क लेख्न सिकेको ५ वर्षमा किताब लेखेँ – शान्ता चौधरी
Posted by Sura Health on |
कमलरी मुक्ति आन्दोलनकी अभियन्ता शान्ता चौधरी पूर्व सभासद् हुनुहुन्छ । १८ वर्षसम्म कमलरी बस्नुभएको उहाँले संघर्ष गर्दै संविधानसभासम्म पुग्न सफल हुनुभएको थियो ।
उहाँले अहिले आफ्नो अनुभव संगालेर अहिले किताब पनि लेख्नुभएको छ । उज्यालो अनलाईनकर्मी लक्ष्मण कार्कीसँग उहाँले आफ्नो संघर्षको कहानी यसरी सुनाउनुभयो ।
बाल्यकाल, किशोरी र बिबाह भएर आमा हुँदासम्म मेरो जीवन जमिन्दारको घरमा बित्यो । ८ बर्षको उमेरमा नै अरुको घरमा काम गर्न गएको थिएँ । जमिन्दारका छोराछोरी ८ वजेसम्म सुत्थे, मैले ४ बजेदेखि उठेर काम गर्नु पर्थ्यो ।
म भन्दा ठूला जमिन्दारका छोराछोरीलाई उनका बाआमाले कर गरेर खाना खुवाउँथे । म त्यति धेरै काम गर्थे तर पेटभरि खान पाउँदिनथे ।
जमिन्दारका छोराछोरीहरु बाआमाको काखमा लुटुपटु गर्थे, माया पाउँथे । म ज्वरो आयो, पेट दुख्यो भने आमाको याद आउँथ्यो । आमाले आएर टाउको समाइदिनुभयो भने पनि ठीक हुन्छ की जस्तो लाग्थ्यो । त्यतिखेर मलाई यस्तो दुख लाग्थ्यो । मलाई जन्म दिने भगवान र जमिन्दारका छोराछोरीलाई जन्म दिने भगवान नै छुट्टाछुट्टै हुन् कि जस्तो लाग्थ्यो ।
हनहन्ती ज्वरो आएको, पेट दुखेको बेला डाँको छोडेर रुन मन लाग्थ्यो, तर रुन नपाइने रोयो भने काम गर्न अल्छी मानेर रोएकी भन्ने हुन्थ्यो । रुन पर्दा मुखमा कपडा कोचेर रुन्थेँ । अहिले पनि ज्वरो आयो भने अथवा कसैको घरमा काम गर्दै गरेको बच्चा देखे भने पुरानै दिन सम्झिन्छु ।
यसरी कम्लरी भएँ
कमलरी भनेको नदेखिने गरी बेचिएको मान्छे हो । उनीहरुको कामको कुनै सीमा नै हुँदैन, मालिक मालिक्नीले जे भन्यो त्यही गर्नुपर्थ्यो । मलाई पहिलो पटक कमलरी राख्न बाआमाले बैना स्वरुप ५० रुपैयाँ पाएका थिए ।
मेरा अरु दिदीहरु पनि कमलरी बस्नुभएको थियो । ३/४ जनाको पैसा जम्मा पारेर चामल किनेर भात खाएका थियौं । हामीले चामलको भात खान चाडपर्व कुनुपर्थ्यो ।
अरु बेलामा कहिले मकै भुटेर खाने गर्थ्यौ । सुरु मा त म आज भात खान पाइने भयौं भनेर म खुशी भएँ । तर बेलुका जब आमाले फलानाको घरमा यो कमलरी बस्ने, फलानाको घरमा यो कमलरी बस्ने भन्दै जाँदा मेरो पनि नाम लिनुभयो ।
त्यतिबेला म झस्याङ्ग भएँ ला... म पनि कमलरी बस्नुपर्ने भयो भनेर । म बेस्सरी रोएँ । दिदीहरुले भोगेको पीडा देखेकाले म चाहिँ कमलरी बस्न जान्न भने । बरु भात नै खान्न तर म कमलरी बस्दिन भन्दा आमाले धेरै सम्झाउनुभयो ।
पहिलो दिन आमा नै जमिन्दारको घरमा पुर्याउन जानुभयो । आमाले ढोका ढक्ढकाउनुभयो । मालिक्नी झरिन्, मलाई ढोका खोलिदिएर फेरि सुत्न गइन् । आमा फर्केर जाँदा मलाई धेरैबेरसम्म हेर्नुभयो, मैले पनि हेरिरहेँ ।
मलाई आमाको भेट हुने त्यही नै अन्तिम हो भन्ने लाग्यो । अहिले पनि सम्झिँदा दुख लाग्छ । कसैले यो कुरा नकोट्याइदिए हुन्थ्यो जस्तो लाग्छ ।
कमैया र कमलरी प्रथा पहिलेदेखि नै थियो । कैलाली कञ्चनपुर बाँके बर्दिया दाङ जिल्लामा यो प्रथा धेरै छ । जमिन्दारका छोराछोरी काम गर्दैनथे, सुतिसुती खान्थे । म त्यतिधेरै काम गर्थे, तर भोकै म नै बस्नुपर्ने, गाली मैले नै खानुपर्ने ।
कमैयाहरुको श्रमको शोषण हुन्थ्यो । कमलरीको शारीरिक शोषण पनि हुन्थ्यो । म सँगैका केही कमलरी बहिनीहरु बलात्कृत हुनुभयो, उहाँहरु घरको न घाटको हुनुहुन्छ ।
म पहिलो पटक कमलरी बस्दा मेरो ज्याला वर्षको ७ सय रुपैयाँ थियो । त्यो ७ सय रुपैयाँ पनि कहिले एउटा घैटो फुटाएको नाममा काटिन्थ्यो । कचौरा, गिलास हराएको नाममा काटिन्थ्यो । सानो भन्दा सानो चिज हरायो भनेर ज्यालाको पैसा काटिदिन्थे । मेरो बा ले ५ सय रुपैयाँ लगेका छन् भने त्यसलाई ५ हजार रुपैयाँ बनाइदिन्थे ।
म बिद्रोही हुँदै गएँ
त्यतिखेरबाट हामीमाथि अन्याय भएको हो की जस्तो लाग्थ्यो । मेरो बिबाह भयो, मैले बच्चा जन्माए । म जसरी अन्याय र अत्याचार सहेर बसेको थिएँ, मेरो छोरी पनि कमलरी बन्ने भई भन्ने चिन्ता लाग्यो । मेरो छोरीलाई कसरी हुन्छ कमलरी बस्नबाट जोगाउनुपर्छ भन्ने लाग्यो ।
म ८ वर्षको उमेरदेखि लगातार १८ वर्ष कमलरी बसेँ २०६३ सालमा मुक्त भएँ । म जमिन्दारसँग बिद्रोह गरेर उसको घर छोडेर आफ्नै घरमा आएँ । कमैया कमलरीको जग्गा नहुने भएकाले हामी जंगलको छेउमा घर बनाएर बसेका थियौं ।
प्रहरी र जमिन्दार मिलेर कयौं पटक हाम्रो घरमा आगो लगाइदिए । मैले सुत्केरी भएको समयमा ५ दिन पानी मात्र खाएर बसेँ । दूध खुवाउन नपाएर मैले २० दिनको बच्चा गुमाउनुपर्यो ।
म कमलरीहरुलाई मुक्त घोषणा गराउँदै हिँडेको थिएँ । गाउँका मान्छेहरु मसँग कोही हिड्दैनथे । मसँग हिड्दा उनीहरुले गाली खानुपर्थ्यो पिटाइ खानुपर्थ्यो । कमलरीकै बाबुआमाले पनि मलाई हेर्ने दृष्टिकोण नै फरक । उनीहरुमा जमिन्दारको जमिन जोत्न नपाउने हो की, रोजीरोटी खोसिने हो की भन्ने चिन्ता थियो ।
मलाई कहिले खुकुरी लिएर थर्काउन आउने, मेरोविरुद्ध नाराजुलुस गर्ने । मेरो श्रीमान पनि सबै यसैले गर्दा हो भन्थे । बच्चाहरु पनि डराउँथे । त्यतिखेर मलाई बरु यस्तो बिद्रोह नगरेको भए कतै काम गरेर बच्चा पाल्न त सक्थे होला नि भन्ने जस्तो लाग्थ्यो ।
बच्चा गुमाएपछि म झन् बिद्रोही भएँ । त्यसैको कारणले होला अहिले सरकारले कमलरी मुक्त घोषणा गरेको छ । म खुशी छु ।
थाहा नपाइकनै राजनीतिमा प्रवेश
थाहा नपाउँदा नपाउँदै म राजनीतिमा आएँ । त्यो समाजमा राजनीति भन्ने नै थाहा हुँदैनथ्यो । न सञ्चार माध्यमबाट नजिक हुन्छौं, न राजनीतिक दलबाट नजिक हुन्छौं । तर फरक के भयो भने म भूमि अधिकारबाट वञ्चितहरुको आन्दोलनमा सहभागी भएँ । कमलरीको आवाज उठाउने म पहिलो महिला हो । कमैयाहरुको आवाज उठाउने धेरै हुनुहुन्छ ।
कमलरी मुक्तिको लागि म दाङमा बिभिन्न आन्दोलनमा हिँडे । धेरैजसो राजनीतिक दलका नेताहरुले चिने । हाम्रो कार्यक्रममा नेताहरु आउँथे । उनीहरुलाई किन बोलाएको होला म बुझ्दैनथेँ । साथीहरुलाई सोध्थेँ । हरेक समस्याको समाधान राजनीतिबाट हुन्छ त्यसैले बोलाएको भन्थे ।
संविधान सभाको चुनाव आइरहेको थियो । माओवादी, एमाले र अरु पार्टीहरुले पनि हाम्रो पार्टीमा आइदिनुपर्यो भनेका थिए । १८ वर्ष म काँग्रेसमा आस्था राख्ने मान्छेको घरमा कमलरी बसेको थिएँ । त्यसैले काँग्रेसमा लाग्ने कुरै भएन ।
पहिला माओवादी मन पर्थ्यो । धेरै पटक उनीहरुलाई खाना खुवाएँ । तर माओवादीले मान्छे मारेको देखेर घृणा लाग्यो । त्यहाँका स्थानीय एमाले नेताहरुले राम्रो ब्यबहार गर्नुहुन्थ्यो । म उहाँहरुबाट प्रभावित भएको थिएँ । त्यसबाट एमाले रोजेको ।
अनि सभासद् भएँ
सभासद् हुन्छु भनेर आन्दोलनमा लागेको पनि होइन । मलाई सभासद् भनेको के हो भन्ने पनि थाहा थिएन । कसैले माननीय भन्थे, कसैले सभासद् भन्थे, कसैले सांसद भन्थे । यो छुट्टाछुट्टै पद होला जस्तो लाग्थ्यो ।
सबै साथीहरुले अधिकार प्राप्तिका लागि हामी निर्णायक तहमा जानुपर्छ, मूल कानुन बन्दा हामी त्यो ठाउँमा गएनौं भने हाम्रो पक्षमा कसैले लख्दैनन् भने । त्यसपछि मैले उमेद्वारी दिएँ । तर सभासद् हुन्छु भन्ने लागेको थिएन तर पछि भएँ ।
सभासद् भएको खबर पहिला पटक पार्टी सचिव शंकर पोखरेलको बहिनीले फोन गरेर जानकारी दिनुभयो । मलाई पत्यार नै लागेन । अरु नै कोही शान्ता चौधरी हो की लाग्यो । फेरि पार्टी सचिव युवराज ज्ञवालीले फोन गर्नुभयो । तपाई माननीय हुनुभयो बधाई छ भन्नुभयो ।
माननीय भनेको के हो मलाई थाहा थिएन । अब के हुने हो, के गर्नुपर्ने हो भन्ने डर लागेजस्तो अफ्ठेरो लागेजस्तो भयो ।
भोलीपल्ट त जम्मैले अबिर लगाइदिन्छन्, माला लगाइदिन्छन्, यो भयो भन्ने अचम्म लाग्यो । बजार जाँदा पनि सबैले नमस्कार गर्थे । कस्तो लाज लाग्थ्यो । मान्छेले नदेख्ने ठाउँबाट बजारतिर जान्थे ।
घरमै हुँदा म शान्ता चौधरी नै हो जस्तो लाग्थ्यो, बाहिर निस्केर मान्छेहरुका सम्मान पाउँदा म अर्कै मान्छे भएँ की जस्तो लाग्थ्यो । तर यो मेरो जीवनको ब्यक्तिगत फरक हो ।
मैले यो चाहेको हैन । जुन समुदायको प्रतिनिधित्व गरेर संबिधानसभामा पुगेँ । त्यो समुदायको लागि अझै केही गर्न सकेको छैन कि जस्तो लाग्छ । हुनत ४ वर्षसम्म मैले धेरै मेहनत गरेँ । एक किसिमको खुशी चाहिँ लागेको छ । तर जति हुनुपर्ने हो त्यति भएको छैन ।
कमलरी समस्याको समाधान गर्न भित्री इच्छाशक्ति कसैमा देखिन मैले । पार्टीहरुको सिद्धान्त, बिचार नीति आफैमा राम्रा छन् । तर नेताहरुले राम्रो काम गरेनन् । सर्बहाराको मुक्तिका लागि लड्ने भन्ने बामपन्थी पार्टीहरु धेरै छन् ।
उनीहरुले चाहे भने धेरै सुधार हुन सक्छ । तर मैले यो ४ वर्षको बीचमा के देखे भने जनताको लागि भन्दा आफ्नो ब्यक्तिगत स्वार्थमा लागे नेताहरु । त्यही वर्गको नाममा प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराई प्रधानमन्त्री हुनुभयो । केही परिवर्तन हुन्छ भन्ने आश गर्दै गर्दा झन् डरलाग्दो अवस्था बन्दै गएको छ । यो बर्गको समस्या समाधान भयो भने कुन कुरालाई लिएर राजनीतिक गर्ने भन्ने चिन्ता पो हो की !
म प्राकृतिक श्रोत साधन समितिको सभापति थिएँ । भूमि अधिकारबाट वञ्चितहरुको समस्या समाधान गर्न पटक पटक बैठकमा छलफल चलाएँ । यो बर्गलाई अहिले पनि अरुले नराम्रो दृष्टिकोणबाट हेर्छन् । आवाज उठाइदिनेहरु पनि कम छन् । संबिधानसभामा महिलाले महिलाको बढी कुरा गर्ने, आदिवासीले आदिवासीको कुरा गर्ने । तर भूमि अधिकारबाट वञ्चित समुदायको कुरा कसैले नगर्ने ।
औठाछापे सभासद् के संविधान बनाउँछन् भन्थे । सधैभरि त्यो ठाउँमा पढेलेखेमा मान्छे मात्रै जाने हो भने गरिबले त पढेलेखेको हुँदैन, गरिबको कुरा पढेलेखेको मान्छेले कसरी बुझ्छ । त्यो ठाउँमा जुन बर्गका मान्छे छन्, त्यही बर्गको मात्र कुरा उठ्थ्यो ।
लेख्न त्यति सहज त हुँदैन । भर्खरै मात्र लेखपढ गर्न सिक्दै गरेको मान्छेलाई किताब लेख्नु भनेको सगरमाथा चढ्नु भन्दा गाह्रो कुरा हो । म सभासद् हुँदा मेरो बारेमा धेरै कुरा पत्रपत्रिकामा समाचार आए । मेरो बारेमा किताब लेख्छु भनेर स्वदेशी विदेशी धेरै आए ।
कतिपयले लेख्नुभयो पनि । तर मैले नै लेख्दा अझै धेरै कुराहरु लेख्न सक्छु की । म कुनै लेखे पढेको विद्वान साहित्यकार होइन । ४/५ वर्षअघि कखरा सिकेर अहिले किताब लेखेको मान्छे हो । त्यसैले किताबमा धेरै त्रुटीहरु पनि होला । तर जुन सुरुवात गरेको छु । त्यसले अरुलाई पनि प्रेरणा दिन्छ ।
जिन्दगी भनेकै संघर्ष
हरेक ब्यक्तिको जिन्दगी एउटा संघर्ष हो । मान्छेले जन्मेदेखि नै संघर्ष गर्न थाल्छ । कोही पढ्न डाक्टर हुन संघर्ष गर्छ कोही मन्त्री हुन संघर्ष गर्छ, कोही बाँच्नका लागि संघर्ष गर्छ ।
संघर्ष फरक फरक खालको हुन्छ । कमलरीले धेरै संघर्ष गर्नुपर्छ तर अहिलेको परिस्थिति र मेरो पालाको संघर्ष फरक हुन्छ । अहिले आवाज उठाइदिने मिडिया छ । सरकारले कमलरी मुक्तिको घोषणा गरेको छ ।
एनजिओ आइएनजिओले त्यही क्षेत्रमा काम गर्छ । हाम्रो पालामा त्यस्तो केही थिएन । अझ मेरो आमाको पालामा झन् ठूलो समस्या थियो । संघर्ष गर्दा अपमानित हुनुपर्ने अवस्था थियो ।
धेरैले मलाई कमलरी बसेर त्यो संघर्ष नभोगेको भए कमलरी नबसेको भए अहिलेको शान्ता चौधरी हुनुहुन्थ्यो त भनेर सोध्छन् । त्यो नहुन पनि सक्थ्यो । म कमलरी बस्दा जुन पीडा भोगेँ तर अब अर्को मान्छे शान्ता चौधरी जस्तै बन्नलाई चाहिँ कमलरी नै बस्नुपर्छ भन्ने छैन । त्यो पीडा म सभासद् हुनलाई भोगेको होइन । तर संयोग वा संघर्ष वा दुबैले साथ दिएको हुनसक्छ ।
मान्छेले देख्दा शान्ता चौधरी सभासद् भयो, किताब लेख्यो, समतिको सभापति भयो भनेर भन्छन्, त्यसका लागि कति पीडा भोगेँ होला । त्यो नौलो ठाउँमा कसैसँग चिनजान थिएन, क लेख्न जान्दिनथेँ । शान्ता लेख्न ५ मिनेट लाग्थ्यो । त्यस्तो अवस्थामा आएर समितिको सभापति भएर बैठक चलाउन सक्ने भएँ ।
संघर्ष बिना कुनै पनि सफलता मिल्न सक्दैन । अहिलेको अवस्थामा नेपाली नागरिकलाई अवसरको खाँचो छ । मान्छेले अवसर पायो भने केही गर्न सक्छ|
You can subscribe by e-mail to receive news updates and breaking stories.