बिभिन्न रोग को बारेमा छलफल !

Posted by Sura Health on |







मेरी आमा ४९ वर्षकी हुनुभयो । उहाँ विगत केही वर्षदेखि पिसाब चुहिने समस्याले हैरान हुनुहुन्छ । यो कस्तो समस्या हो र कसलाई देखाउँदा उचित होला ? कृपया बताइदिनुभए आभारी हुने थिएँ ।

पवित्रा निरौला, बुधबारे, झापा
 पवित्राजी, पिसाबथैलीको मुखमा पर्ने मांसपेशी थैलीको जस्तै मुजा परेर बनेको हुन्छ । अंग्रेजीमा यसलाई क्उष्लअतगचभ भनिन्छ । पिसाब चुहिने समस्या हुने कारण यही मांसपेशी क्षेत्र विक्षत हुनु वा घाइतेपन वा कमजोरी हुनु नै हो । बच्चा पाउँदा मांसपेशी च्यातिएर वा अन्य कारणले यो मांसपेशी ढिला, खुकुलो भई यस्तो हुन्छ । अथवा उमेरले गर्दा पनि यस्तो समस्या आउन सक्छ । अलि बढी उमेरमा पनि यदाकदा यस्तो समस्या भेटिने गर्छ । यो समस्याको उपचारका लागि युरो सर्जनलाई देखाउनुपर्छ । वीर अस्पताल वा शिक्षण अस्पतालमा युरोलोजी विभागमा आएर सम्पर्क गर्नुभएमा उचित सेवा पाउन सक्नुहुनेछ ।

मेडिटेसनले माइग्रेनलाई विनाऔषधि निको पारिदिन्छ भन्ने सुनिन्छ, के यो सत्य हो ?

विनय नेपाल, कटुञ्जे, भक्तपुर
विनयजी, मेडिटेसन अथवा ध्यानले धेरै समस्याको सामाधान गर्छ र स्वस्थ रहन पनि मद्दत गर्छ । कति जनालाई माइग्रेन टाउको दुःखाइमा पनि सहयोगी हुन्छ भन्ने कुरामा विश्वास गर्न सकिन्छ । तर कतिलाई ध्यानले नभएर औषधि सेवन नै गर्नुपर्ने पनि हुन्छ । जे होस्, के रोगी, के स्वस्थ, के माइग्रेन, के तनाव, के चिन्ता, के डर, सबैका लागि मेडिटेसन लाभदायक हुनाले नियमित यसको अभ्यास गर्नु राम्रो मानिन्छ ।

यौनसम्पर्क गर्नासाथ पानी पिउनुहुँदैन भन्ने सुनें । के यो सत्य हो ? यस अवस्थामा खानपिनको परहेज गर्नुपर्छ त ?

एक युवक, काठमाडौं
प्रश्नकर्ता युवक, तपाईंले सुनेको ठीक होइन । पानी पिउन नहुने भन्ने कुरै हुँदैन । खानपिन त सधैँ सन्तुलित हुनुपर्छ । सादा, नून र चिल्लो कम भएको खाना, फलफूल, सागपात खानु राम्रो हुन्छ ।

मेरो उमेर ४९ वर्ष भयो । गाडीमा लामो यात्रा गर्दा, कुर्सीमा बसिरहँदा, एकै ठाउँमा उभिइरहँदा मेरो खुट्टा असाध्यै पोल्ने गर्छ । किन यस्तो हुन्छ र यसको उपचार के होला ?

मधुसूदन शर्मा, बेंसीसहर, लमजुङ
शर्माजी, धेरै बेरसम्म खुट्टा त्यसरी एकै अवस्थामा राखिरहँदा रगतको सिञ्चन प्रक्रिया राम्रो नहुन सक्छ । अनि पोल्न सक्छ । त्यस्तै कति जनालाई त्यसै पनि खुट्टा पोल्ने समस्या हुन सक्छ । यसो हुनुमा रगतमा लवणको कमी, भिटामिनको कमी, अधिक थकावट, खुट्टाको रक्तसञ्चारमा कमी आदि धेरै कारण हुन सक्छन् । एकै अवस्थामा बसेको बेला समय–समयमा खुट्टा चलाउने गर्नुस् र भिटामिन ‘ई’ क्याप्सुल एक महिना खाएर हेर्नुस् । समस्या हराएर गएन भने एक पटक फिजिसियन भेटेर सल्लाह लिनुभएमा राम्रो हुनेछ ।
मलाई राति प्रायः निद्रा लाग्दैनथ्यो । अहिले परदेशमा आएपछि झनै निद्रा नलाग्ने भएको छ । उज्यालो हुने बेलामा एकछिन् निदाएको भरमा कसरी काम गर्नु ? मज्जाले निदाउने उपाय बताइदिनुभए आभारी हुनेथिएँ ।

विनोदकुमार राई, हाल ः मलेसिया
विनोदजी, निद्रा नलाग्ने समस्याले ग्रसित हुनुभएछ । त्यो राम्रो कदापि होइन । घरबाट टाढा हुनाले घर, परिवार, प्रियजन, हाम्रो आफ्नै परिवेश सम्झेर मनमा कुरा खेल्न थालेपछि यस्तो हुन सक्छ । यो मानसिक तनाव वा चिन्ताले गर्दा भएजस्तो लाग्यो । होइन भने मान्छेलाई निद्रा लाग्छ नै, नलाग्ने कुरै हुँदैन । त्यसमा पनि काम गरेर थाक्ने मान्छेको लागि सुत्नु अति आवश्यक छ । निदाउनको लागि प्राकृतिक उपायहरुको प्रयास गर्नुस् । सुत्ने बेलामा व्यवहार, परिवार वा समस्या नसम्झने, एउटै समयमा ओछ्यान जाने, अँध्यारो र शान्त कोठाको व्यवस्था गर्ने वा सुत्नको लागि मधुर खालको म्युजिक लगाउने, सुतेर एकदेखि गन्न थाल्ने, सुत्ने बेलामा कफी–चिया नपिउने, ध्यान बाहिर जान नदिने आदि साधारण उपायहरु अवलम्बन गर्न सकिन्छ । सबभन्दा मुख्य कुरा मनोगतरुपमा बलियो हुनुहोस् । मलेसिया आउनुको सार्थकतामा ढुक्क हुनुहोस् । परदेशको बसाइ अस्थायी र भविष्यको लागि हो भन्ने कुरा मनमा गुन्नुहोस् । यति गरेपछि निद्रा लागिहाल्ला, होइन भने र प्रयास सफल भएन भने त्यहीँको एक चिकित्सक भेटेर सबै कुरा राख्न नभुल्नुहोला ।

मैले उच्चरक्तचापको औषधि खाइरहेको छु । रक्तचाप पनि प्रायः ठिक्कै छ । शारीरिक रुपमा पनि ठीक छु । तर खेती–किसानी गर्ने क्रममा ५–१० मिनेट मात्रै शारीरिक परिश्रम गरे पनि खलखली पसिना ओइरिन्छ, आँखा नै तिरिमिरी हुन्छ, शिथिल भएर थचक्कै भुइँमा बस्नुपर्ने हुन्छ । उपचार के होला ?

हरिशरण थापा, आँबु खैरेनी, तनहुँ
थापाथी, तपाईंले रक्तचापको औषधि सेवन गरेको र रक्तचाप नियन्त्रणमै भएको भन्नुभयो, त्यो राम्रै भयो । तपाईंको समस्या या त काम गर्ने बानी नभएर देखिएको हो, जो काम गर्दै जाँदा समयसँगै सबै ठीक भएर जान्छ । या त तपाईंलाई कुनै अर्को समस्या देखा पर्यो अथवा खाएको औषधि तपाईंलाई फापेन । पहिलो समस्या भए त ठिक्कै भयो, केही समस्या भएन, आफैं दैनिक रुपमा सुधार हुँदै जान्छ । अरु दुवैको निदानको लागि तपाईं एक पटक चिकित्सक भेटेर परीक्षण–परामर्श गर्नुपर्यो । चिठी र प्रश्नबाट मात्रै निदान र उपचार गर्न सहज हुँदैन । त्यसको लागि नजिकको अस्पताल गएर मुटुरोग विशेषज्ञ वा फिजिसियन देखाएर परामर्श लिनको लागि सल्लाह दिन चाहन्छु ।

बिहे भएको एक वर्षपछि श्रीमान् विदेश जानुभयो । सँगै विदेश गएका श्रीमान्का साथीकी श्रीमतीसँग ख्यालठट्टा गर्दागर्दै उनकै लहै–लहैमा सेक्स टोय किन्न पुगियो । यसको प्रयोग आनन्ददायक भए पनि पछि श्रीमान्सँगको सहवासमा समस्या आउने हो कि भन्ने डर लागिरहेको छ । म के गरौं ? सल्लाहका लागि पत्र प्रेषित गरेकी छु ।

नाम गोप्य, काठमाडौं
नाम गोप्य राख्ने महिला मित्र, तपाईंको जिज्ञासाको उत्तर दिँदा भन्नै पर्ने हुन्छ कि यदि कृत्रिम परिवेशमा बानी मात्रै नभएर अभ्यस्त नै हुनुभयो भने प्राकृतिक कुरा फिक्का हुन सक्छ । होइन भने कताकति उपयोग गर्ने, मन अत्यन्तै लैजाने, घुमघाम, लेखपढ गर्ने, यौनजन्य चित्र, सिनेमा, कुराकानी सकेसम्म कम गर्ने गर्नुभयो भने साह्रै नकारात्मक प्रभाव नपर्ला । सबभन्दा मुख्य कुरा आफू व्यस्त हुनुपर्यो, जसले गर्दा अन्यथा सोच्ने फुर्सद नै मिल्दैन तपाईंलाई । नियन्त्रित तथा सन्तुलित उपयोगको सिद्धान्त अंगाल्नुभयो भने समस्या भएर जाँदैन । होइन सेक्सटोयको उपयोगविना खानै खाइँदैन, निद्रा नै लाग्दैन वा त्यसप्रति अश्रित नै हुन थालेमा त्यो समस्या हो । त्यसैले बच्नुस्, आफूलाई सुधार्नुस् ।

मलाई गर्मी मौसममा शरीरमा ठेउलाजस्तो केही डाबर आउने गरेको छ । चिलाउँछ र कन्याएपछि पोल्न थाल्छ । यो समस्या भएपछि सामान्य बडी लोसन लगाउने गरेको छु । केही दिनमा ठीक पनि हुन्छ । तर पछि फेरि यस्तै समस्या दोहोरिने गर्छ । गतवर्ष पनि यस्तै भएको थियो तर कहीँ जँचाइएन । यो कुनै एलर्जी हो कि ? के गर्दा सधैँका लागि ठीक होला ?

अर्जुनकुमार थापा, नारायणथान, काठमाडौं
थापाजी, तपाईंलाई गर्मीले गर्दा एलर्जी भएर वा गर्मीमा कीरा वा लामखुट्टेले टोकेर त्यस्तो भएको हुन सक्छ । कोहीको शरीरले गर्मी खप्न–सहन नसक्ने पनि हुन सक्छ । त्यसको लागि छालामा आउने डाबर वा बिबिराको प्रकृतिको हेरी कुन प्रकारको बिबिरा हो भनेर चिन्नुपर्छ । यत्ति लेखाइको भरमा यही नै हो भन्न सकिने अवस्था रहेन । एक पटक छाला रोग विशेषज्ञ भेटेर देखाउनुभएमा उचित परामर्श तथा सहयोग प्राप्त हुने थियो ।

म ३५ वर्षको भएँ । मेरो तौल ६७ किलो र उचाइ ५ फिट ४ इन्च छ । बिहान–बिहान हिँड्न सुरु गरेको छु । तर छिटो हिँड्न खोज्दा स्वाँ–स्वाँ हुन्छ, थकित हुन्छु र शरीर नै लर्खराउन पुग्छ । अनि कतै एकछिन् बसेर आराम गर्ने गरेको छु । मलाई किन यस्तो भएको होला र मैले बिहानको हिँडाइलाई कसरी सहज बनाउन सक्छु ? सल्लाह पाऊँ ।

गगन मैनाली ‘आकाश’, नयाँ ठिमी, भक्तपुर
आकाशजी, ३५ वर्षकै उमेरमा हिँड्न नसक्ने भन्नुभयो, त्यो राम्रो भएन । यो उमेरमा त पूरै हिँड्न सक्नुपर्ने हो । हिँड्ने बानी नभएर अथवा सुरु–सुरुमा भएर यस्तो भएको हो कि ? त्यसैले अलि–अलि हिँड्ने बानी पार्न थाल्नुस्, अलि–अलि गरेर गति तथा दूरी बढाउँदै लैजानुस् । सबै ठीक भएर जान्छ । तपाईंको ‘दम्भ’  बढ्दै जानेछ । होइन भने कि त मुटुको, कि त फोक्सोको समस्या हुन सक्छ । त्यो स्वास्थ्य परीक्षणपछि मात्र स्पष्ट हुँदै जानेछ । तपाईं काठमाडौंमै भएकोले एक पटक वीर अस्पताल वा शिक्षण अस्पतालमा गएर मुटु विभागमा परीक्षण गराउनुभएमा तपाईंको अवस्थाको निदान गर्न सहज हुनेथियो । त्यसपछि मात्र तपाईंले बिहानको हिँडाइलाई सहज बनाउन सक्नुहुनेछ ।

म २७ वर्षकी भएँ । मेरो देब्रे गालाको एकै ठाउँमा १०–१२ वटा रौं आएको छ । साह्रै लामो भएपछि कैंचीले काट्ने गरेकी छु । मेरो अनुहार सुन्दर भए पनि यो मामुली कुराले कुरुप भएजस्तो लाग्छ । यसलाई जरैदेखि हटाउने सरल उपाय बताइदिनुभए आभारी हुनेथिएँ ।
एक महिला, बनेपा, काभ्रे
प्रश्नकर्ता महिला मित्र, तपाईंको गालामा १०–१२ वटा रौं आएको सुन्दा दुःख लाग्यो । त्यो रौं जरैदेखि हटाउन त कस्मेटिक शल्यचिकित्सक नै भेट्नुपर्छ । बजारमा पाइने क्रिम वा ब्लेडले वा कैंचीले काट्दा त फेरि बढिहाल्छ । यसको लागि एक पटक प्लास्टिक सर्जन वा कस्मेटिक सर्जन भेट्नुहोला । उहाँहरुबाट उचित सहयोग पाउनुहुनेछ ।

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips