पिसापसम्बन्धी समस्याबाट पीडित महिलाको संख्या दुई गुना छ’ |

Posted by Sura Health on |







Dr arjundev
डा. अर्जुनदेव भट्ट,
वरिष्ठ मुत्ररोग विशेषज्ञ /

नेपालमा पिसाबसम्बन्धी रोग र समस्या कुन हदसम्म छ ?

पिसाबसम्बन्धी रोग संसारका धेरै मानिसलाई हुने रोग हो । संसारका करिब १५ देखि २० प्रतिशत मानिस मुत्ररोगबाट पीडित हुने गरेको पाइएको छ । नेपालमा पनि धेरै महिला यस रोगबाट पीडित छन भन्ने अनुमान छ । तर यकिनसाथ भन्नका निम्ति राम्रो अध्ययन हुनु जरुरी छ ।

पिसाबको संक्रमणसम्बन्धी समस्याबाट पीडित हुनेमा पुरुष बढी छन् कि महिला ?

पिसाबको संक्रमणका कारण जचाँउन आउनेमध्ये पुरुषभन्दा महिलाको संख्या दुई गुना बढी हुन्छ ।

यस समस्याले महिलालाई बढी सताउनुको कारण के हो ?

महिलामा पिसाबको संक्रमण बढी हुनुका धेरै कारण छन् । तर सबैभन्दा महत्वपुर्ण कारण महिलामा पुरुषको दाँजोमा मुत्रनली ज्यादै छोटो हुनु हो । पुरुषको भन्दा महिलाको मुत्रनली झण्डै नौ गुना छोटो हुन्छ । महिलाको मुत्रनली छोटो हुने भएकोले यसको बाहिरी भागको वरिपरि हुने कुनै पनि संक्रमण सहजै मुत्र प्रणालीमा पुग्नसक्छ । पुरुषमा जस्तो  संक्रमणलाई मार्ने जिङ्क भएको प्रोस्टेट ग्रन्थीको जस्तो रस महिलामा हुँदैन । यसले गर्दा पनि संक्रमण छिटो फस्टाउन सक्छ । साथै महिलामा मुत्रद्वार र मलद्वारबीच निकै छोटो दुरी हुनाले पनि छिटो संक्रमण हुनसक्छ । त्यसबाहेक गर्भावस्थामा मुत्र प्रणालीमा पिसाबको गतिमा मन्दी आउने हुँदा पनि संक्रमण बढी हुने सम्भवना हुन्छ ।                                                                                                  बालबालिकालाई पनि पिसाबको संक्रमणले सताउन सक्छ ?

विद्यालय पढ्ने उमेरका साना बालबालिकालाई बच्चा जन्माउने उमेरका महिलाभन्दा पिसाबको संक्रमणको सम्भावना चार गुणा कम हुन्छ । साना बालबालिकामा पिसाबको संक्रमण देखा परेमा उनीहरू जन्मिएदेखि नै शारीरिक खराबी भएको हुनसक्ने सम्भावना धेरै हन्छ । यसले गर्दा यस्ता केसमा उनीहरुको पूर्ण जाँच गरेर कारण ठम्याउनु जरुरी हुन्छ ।

गर्भवती महिलाले पिसाबसम्बन्धी संक्रमणबाट बँच्न के गर्नुपर्छ ?

गर्भवती अवस्थाले नै पिसाब संक्रमण हुने होइन । तर यस अवस्थामा भ्रुण भएको बच्चादानीले मुत्रनली, मुत्राशय र मुत्रबाहिनी नलीलाई थिचेर पिसाबको गति तेज पार्छ । मुत्राशय कमजोर हुने भएकाले सम्पुर्ण पिसाब ननिख्रने हुन्छ । त्यसले गर्दा संक्रमणलाई फस्टाउने वातावरण बन्न पुग्छ । पिसाब फेर्ने समयमा मुत्राशयबाट केही पिसाब मुत्रबाहिनी नली हुँदै उल्टिएर मिर्गाैलामा पुग्नसक्ने भएकाले मुत्र प्रणालीको तल्लो भागमा पुग्नसक्छ । त्यसैले गर्भवतीमा मुत्र संक्रमण ज्यादै धेरै भए मिर्गौलामा संक्रमण पुगेर कोखा दुख्ने, जाडो भएर ज्वरो आउने इत्यादि लक्षण देखा पर्छन् ।
अर्को महत्वपुर्ण कुरा महिलामा विना कुनै लक्षण पनि मुत्र संक्रमण भएको हुनसक्छ । त्यसैले गर्भवतीको पिसाबको जाँच गरेर संक्रमण भए नभएको पत्ता लगाउनुपर्छ । गर्भवती अवस्थामा पिसाबमा संक्रमण देखा परे त्यो आफैं निको हुँदैन । गर्भवतीमा करिब दुईदेखि आठ प्रतिशतसम्म विना कुनै लक्षण पिसाबको संक्रमण भइरहने हुन्छ । तिनीहरुमध्ये २० देखि ४० प्रतिशतसम्ममा मिर्गौलाको संक्रमण हुने भएकोले यस कुरामा विशेष ध्यान दिएर उपचार गराउनु पर्छ ।

यो रोग गाँउले र शहरी महिलामध्ये कसलाई बढी हुन्छ ? हाम्रो दैनिक दिनचर्या, भोजन, रहनसहनले पनि यो रोग लाग्नमा सहयोग गर्छ कि ?

गाँउले वा शहरी महिलामध्ये कसमा बढी पिसाबको संक्रमण देखा पर्छ भन्ने बिषयमा  नेपालमा कुनै अध्ययन भएको छैन । तर गाँउको निम्ति समयमै आफ्नो स्वास्थ्यबारे चासो राखे पनि रोग निदान र उपचार हुन नपाउने हुँदा त्यहाँको अवस्था ज्यादै दयनीय छ । गाँउ, शहर जहाँसुकै पनि यौन अङ्गहरुको सरसफाइमा ध्यान दिन नसक्दा मुत्र संक्रमणमा यसले नराम्रो असर पार्छ । कम पानी पिउने बानी वा बाध्यताले पनि मुत्र संक्रमणलाई प्रोत्साहन मिल्छ ।                                                                                                                    मुत्रनलीसम्बन्धी संक्रमणबाट बँच्नको लागि व्यक्तिगतरुपमा के उपाय अपनाउनु पर्छ ?

मुत्र प्रणालीको संक्रमणबाट बँच्न यौनाङ्गको सरसफाइबारे ध्यान दिनुका साथै पिसाब पोल्ने भए रोग निदान र उपचार गराउनु पर्छ । समयमा रोगको उपचार गराउँदा त्यसले पछि हुनसक्ने मिर्गौलाको खराबीबाट बच्न सहयोग गर्छ । रोगको उपचार भैसकेपछि पनि बारम्बार जँचाएर संक्रमण पूरै ठीक छ वा दबेको अवस्थामा मात्र छ भनेर हेरिहनु पर्छ । गर्भावस्थाका महिलाले पिसाबको जाँच गराउनु लगभग अनिवार्य छ । केही गरी संक्रमण देखा परे पिसाबको जाँच समय समयमा गराइरहनु पर्छ । बृद्ध अवस्थामा मुत्र संक्रमण महिला र पुरुष दुवैकालागि बढी जोखिमपूर्ण हुन्छ । त्यसैले ५० वर्ष नाघेका प्रत्येक स्त्री र पुरुषले पिसाबको जाँच गराइराख्नु पर्ने हुन्छ ।

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips