थाहै नपाइने रोग |
Posted by Sura Health on |
नशा तथा मानसिक रोग विशेषज्ञ, चितवन मेडिकल कलेज /
३५ वर्षीया कल्पना कसैसँग बोल्दिनन् । एकै ठाउँमा बसेर टोलाउँछिन् । उनका श्रीमान् दिनहँु रक्सी पिउँछन् । २ हप्ता अघि घरमा ठूलो झगडा पनि भयो । बिना गल्ती श्रीमान्ले परपुरुषसंग हिँडेको आरोप लगाएपछि उनको यो हाल भएको रहेछ । श्रीमान्को आरोपपछि कम बोल्न थालेकी उनले विस्तारै बोल्नै वन्द गरिन्, केवल आँखाभरी आँसु लिएर बस्छिन् । कल्पनामा देखिएको यो लक्षण डिप्रेसनको हो ।
डिप्रेसन जिवनकालमा पुरुषमा १५ र महिलामा २५ प्रतिशतसम्म हुने विश्व स्वस्थ्य संगठनले जनाएको छ । यसका बिरामीलाई अनेक रोग लागेको भान हुन्छ । यो समस्या भएकाले पटक– पटक जचाउँदा पनि कुनै रोग भेटिन्न । यस्तो समस्या भएका केहीले मनको पिडा सहन नसकी आत्महत्यासम्म गर्छन् । डिप्रेसन हुँदा एकै पटक धेरै लक्षण देखिन्छन् ।
नेपालमा पारिवारिक कलह, काममा असफलता, श्रीमान्को विदेश बसाइँ, प्रेममा वियोग, आफन्तको मृत्यु, व्यापारमा नोक्सानी, जागिर जानु, बाल्यअवस्थामा आमाबाबुबाट टाढा रहनु र राजनीतिक असन्तुलनलगायतका कारणले डिप्रेसन भएको पाइन्छ । डिप्रेसनका कतिपय बिरामी राती निदाउँदैनन् । उनीहरू आत्तिने खालका सपना देख्छन् । धेरैजसो आफूलाई असफल ठान्छन् र भविष्यप्रति निराशावादी हुन्छन् । कोही यौनक्रियामा कमी भयो भन्दै डाक्टरकहाँ आउँछन् । डिप्रेसन विभिन्न प्रकारका हुन्छन् । यो रोग यकिन गर्न यस्ता लक्षणहरू कम्तीमा २ साता रहनुपर्छ । महिलामा यो समस्या बढी देखिने गरेको पाइन्छ । खास कारण एकिन नभएपनि उनीहरूमा सहन सक्ने क्षमता कम हुने भएकाले यो समस्या बढी हुने गरेको अनुमान छ ।
डिप्रेसनका बिरामी नेपालमा धेरै छन् । कतिपयलाई सुरुमा बेलुकी पख टाउको दुख्ने, कुराहरू बिर्सने, आत्मबल घट्ने, आत्तिएको महसुस गर्ने, दुःख परेको मानिस देख्दा मन थाम्न नसक्ने हुन्छ । यो समस्याका कारण कतिपय बिरामी घाँटीमा केही अड्कियो भन्छन्, आफूलाई क्यान्सर भयो भनी रुन्छन्, मर्ने भइयो भनेर आत्तिन्छन् र परिवारको बारेमा कुनै चिन्ता लिँदैनन् । उनीहरूले सामान्य कुरामा पनि मन थाम्न सक्दैनन् । जस्तै– सडकमा बिरामी वा मरेको मानिस देख्दा आत्तिने र चिन्तित हुने गर्छन् ।
एउटै घटनालाई आधारमानी सधैं त्यसमा अनावश्यक विवाद गर्छन् । जस्तै– परिक्षमा एक पटक असफल भएमा अब सधंै फेल भइन्छ भनी आतिन्छन्, जुन गलत हो । कतिपय नकारात्मक सोचाइबाट पिडित हुन्छन् । मनमा यस्तो सोच्दिन भने पनि यस्ता बिरामीमा त्यस्तो सोचाइ आउँछ, जसले उनीहरू छट्पटिन्छन् । यस्ता बिरामीको मस्तिष्क परीक्षण, सिटी स्क्यान, एमआरआई गर्दा कुनै खराबी देखिदैन । तर अत्यन्त शूक्ष्म परीक्षण मानिने न्यूरोट्रान्समिटर गर्दा भने मस्तिष्कमा सेरोटोनिन तथा नरइपिनेफ्रिनभन्ने तत्व घटेको देखिन्छ । समुदायका ५ प्रतिशत मानिस डिप्रेसन रोगबाट पिडित छन् । पहिचान गर्न नसकिने भएकाले उनीहरूले उपचार गर्न पाएका हुँदैनन् ।
लक्षणहरू
- रुन मन लाग्ने
- निराश हुने
- एक्लै बस्न रुचाउने
- झर्को लाग्ने
- दिक्क मान्ने
- बोल्न मन नलाग्ने
- छटपटी हने
- हातगोडा झम झम गर्ने
- पैतला र तालु पोल्ने
- मुख सुक्ने
- आत्मग्लानी हुने
- नकारात्मक सोचाई रहने
- निद्रा कम पर्ने
- खानामा रुचि नहुने
- यौन सम्पर्कमा रुचि नहुने
- आफूलाई निकम्मा सम्झने
- मर्न पाए हुन्थ्यो भन्ने
- बारम्बार रुने
- शंका लाग्ने
- कानमा आवाज आउने
डिप्रेशनका प्रकार
न्यूरोटिक डिप्रेसन
यस्ता बिरामीहरू मलाई कस्तो रोग लाग्यो भनी चिन्ता गर्छन् ।
साइकोटिक डिप्रेसन
यस्ता बिरामीहरू अरू मानिसदेखि शंका गर्छन् ।
सेनाइल डिप्रेसन
बुढेसकालमा देखिने डिप्रेसनलाई सेनाइल डिप्रेसन भनिन्छ । यस्ता बिरामीले प्रायः आत्महत्या गर्ने डर हुन्छ । उनीहरू एक्लै बोल्ने, एक्लैे हाँस्ने पनि गर्न सक्छन् । डिप्रेसन स्टूपर
यस्ता बिरामी अत्यन्त नचली र नबोलि बस्छन् । कोही आँसु बगाउँछन् ।
एजिटेटेड डिप्रेसन
यस्ता बिरामी अत्यन्त छटपटी गर्छन् । एक ठाउँमा बस्न सक्देैनन् । आत्तिने र अस्थिर मनस्थिती भएका हुन्छन् ।
रेटाडेड डिप्रेसन
यस्ता बिरामीहरू कम बोल्छन् र टोलाउने गर्छन् ।
बच्चामा देखिने डिप्रेसन
बच्चामा दखिने डिप्रेसन केही फरक हुन्छ । पेट दुख्ने, टाउको दुख्ने, रिसाउने, पढ्न नजाने आदि लक्षण देखिन्छ ।
वयस्कमा देखिने डिप्रेसन
यस्ता बिरामी अनेक शारीरिक लक्षण लिइ पटक पटक डाक्टरकहाँ धाउँछन् ।
जाडो महिनामा देखिने डिपे्रसन
केही डिप्रेसन जाडो महिनामा मात्र देखा पर्छ । रात लामो हुनाले ‘मेलाटोनिन’ भनिने हर्मोन गडबडी हुँदा यो देखिन्छ ।
दोहोरिएको डिप्रेसन
आधा जसोलाई डिपे्रसन दोहोरिने सम्भावना हुन्छ । औषधि छुटाउनाले, घरायसी वातावरण राम्रो नहुनाले र कहिलेकाँही औषधि सेवन गर्दा गदै पनि यस्तो हुन्छ ।
You can subscribe by e-mail to receive news updates and breaking stories.