'बर्डफ्लु’ पुष्टि भए पनि कुखुरा नष्ट भएन
Posted by Sura Health on |


काठमाडौ, श्रावण १७ - सरकारले बर्डफ्लु भाइरस पुष्टि भएका सबै र्फमको कुखुरा नष्ट गर्न सकेको छैन । प्रयोगशालामा नमुना परीक्षण गर्दा भक्तपुरका पाँच र्फमको कुखुरामा बर्डफ्लु पुष्टि भएकामा बुधबारसम्म दुईवटा र्फमको कुखुरा मात्रै नष्ट गरेको छ ।
पर्याप्त जनशक्ति नभएको भन्दै तीन र्फमको कुखुरा नष्ट नगरिएको हो । पाँचमध्ये तीनवटा र्फम एउटै व्यक्तिको हो । पाँच र्फमका ३३ हजारभन्दा बढी कुखुरा नष्ट गर्न ज्यालादारीमा २२ कामदार परिचालित छन् ।
रोगी कुखुरा नष्ट नगर्दा व्यापारीले बिक्री गर्ने सम्भावना कायमै छ । मंगलबार राति भक्तपुरको बिरामी कुखुरा काभ्रे लैजाँदै गर्दा प्रहरीले बनेपाबाट नियन्त्रणमा लिएको थियो ।
केन्द्रीय पशुरोग अन्वेषण प्रयोगशालाले मंगलबार भक्तपुर बागेश्वरीका कृष्णराम छुस्याबाग, भक्तपुर नगरपालिका-२ का विमल धिमसु र जगातीका बलराम किसीको र्फममा बर्डफ्लु भाइरस पुष्टि गरेको थियो । तर, बुधबारसम्म धिमसु र किसीको सिपाडोलको र्फमको कुखुरा मात्रै नष्ट गरिएको छ ।
पशु सेवा कार्यालयका अनुसार दुई र्फमबाट करिब ११ हजार कुखुरा नष्ट गरिएको छ । धिमसुको र्फमबाट ५ हजार ५ सय २० कुखुरा, ८ सय ५० किलो दाना र किसीको र्फमको ५ हजार ७ सय ४० कुखुरा, १६ हजार ५ सय ९० अन्डा र एक किलो दाना नष्ट गरेको जिल्ला पशु कार्यालय भक्तपुरका प्रमुख खगेन्द्र भट्टले जनाए । धिमसुको र्फमको कुखुरा मंगलबार राति र किसीको बुधबार दिउँसो नष्ट गरिएको हो । किसीको नंखेल-२ को दुई र्फमको करिब १३ हजार र छुस्याबागको ४ हजार संक्रमित कुखुरा अझै खोरमै छ ।
मानव स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने भाइरस भए पनि सरकारले गम्भीर रूपमा नलिएको पशु चिकित्सक डा. शरदसिंह यादवले बताए । 'अहिले पन्छीमा मात्रै देखिएको छ । पुष्टि भएर पनि बेलैमा नष्ट नगरी ढिलासुस्ती गर्ने हो भने मानिसमा देखा नपर्ला भन्न सकिँदैन,' उनले भने, 'यो घटनाले बर्डफ्लु नियन्त्रणमा सरकार गम्भीर नभएको पुष्टि हुन्छ ।'
सरकारले एच फाइभ एन वान भाइरस देखिएको र्फमको कुखुरा मात्रै नष्ट गरेको छ । तर, एच वान एन नाइन देखिएको र्फमको कुखुरा नष्ट गरेको छैन । ललितपुर र भक्तपुरको नमुना परीक्षणको क्रममा एच वान एन नाइन भाइरस पनि देखिएको छ । ललितपुरको हरिसिद्धिस्थित लोकल कुखुरा पालन गर्दै आएका भरत घिमिरेले चार दिनमा २ सयभन्दा बढी कुखुरा मरे पनि सरकारले नष्ट गर्न कुनै चासो नदिएको बताए । 'मेरो खोरको कुखुरा परीक्षण गर्दा बर्डफ्लुको भाइरस -एच नाइन) देखियो तर नष्ट गर्न कुनै चासो देखाएको छैन,' उनले भने, 'मानव स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने रोग लागेको थाहा हुँदा पनि सरकारी निकाय सिरियस देखिनँ ।'
लाखांै लगानी गरेका ठूला व्यवसायीले भने आफ्नो लगानी जोगाउन सरकारी निकायलाई जानकारी नदिई धमाधम रोगी कुखुरा बिक्री गरिरहेका छन् ।
व्यवसायीको लापरबाहीले भक्तपुर बर्डफ्लुको उच्च जोखिममा परेको हो । मरेको कुखुरा परीक्षण गर्दा बर्डफ्लु भएको पुष्टि भए लगानी डुब्ने डरले सरकारी निकायलाई जानकारी नगराई मरेको कुखुरा आफूखुसी गाडेका थिए । भक्तपुरमा एकपछि अर्को गर्दै सबैजसो र्फममा बर्डफ्लु फैलिन थालेको छ ।
You can subscribe by e-mail to receive news updates and breaking stories.