You are here: Home /
Health News / भान्साघरहरु स्वास्थ्यमैत्री बन्दै !!
पाँचथरका ग्रामिण वस्तीका भान्साघरहरु स्वास्थ्यमैत्री बन्दै गएकाछन् । सुधारिएको चुलोले भान्साघरहरुलाई स्वास्थ्यमैत्री बनाएको हो । भान्साघरहरु स्वास्थ्यमैत्री बनेपछि जिल्लाका सयौं गृहिणी महिला तथा बालबालिका लाभान्वित बनेकाछन् । उनीहरुको स्वास्थ्यमा सकरात्मक प्रभाव पर्न थालेकोछ ।
सुधारिएको चुलोले भान्साघरमा धुँवा गुम्सीन दिदैन । धुँवा नगुम्सीएपछि भान्साघरको चोटकोठा फोहोर देखिने गरि ध्वाँसो लाग्न पाउदैन । धुँवा ध्वाँसो विहीन भान्साघरमा भान्सेले ¥याल सिङ्गान काढ्नु पर्दैन । त्यस्तै खानपिनलाई प्रदुषित पार्ने गरि हाछिउ गर्ने खोक्ने समस्यासंग जुध्नु पर्दैन । यहि कारणले नै सुधारिएको चुलो जडीत भान्साघरहरु स्वास्थ्यमैत्री बन्दै गएका हुन् । यसबाट गृहिणी तथा बालबालिकालाई धुँवाका कारण फोक्सो, आँखा, नाक, घाँटी लगायतमा लाग्ने रोगहरु न्यूनिकरण हुने भएकोछ ।
यस्तो स्वास्थ्यमैत्री भान्साघरहरु अहिलेसम्ममा पाँचथरमा ११ हजार सात सय १२ वटा बनेका छन् । यी सबै भान्साघरमा सुधारीएको चुलो जडान गरिएकोे नामसालिङ सामुदायिक विकास केन्द्र ( एनसिडिसी ) इलामका जैविक उर्जा इन्जिनीयर उदयविक्रम थापाले बताउनुभयोे । एनसिडिसीको आर्थिक तथा प्राविधिक सहयोगमा भान्साघरलाई स्वास्थ्यमैत्रि बनाउने चुलो जडान भइरहेको हो । स्थानीय सेवा प्रदायक नमुना युवा ल्कव रबि, जनजागरण तथा विकास मञ्च फाक्तेप, वैकल्पिक उर्जा तथा सुधारीएको चुल्हो सञ्जाल पाँचथर र अमरपुर विकास मञ्च अमरपुरले चुलो जडान गर्ने कार्यक्रम सञ्चालन गरी रहेकाछन् ।
एनसिडिसीको जानकारी अनुसार हाल पाँचथरको ४१ वटै गाविसमा सुधारिएको चुलो जडान भइरहेकोछ । जस मध्ये ओलनेमा सात सय ८३, फाक्तेपमा सात सय ७७, रानीटारमा पाँच सय ३०, याङनाममा पाँच सय २१, आङसराङमा चार सय ६९, भारपामा चार सय आठ र लुङरुपा गाबिसमा तीन सय १६ घरमा सुधारीएको चुलो बनेकोछ । उल्लेखित गाविसमा अन्य गाविसभन्दा बढी चुलो बनेका हुन् । यस्तोे चुलोले भान्साघरलाई स्वास्थ्यमैत्री बनाएको देखेपछि यसको माग बढिरहेको एनसिडीसि इलामका पाँचथर फिल्ड प्राविधिक इन्द्र गुरुङ बताउँनुहुन्छ । गाउँघरमा स्वास्थ्यमैत्री भान्साघरहरु बन्न थालेपछि स्थानीय जनजीवन पनि स्वच्छ र स्वस्थ बन्दै गएकोछ ।