हेपाटाइटिस अर्थात् स्लो पोइजन |

Posted by Sura Health on |







विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार हेपाटाइटिसले वर्षेनि करोडौं व्यक्ति प्रभावित हुनुका साथै १४ लाखको मृत्यु हुने गरेको छ ।

हेपाटाइटिस एउटा भाइरल संक्रमण हो । कलेजो सुन्निन थालेपछि यो समस्या देखिन थाल्छ । यो रोगको सुरुआती लक्षण निकै कम देखिन्छ वा त्यस्तो लक्षण नदेखिन पनि सक्छ ।

जब यो रोग ६ महिनाभन्दा कम समयसम्म रहन्छ भने यसलाई एक्युट -घातक)  र यसभन्दा बढी समयसम्म रहँदा यसलाई क्रोनिक -दीर्घकालीन) भनिन्छ ।

भाइरल हेपाटाइटिसको ए, बी, सी, डी र ई गरी पाँच श्रेणी छन् । यी पाँचै हेपाटाइटिसले कलेजोमा एक्युट वा क्रोनिक संक्रमण र सुन्नाइ उत्पन्न गर्न सक्छ जसले सिरोसिस वा कलेजोका क्यान्सर हुन सक्छ ।

हेपाटाइटिस ए र ई

बोलचालको भाषामा जन्डिस भनिने हेपाटाइटिस 'ए' र 'ई'को संक्रमण दूषित पानी र खाद्यपदार्थका माध्यमले हुने गर्छ । यसमा छाला र आँखाको सेतो खण्डमा पहेंलोपना, पिसाब पहेंलो हुनु, खैरो दिसा आदि लक्षण देखिने गरिन्छ ।

डब्लूएचओको अनुसार हेपाटाइटिस 'ए' र 'ई' को पानी र खाद्यपदार्थको स्वच्छताले गर्दा संक्रमण हुने भएकोले रोगबाट बाँच्न यसलाई नियन्त्रण गर्नु महत्त्वपूर्ण छ । यो संक्रमण अपर्याप्त पानीको सप्लाईसँगै नराम्रो स्वच्छता र सरसफाइको अभाव रहेको ठाउँ सम्बद्घ छ ।

'हेपाटाइटिस 'ए' र 'ई', भाइरसद्वारा हुने संक्रमण हो र आफैं निको हुन्छ,' वीर अस्पताल लिभर युनिटका प्रमुख डीएम हेपाटोलोजीका संयोजक प्रा.डा.अनीलकुमार मिश्र भन्छन्, 'यो संक्रमण भएको समयमा रोगसँग लड्न शरीरलाई पोषक तत्त्व चाहिन्छ, जसले निको हुन सघाउँछ ।' यो ज्यानै जाने खालको रोग भने होइन ।

करिब ८० प्रतिशत वयस्कहरूमा हेपाटाइटिस 'ई' र १० वर्षमुनिका करिब ८० प्रतिशत बालबालिका हेपाटाइटिस 'ए' बाट संक्रमति हुने गरेका छन् । तर प्रवासी जनसंख्यामा भने १० वर्षभन्दा माथिको र वयस्कमा समेत हेपाटाइटिस 'ए' देखिन सक्ने प्रा.डा. मिश्र बताउँछन् । हेपाटाइटिस ए र ईमा आँखा र छाला पहेलो हुनु -जन्डिस), थकाइ लाग्नु, पेट दुख्नु, खाने रुचिमा कमी, वाक्वाकी लाग्नु, वान्ता हुन, झाडापखाला लाग्नु, मध्यम ज्वरो आउनु, टाउको दुख्नुजस्ता लक्षण देखिन्छन् । जब कि केही व्यक्तिमा लक्षण नदेखिन पनि सक्छ ।

डब्लूएचओको अनुसार यो रोग सामान्यमा एक/दुई सातासम्म रहनुका संँगै कडा अवस्थामा केही महिनासम्म जारी रहन सकछ । करिबकरिब सवै संक्रमितमा कुनै दीर्घकालीन प्रभावबिना रोगी पूर्ण रूपमा निको हुन्छन् ।

यो सरुवा प्रकृतिको नरहेको उल्लेख गर्दै प्रा.डा. मिश्र भन्छन्, 'रोगीको नङ काट्नुपर्छ, सरसफाइको ख्याल राख्न सकेसम्म पाँच मिनेट उमालेर चिसो गरेको पानी खानका लागि मात्र हैन कुल्ला गर्दा पनि दिनोस् ।'

जाँड-रक्सी खाने मान्छेमा पहिलेदेखि नै कलेजो कमजोर हुने गरेकोले उनीहरूमा हेपाटाइटिस ईको संक्रमण हुँदा कलेजो फेल्योर हुने सम्भावना बढ्छ । यस्तै गर्भवती महिलाको लागि जन्डिस अत्यधिक खतरापूर्ण रहेको उल्लेख गर्दै प्रा.डा. मिश्र गर्भावस्थामा यो रोगले गर्दा ८० प्रतिशत 'लिभर फेल' हुने सम्भावना रहेको बताउँछन् ।

हेपाटाइटिस 'सी’

एउटा आकलनअनुसार मुलुकमा करिब तीन लाखभन्दा बढी व्यक्ति सुसुप्त हत्याराको रूपमा चिनने हेपाटाइटिस 'सी' भाइरसबाट संक्रमित छन् । हेपाटाइटिस 'सी' हँुदा सुरुसुरुमा कुनै लक्षण देखिँदैन र लक्षण देखिन थाल्दा मृत्यु नै अगाडि हुन्छ ।

प्रभावकारी एन्टिभाइरल औषधिको माध्यमले यो संक्रमणको निदान गर्न सकिन्छ  तर यसको कुनै खोप नरहेको उल्लेख गर्दे प्रा.डा. मिश्र भन्छन्, 'हाम्रो अनुमान अनुसार देशको जनसंख्याको एक प्रतिशतमा हेपाटाइटिस 'सी'को संक्रमण छ ।' उनी कलेजो रोग विशेषज्ञको सल्लाहमा बिरामीले उपचार प्रक्रिया अगाडि बढाउनुपर्ने बताउँछन् ।

हेपाटाइटिस 'सी' लाई हलुका रूपमा लिनु हँुदैन । यो रोग ७० प्रतिशतभन्दा बढी फैलिएपछि मात्र यसको लक्षण थाहा पाइन्छ ।

रगत परीक्षण गरेर यो रोग पत्ता लगाउन सकिन्छ । क्रोनिक हेपाटाइटिस 'सी' को सम्भावना देखिए चिकित्सकद्वारा कलेजोको बायोप्सीसमेत गरिन्छ ।  यो संक्रमण हेपाटाइटिस 'सी' ग्रस्त व्यक्तिको रगत चढाउनाले, शारीरिक सम्बन्ध स्थापित गर्नाले र सिरिन्जको माध्यमले सर्छ । अर्थात् यो हेपाटाइटिस 'सी' संक्रमित व्यक्तिको रगत र शरीरको तरल पदार्थको माध्यमले स्वस्थ व्यक्तिमा सर्छ । हातमा टयाटु बनाउनाले, अर्काको रेजर उपयोग गर्नाले समेत यो संक्रमण हुन सक्ने सम्भावना हुन्छ ।

डब्लूएचओका अनुसार १५ करोड व्यक्ति हेपाटाइटिस 'सी' बाट संक्रमित हुने गरेका छन भने करिब साढे तीन लाख व्यक्ति वर्षेनि यो संक्रमणले मर्छन् ।

हेपाटाइटिस 'सी'ले पीडित धेरैजसो व्यक्तिमा कुनै लक्षण हँुदैन । तर करिब २० देखि ३० प्रतिशत संक्रमित व्यक्तिमा लक्षण विकसित हुन्छन् जुन दुई सातादेखि तीन महिनासम्म रहन्छ । 'यसअन्तर्गत एउटा सामान्य अस्वस्थता अनुभव गर्नु, छालाको रंग पहेंलो हुनु, कमजोरी लाग्नु, भोक कम लाग्नु, थकावट अनुभव हुनु, वाक्वाकी र पेट दुख्नु प्रमुख छन्,' डा.मिश्र बताउँछन् ।

रक्सी सेवन हेपाटाइटिस 'सी' लाई गम्भीर बनाउन सक्छ । यसैले यो रोगले पीडितहरूलाई स्पष्ट रूपमा रक्सीको मात्रालाई कम गर्नुपर्छ वा पूर्ण रूपले यसबाट टाढा रहनुपर्छ ।

प्रा.डा .मिश्रका अनुसार मुलुकमा सुइको माध्यमले लागूपदार्थ लिने व्यक्तिमध्ये ९४ प्रतिशतमा हेपाटाइटिस 'सी' को संक्रमण देखिएको छ ।

हेपाटाइटिस 'बी’

हेपाटाइटिस 'बी'ले फैलिने संक्रमण सुरुमा अन्य हेपाटाइटिस भाइरसजस्तै रहन्छ । बिरामीको जीउ दुख्नु, हल्का ज्वरो, भोक कम लाग्नु, वान्ता हुनुको साथै पिसाब र आँखाको रंग पहेंलो हुन्छ । यो कलेजोमा आक्रमण गरेर एक्युट र क्रोनिक रोग उत्पन्न गर्छ । यसका दीर्घकालीन रोगीहरूमा कलेजोको सिरोसिस वा कलेजोको क्यानसर हुने सम्भावनासमेत हुन्छ ।

डब्लूएचओको अनुसार वर्षेनि ६ लाख व्यक्ति हेपाटाइटिस 'बी'को कारणले गर्दा मर्ने गरेका छन् । हेपाटाइटिस 'बी' भाइरस सामान्यतः रोगीको रगतमा रहन्छ । यो संक्रमित व्यक्तिको रगतसँग प्रत्यक्ष सम्पर्कले गर्दा सर्छ । अर्थात् सक्रमित रगत स्वस्थ व्यक्तिको शरीरमा प्रवेश गर्नुपर्छ । यस्तै असुरक्षित यौनसम्बन्धले समेत यो संक्रमण सर्न सक्छ । यो एचआईभी/एड्सको भाइरसभन्दा करिब सय गुणा बढी संक्रमण गर्ने क्षमता राख्छ । यसको खोप उपलब्ध छ ।{ हेपाटाइटिस 'डी’}

हेपाटाइटिस 'बी' र 'सी'को संक्रमण भएकाहरूलाई हेपाटाइटिस 'डी' हुने सम्भावना हुन्छ । 'डी' बाट संक्रमित व्यक्तिलाई हेपाटाइटिस 'बी'बाट संक्रमित व्यक्तिको दाँजोमा कलेजोको नोक्सान हुने खतरा बढी रहन्छ । डब्लूएचओको अनुसार यो छाला, यौनसम्पर्क, र संक्रमित रगतद्वारा स्वस्थ व्यक्तिमा सर्छ ।                                                  स्रोत :कान्तिपुर .

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips