एचआइभी सङ्क्रमितको उपचार गर्न अस्वीकार !!

Posted by Sura Health on |







एचआइभी सङ्क्रमित एक गर्भवती प्रसव पीडाबाट ३० घन्टासम्म छटपटाइ रहे पनि गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालका चिकित्सकले उनको शल्यक्रिया गर्न मानेनन् ।
गत मङ्गलबार बिहान १० बजे भर्ना भएकी ती महिला प्रसव पीडाले झन्डै ३० घन्टासम्म छट्पटाए पनि अस्पतालका स्त्री तथा प्रसूतिरोग विशेषज्ञ दिलीप साहले शल्यक्रिया गर्न मानेनन् । सामान्य प्रसूति नभएपछि शल्यक्रिया गर्ने अवस्था उत्पन्न भएको थियो ।
अन्य अस्पताल लग्नका लागि सिफारिस गर्न समेत नमानेपछि बुधबार साँझ महिलाका आफन्तजनले उनलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेका थिए । बिहीबार बिहान उनको शल्यक्रिया गरिएपछि छोरी पाएकी छन् । सप्तरी बकधुवा गाविस घर भएकी २८ वर्षीय ती गर्भवतीलाई मङ्गलबार नै अस्पतालमा भर्ना गरिइएको थियो । उनको शल्यक्रिया गरी प्रसूति गराउनेतर्फ बुधबार साँझसम्म चिकित्सकले चासो नदेखाएपछि बाध्य भएर धरान लग्नुपरेको उनका पतिले बताउनुभयो ।
“आफ्नी पत्नी एचआइभी सङ्क्रमित भएकै कारण डाक्टरले उपचार गर्न नमानेको उहाँको आरोप छ । “राजविराजमा अपरेसन गरेनन् तर धरानमा त डाक्टरले अपरेसन नै गरेर बच्चालाई जन्म दिएका छन् नि” उनका पतिले भन्नुभयो, “सबै कुरा जानेका डाक्टर नै डर मान्न थाले भने बिरामीको उपचार कसले गर्ने ?” यता अञ्चल अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ साहले सङ्क्रमित व्यक्तिको शल्यक्रिया गर्न अस्पतालसँग पर्याप्त पूर्वाधार तथा उपकरणको अभावमा प्रसूति गराउन नसकिएको बताउनुभयो । “अन्य गर्भवती झैँ उनको पनि प्रसूति गराउन तयार छु, शल्यक्रिया गर्न पनि तयार छु तर आवश्यक उपकरण उपलब्ध गराइदिनुप¥यो”, चिकित्सक साहले भन्नुभयो, “एक्स्ट्रा अपरेसन थिएटर, अत्याधुनिक हेलमेट, मास्क, बुटसहितको अपरेसन गर्न चाहिने ड्रेसबिना सङ्क्रमित गर्भवतीको शल्यक्रिया गर्दिन ।” एचआइभी सङ्क्रमितको शल्यक्रियापछि कम्तीमा २४ घन्टासम्म अपरेसन थिएटरलाई प्रयोग नगरी त्यसको सरसफाइ गरिनुपर्ने साहको कथन छ । बिनाकारण सिफारिस पनि लेख्न नमिल्ने डाक्टर साहको भनाइ छ । रासस

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips