जोर्नी खिईने बाथ (ओस्टीओ आरथ्राइटिस)
Posted by Sura Health on |
डा. बुद्धि पौड्याल:
- जोर्नी खिईने बाथ (ओस्टियो आरथ्राइटिस) बढ्दो उमेरसँगै देखिने जोर्नी दुखाईको एक प्रमुख कारण हो । उमेर बढदै जाँदा जोर्नीमा रहेको कुरकुरे हाड खिइएर नष्ट हुने हुनाले यस्तो समस्या उत्पन्न हुन्छ । तर यसो भन्दैमा सबैमा यो समस्या देखिदैन किनभने यसमा उमेरको प्रभाव बाहेक मानिसको बंशाणुगत गुण, मोटोपन र पेशाले पनि असर पारेको हुन्छ । यसको साथै जोर्नीका कुनैपनि समस्या -अरु प्रकारका बाथ, सक्रमण, चोटपटक) वाट पनि जोर्नी खिईने बाथ हुनसक्छ । यस्तो बाथले मुख्यतः घुँडा गर्दन तथा कम्मरको मेरुदण्ड, हातका औलाहरु र नितम्व -हिप) को जोर्नीमा असर पार्दछ । यो रोग पुरुषको तुलनामा महिला -विशेष गरी मोटा) हरुमा बढी भएको पाइएको छ । नेपालमा धेरै मानिसलाई यो समस्या भएको सहजै अनुमान गर्न सकिन्छ ।
जोर्नी खिईने बाथमा के हुन्छ
माथिका बिभिन्न असरहरुले गर्दा जोर्नीमा रहेका मुख्य हाडहरुलाई ढाक्ने कुरकुरे हाड खिईदै जान्छ र अन्तत पूर्ण रुपले नष्ट हुन्छ । कसैकसैमा जोर्नीमा सुजन पनि हुनसक्छ । समय वित्दै जाँदा जोर्नी चिप्लो पार्ने रसायनको मात्रा घट्न गई जोर्नीका हाडहरु एक आपसमा रगडिन्छन र हिड्दा, चलाउँदा दुख्ने गर्दछन् ।
जोर्नी खिईने बाथका लक्षणहरु
यो रोगको मुख्य लक्षण विभिन्न जोर्नी दुख्नु हो जुन हातखुट्टा चलाउँदा, हिड्दा वा कुनै काम गर्दा बढ्दछ र केही बेरको आराम पछि विस्तारै घट्दै जान्छ । जोर्नी खिईने क्रम बढ्दै जांदा कम भन्दा कम चलखेलले र पछि गएर त्यतिकै बसिरहँदा र राती सुत्दा समेत दुख्ने गर्छ । धेरै बिरामीहरुले पानी पर्दा, आकाशमा बादल लागेको बेलामा र वायूमण्डलको चापमा घटबढ भएको समयमा जोर्नी धेरै दुख्ने गरेको कुरा बताउने गरेका छन् । घुँडाको बाथ भएका - बिरामीहरुलाई घुँडा खुम्च्याउँदा, पलेटी मारेर बस्दा, घुँडा टेकेर बस्दा भर्याङमा तलमाथि गर्दा तथा गाँउबेसीमा उकाली ओराली गर्दा बढी दुख्ने र गोडा पसारेर बस्दा दुखाई केही कम हुने गर्दछ । हातका औंलाहरुमा यो बाथले गर्दा बिभिन्न गिर्खाहरु आउने तथा बुढी औलाको फेदीमा दुख्ने हुनसक्छ । नितम्वको जोर्नीमा असर परेमा हिडदा काछमा दुख्ने हुन्छ । त्यस्तै गर्दन तथा कम्मरको मेरुदण्डको कुरकुरे हाड खिईदै जांदा ढाड दुख्ने र कहिलेकाहि स्नायुका नशाहरु च्यापिन गई हातगोडामा झमझम गर्ने, पोल्ने हुनसक्छ ।
रोगको निदान
जोर्नी खिईने बाथको निदान मुख्यत विरामीका लक्षण र एक्स-रे जाँचको आधारमा गरिन्छ । धेरै विरामीहरुमा भने जोर्नीको दुखाइ र एक्स-रेमा तादाम्त्य नहुन सक्छ जस्तो कि एक्स-रेमा धेरै खिइएको देखिए पनि दुखाई भने पटक्कै नहुन सक्छ ।
उपचार
जोर्नी खिईने बाथ सामान्यतया निको नहुने र समय बित्दै जाँदा बढ्दै जाने रोग हो । तैपनि विभिन्न उपचार -जस्तैः औषधी, घरेलु प्रविधि र जोर्नीको कसरत)बाट दुखाई कम गर्न, विरामीको कार्य क्षमतामा ह्रास हुनबाट जोगाउन र जोर्नी खिइने क्रमलाई बढ्नबाट रोक्न सकिन्छ । धेरै दुखेका र सुन्निएका जोर्नीहरुलाई आरामको जरुरत पर्दछ । तर धेरै समयसम्म नचलाई बस्दा जोर्नी जाम हुन सक्ने भएकोले एक दुइ दिनको आराम पछि नै चलाउन थाल्नुपदछ । घुँडा दुख्ने विरामीले घुँडा खुम्च्याएर बस्ने, पलेटी मार्ने र घुंडा टेक्ने नगरी सकेसम्म घुंडा पसारेर बस्ने गर्नुपर्दछ । त्यस्तै भर्याङमा वा उकालो ओरालोमा धेरै तलमाथि गर्नुहुंदैन तर सम्म मैदानमा भने हिड्न सकिन्छ ।
मोटोपनले घुँडा र नितम्वको जोर्नी खिईने प्रकृया बढाउने भएकोले आफ्नो तौलमा नियत्रंण गर्नु जरुरी छ । वजन घट्दा जोर्नीको दुखाई पनि कम हुनजान्छ । शारीरिक व्यायामले शरीरलाई तन्दरुस्त राख्छ, जोर्नी जाम हुनबाट जोगाउँछ, साथै जोर्नी वरिपरिका मांशपेशीलाई बलियो बनाई जोर्नीलाई स्वस्थ्य राख्न मद्धत गर्दछ । नियमित कसरत गर्ने बाथका बिरामीहरुमा कसरत नगर्ने विरामीहरुको तुलनामा दुखाई कम भएको र कार्यक्षमता बढी भएको पाइएको छ । सामान्य हिड्ने डुल्ने, र्साईकल, चलाउने पौडी खेल्ने बाहेक जोर्नीको चाल बढाउने -जस्तै खुम्च्याएर तन्काउने) र जोर्नी वरिपरिको मांशपेशी बलियो बनाउने कसरतहरु गर्न सकिन्छ । तर उचित तरीकाले व्यायाम नगरेको खण्डमा दुखाई अझ बढ्न सक्ने भएकोले चिकित्सक वा फिजियोथेरापिष्ट सँग यस सम्बन्धमा सल्लाह लिएर मात्रै व्यायाम गर्नु पर्छ ।
बाक्लो तलुवा भएको जुत्ताले घुँडा तथा खुट्टाका जोर्नीमा भार कम गरी दुखाई घटाउन सहयोग गर्दछ । धेरै दुखेका जोर्नीलाई काम्रोको प्रयोग गरी आराम दिन सकिन्छ । त्यस्तै कम्मरमा पटुका वा बाक्लो पेटी वाँधेर र गर्दनमा कोलार लगाएर ती भागको दुखाई कम गर्न सकिन्छ । हिड्न सहयोग गर्ने लौरो, वाकर आदिको प्रयोगले पनि घुडा तथा नितम्वको जोर्नीमा भार घर्टाई दुखाई कम गर्न सकिन्छ । तातोपानी वा तातो बस्तुले सेकेर धेरैले जोर्नीको दुखाई र अर्रोपना कम गर्ने गरेका छन् । त्यस्तै कसैकसैमा चिसो पानी वा वरफले सेकेर पनि जोर्नीको दुखाई कम गर्ने गरेको अनुभव छ । बाथका किरामीहरुले स्वस्थ्य एवं सन्तुलित भोजन खाने गर्नुपर्दछ । खानेकुराले यो बाथ बढाउने सम्भावना नगण्य हुन्छ । कुनै खानेकुराले जोर्नी खिईने बाथ घटाउने वा कम गर्ने भन्ने कुरा आजसम्मको अध्ययनबाट प्रमाणित भएको छैन । तर यदि कसैले कुनै खानेकुराले जोर्नीको दुखाईबढाएको अनुभव गर्नुभएको छ - भने त्यसलाई परहेज गर्नु एवं आफ्नो डाक्टरसंग सल्लाह गर्नु जरुरी छ ।
जोर्नी खिईने बाथमा दुखाई कम गर्न चिकित्सकको परामर्शमा आफ्नो रोग सुहाउँदो बिभिन्न किसिमका पेनकिलर औषधिको प्रयोग गर्न सकिन्छ । धेरै बिरामीहरुमा शुरुको अवस्थाको दुखाई कम गर्न सिटामोल भरपर्दो औषधि हो तर रोग बढ्दै गएपछि दुखाई पनि बढ्दै जान्छ र अन्य औषधिको पनि आवश्यकता पर्न सक्दछ । कसैकसैमा जोर्नीमै सूइ दिएर पनि दुखाई र सुजन कम गर्न सकिन्छ । रोग धेरै छिप्पिसकेको अवस्थामा घुँडा, नितम्व जस्ता जोर्नीको प्रत्यारोपण गर्ने प्रविधि पनि अहिले विकास भइसकेको छ । कुनै पनि दीर्घरोगको उपचारमा चिकित्सकको मात्र नभएर विरामीको सहभागिता पनि उत्तिकै महत्वपूर्ण हुन्छ । यसो भएमा मात्र रोग र उपचारसंग सम्वन्धित समस्या प्रभावकारी ढङ्गले हल गर्न सकिन्छ । यर्सथ हरेक बाथका विरामीले आफ्नो रोग के हो यसका जटिलताहरु के हुन सक्छन्, तथा औषधिका हानिकारक असरहरु के हुन् र कसरी जोगिने भन्ने सम्बन्धमा आफ्नो चिकित्सकसंग राम्ररी बुझ्नु जरुरी हुन्छ ।
डा. बुद्धि पौड्याल
(लेखक र्यूमटोलोजीमा विशेषज्ञ हुन)
You can subscribe by e-mail to receive news updates and breaking stories.