छोरा वा छोरी, बन्छन् कसरी?
Posted by Sura Health on |
छोरा वा छोरी, बन्छन् कसरी?
स्याउ किन तल झर्छ भन्ने न्युटनलाई झक्झकाउने प्रश्न जस्तै सामान्य जनजीवनमा यो प्रश्न कमै मानिसको मनमा आउँछ होला। तर विज्ञानको भाषामा यो प्रश्नको उत्तरमा नै संसार र सारा प्राणी जगतको अस्तित्व अडेको छ। आज यही प्रश्न र यससँग सम्बन्धित केही स्वास्थ्य सम्बन्धि समस्याहरुका बारेमा चर्चा गर्दैछु।
माथिको प्रश्नको उत्तर दिनु अघि अर्को प्रश्नको उत्तर थाहा पाउनुपर्ने हुन्छ। मानिसले ठ्याक्कै मानिस नै कसरी जन्माउँछ अथवा कुनै पनि जीवले ठ्याक्कै त्यही जीव कसरी जन्माउँछ, जस्तै विरालोले विरालो नै, कुखुराले कुखुरा नै। सामान्यरुपमा सोच्दा यी बौलाहा प्रश्नहरु हुन् तर संसारका सम्पूर्ण जीवीत वस्तु (प्राणी वा वनस्पति)को आधार त्यसैमा अडेको छ। यसलाई प्रजनन शक्ति/ Reproduction भनिन्छ। र यसरी आफू जस्तै अर्को जीवनको शुरुवात गर्ने क्षमता क्रोमोजोम/Chromosome भन्ने कुरामा रहेको हुन्छ। हरेक जीवीत वस्तुको शरीरका कोषहरुमा एउटा निश्चित संख्याका क्रोमोजोमहरु रहेका हुन्छन्। यी क्रोमोजोमहरु जोडीमा मिलेर बसेका हुन्छन्। जस्तै हरेक सामान्य मानिसका कोषहरुमा ४६ वटा वा २३ जोडा क्रोमोजोमहरु हुन्छन्। त्यस्तै बिरालोको १९ जोडा, कुखुराको ३९ जोडा क्रोमोजोम हुन्छन्। तर फरक देखिनु क्रोमोजोम को सँख्यामा मात्र नभै त्यस्मा हुने जीनहरु/Genes मा पनि भर पर्छ।
क्रोमोजोमहरु हजारौ लाखौं जीनहरु मिलेर बनेका हुन्छन्, जसमा जीवीत वस्तुका विभिन्न गुणहरुका मेमोरी/memory (सम्झना) बसेको हुन्छ। आँखा कस्तो हुने, कपालको रंग कस्तो हुने, कतिको अग्लो हुने, छालाको रंग कस्तो हुने जस्ता विभिन्न गुणहरु यिनै क्रोमोजोममा भएका जीनहरुले निर्धारण गर्छन्। र यी जीनहरु बच्चाहरुले आमाबुवाबाट पाउने गर्छन्, त्यसैले त साधारणतया बच्चाहरुमा आमाबुवाका जस्ता शारिरीक गुणहरु देखिन्छन्।
मानिसमा हुने २३ जोडा क्रोमोजोमहरुमा २२ जोडा अटोजोम/Autosome र १ जोडा सेक्स क्रोमोजोम/Sex chromosome हुन्छन्। अटोजोममा शरीरका विभिन्न गुणहरुको सम्झना/ मेमोरी रहेको हुन्छ र त्यसैका आधारमा बच्चाको शरीरको निर्माण हुन्छ भने सेक्स क्रोमोजोममा मुख्यरुपमा बच्चाको लिङ निर्धारण गर्ने मेमोरी रहेको हुन्छ। महिलामा यो एक्स-एक्स/XX र पुरुषमा एक्स-वाई/XY रहेको हुन्छ।
यौनसम्पर्कको बेलामा पुरुषको वीर्य/Semen महिलाको योनीमार्गमा छोडिन्छ। वीर्यमा करोडौंको संख्यामा शुक्रकिटहरु/Spermatozoa हुन्छन्, जुन गएर महिलाको डिम्बाशय/Ovaryबाट निस्केको डिम्ब/Ovumसँग फेलोपियन ट्युव/Fallopian tubeमा मिल्छ। यसलाई फर्टिलाईजेसन/Fertilization वा डिम्ब निशेचन हुनु भनिन्छ। यही फर्टिलाइजेसन हुने बेलामा बन्ने नयाँ जाइगोट/Zygote वा नयाँ जीवन एक्स-एक्स/XX हुने वा एक्स-वाई/XY हुने भनेर फैसला हुन्छ र त्यहीबाट शुरु हुन्छ छोरा वा छोरीको जन्म हुने कथा।
शुक्रकिट/Spermatozoon र डिम्ब/Ovum भनेका के हुन्?
माथि भनिएजस्तै महिला र पुरुषका शरीरका कोषहरुमा भएका अटोजोमल क्रोमोजोमहरु एकै खालका हुन्छन् तर १ जोडा क्रोमोजोमहरु, जसलाई सेक्स क्रोमोजोम/Sex chromosomes भनिन्छ, तिनीहरु केही फरक हुन्छन्। महिलामा यो एक्स-एक्स/XX हुन्छ भने पुरुषमा एक्स-वाई/XY हुन्छ। यसैले नै मानिसको लिगं निर्धारण गर्ने काम गरेको हुन्छ।
पुरुषमा शुक्रकिट बन्ने बेलामा हुने मिओसिस प्रकृयामा बन्ने चारवटा शुक्रकिटहरुमा दुईटामा एक्स/X सेक्स क्रोमोजोम र बाँकी दुईटामा वाई/Y बस्न जान्छन्। महिलामा भने बन्ने एउटै डिम्बमा एक्स/X क्रोमोजोम बस्छ। फर्टिलाइजेसनको बेलामा यदी एक्स/X बोकेको शुक्रकिट र डिम्बको मिलन भएमा नयाँ कोष/जाइगोट/ एक्स-एक्स (XX) सेक्स क्रोमोजोम भएको बन्छ, जुन पछि गएर छोरी बन्छ। त्यस्तै वाई/Y बोकेको शुक्रकिट र डिम्बको मिलन भएमा एक्स-वाई(XY) सेक्स क्रोमोजोम भएको जाइगोट बन्छ, जसबाट छोराको जन्म हुन्छ।
यो त भयो क्रोमोजोमल सेक्स/Chromosomal sex को कुरा। अर्को हुन्छ, बाहिरबाट देखिने शारीरिक रुपमा महिला वा पुरुष भन्ने कुरा।
वाई/Y क्रोमोजोम हुदैंमा बच्चाको कसरी पुरुषको प्रजनन अंगको र नहुदैंमा कसरी महिलाको प्रजनन अंगको विकास हुन्छ?
यसमा वाई/Y क्रोमोजोममा भएका जीनहरुले काम गर्छन्। भ्रुणमा प्रजनन अंगहरु बन्नको लागि मुलेरियन डक्ट/Mullerian Duct/Paramesonephric Duct र वुल्फियन डक्ट/Wollfian duct/Mesonephric Duct गरी २ प्रकारका नलीहरु हुन्छन्। मुलेरियन डक्टबाट महिलाको भित्री प्रजनन अंगहरु जस्तै फेलोपियन ट्युव, पाठेघर, योनीको भित्री भाग आदी बन्छ भने वुल्फियन डक्टबाट पुरुषको भित्री प्रजनन अंगहरु जस्तै इपीडिडाइमिस/Epididymis, भास डिफरेन्स/Vas deferens आदी भागहरु बन्छन्। डिम्बाशय र अण्डकोष भने अर्कै भागबाट बन्ने गर्छ।
वाई/Y क्रोमोजोमको जीनले बनाउने टेस्टिस डिटरमाइनिगं फ्याक्टर/Testes Determing Factor/टिडिएफ (TDF) ले भ्रुणमा अण्डकोष बनाउने गर्छ, जुन बनेपछि पुरुष हर्मोन टेस्टोसटेरोन/Testosterone, डिएचटी/DHT, मुलेरियन इन्हीबिटिगं फ्याक्टर/Mullerian Inhibiting Factor/एमआईएफ(MIF) उत्पादन गर्छ। यी हर्मोनहरुले मुलेरियन डक्टको विकासलाई रोक्छ र वुल्फियन डक्टको विकासलाई सहयोग गर्छ, जसले गर्दा भ्रुणमा पुरुष प्रजनन अंगहरुको विकास हुनगई बच्चा पूर्णरुपमा छोराको रुपमा जन्म लिन्छ। र यदी वाई/Y क्रोमोजोम छैन भने मुलेरियन डक्टको विकास हुनगई भ्रुण छोरीको रुपमा विकसित हुन्छ।
यो त सामान्य अवस्थामा भ्रुण छोरा वा छोरी बन्ने प्रकृया भयो।
यदी यसमा केही गडबडी भयो भने के हुन्छ?
जस्तै फर्टिलाइजेसन हुँदा एक्स-ओ/XO भएमा अर्थात डिम्ब वा शुक्रकिट कुनै एक सेक्स क्रोमोजोम नै नभएको परेमा के हुन्छ? अथवा एक्स-एक्स-वाई/XXY अर्थात एउटा एक्स क्रोमोजोम बढी भएमा के हुन्छ? त्यस्तै फर्टिलाइजेसन त एक्स-वाई/XY को रुपमा भयो अर्थात क्रोमोजोमल सेक्स पुरुषको तर शारीरिक विकास महिलाको रुपमा हुनसक्छ कि सक्दैन?
स्रोत :स्वस्थय नेपाल .






You can subscribe by e-mail to receive news updates and breaking stories.