संक्रमित छन् जसमा १७ लाख ७० हजार महिला तथा करिब ३३ लाख १५ वर्षमुनीका बालबालिका छन् ।यस्तै, विश्वमा प्रत्येक घण्टा करिब २६२ व्यक्ति एचआइभी संक्रमित भइरहेका हुन्छन् ।
नेपालमा पनि संक्रमितको संख्या ४८ हजार ६ सय रहेको अनुमान गरिएको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले जनाएको छ । केन्द्रको गत असारसम्मको तथ्यांकअनुसार रक्त परीक्षणबाट २२ हजार ९ सय ९४ जनामा एचआइभी संक्रमण भएको पाइएको छ । यस्तै नेपालमा सन् २०१२ सम्ममा संक्रमित बालबालिकाको संख्या ४ हजार रहेको छ ।
राष्ट्रिय एचआइभी एड्स रणनीति २०११–२०१६ अनुसार एचआइभी संक्रमणको उच्च जोखिममा रहेका समूहरुका लागि उपचार, हेरचाह तथा सहयोग कार्यक्रम सञ्चालन भइरहेको छ । हाल एन्टीरेट्रोभाइरल (एआरटी) देशका विभिन्न ४४ केन्द्रमा उपलब्ध छन् भने असार मसान्तसम्म ८ हजार ५ सय ४६ जनाले एआरभी औषधि सेवन गरिरहेका छन् ।