बेलायत र नेपालको स्वास्थ्य सेवामा भिन्नता ?

Posted by Sura Health on |








satyal
सत्याल राजभण्डारी
मधुमेह रोग विशेषज्ञ, बेलायत


बेलायत र नेपालको स्वास्थ्य सेवामा भिन्नता कस्तो छ ?


बेलायतमा स्वास्थ्य सेवाको सम्पूर्ण व्यवस्थापन सरकारले नै गर्छ । उपचार खर्च निःशुल्क छ । त्यसैले बिरामीलाई पैसाको तनाव रहेन । बेलायतमा दीर्घरोगहरूमा उपचारका लागि पालो नपाएर बिरामीले लामो समय कुर्नुपर्ने हुन्छ, यो चाहिँ ठूलो समस्या हो । अर्को कुरा, सरकारले अस्पतालमा मात्र होइन बृद्धबृद्धाका लागि घरमै उपचार सेवा पु¥याउँछ । त्यसैले, स्वास्थ्य सेवा घरघरमै निःशुल्क हुन्छ । नेपालमा खर्च गर्नुपर्ने भएकाले गरिब जनता उपचार सेवाबाट समेत बञ्चित भएको अवस्था छ ।


नेपाल र बेलायतमा काम गर्दा कस्तो फरक पाउनु भयो ?


नेपालमा मैले दुई वर्ष टिचिङ अस्पताल र एक वर्ष वीर अस्पतालमा काम गरेँ । म २२ वर्षदेखि बेलायतमा काम गर्दै आएको छु । सामान्य रूपमा हेर्दा औषधि–उपचार एउटै हो । बेलायतमा अत्याधुुनिक प्रविधि छ । नेपालमा कतिपय अवस्थामा परीक्षण सुविधा नहुँदा ‘कम्परमाइज’ गर्नुपर्ने अवस्था थियो र छ ।


बेलायतबाट नेपालले सिक्नै पर्ने कुरा के हो ?


बेलायतमा ‘एभिडेन्स बेस’ मेडिसिन सिस्टम छ । नेपालमा ‘यो औषधि चलाउने’ भन्ने आधारमा काम हुन्छ । तर, यहाँ मेडिसिन कुन राम्रो छ, बिरामीलाई कुन औषधिले राम्रो गर्छ र कुन चाहिँ सस्तो छ भन्ने पनि हेरिन्छ । जस्तै, मधुमेह भयो भने १० थरीका औषधि पाउँछन् । त्यसमध्ये यो औषधि यो कारणले राम्रो, सस्तो छ र यसले बिरामीलाई फाइदा गर्छ भन्ने हेरिन्छ । त्यसअनुसार सबै चिकित्सक त्यही सिस्टमलाई फलो गर्छन् । यो कुरा चाहिँ नेपालले सिक्नुपर्छ ।


नेपाली चिकित्सकहरू विदेशिनुको कारण के ठान्नु हुन्छ ?


नेपाली चिकित्सकहरू बिदेशिनुका धेरै कारण छन् । नेपालमा बिहानदेखि बेलुकासम्म काम गरे पनि राम्रो कमाइ छैन । अर्को कुरा नेपालमा काम गर्ने वातावरण पनि छैन । राजनीतिक हस्तक्षेप उत्तिकै छ । नेपालमा राजनीति नगरी वा राजनीतिक दलको पछि नलागि राम्रो काम गर्न र ठूलो ठाउँमा पुग्न पाइँदैन । राजनीति र पेसा सँगसँगै लैजानुपर्ने अवस्था छ । ठूलो लगानी र समयपछि एउटा चिकित्सक तयार हुन्छ । उसले देशमा भविष्य नदेखेपछि विदेशिनुको विकल्प पनि देख्दैन ।


बेलायतमा बिरामी र चिकित्सकबीचको सम्बन्ध कस्तो हुन्छ ?


बिरामी र चिकित्सकबीच सुमधुर सम्बन्ध हुनुपर्छ । अन्यथा उपचार सम्भव हँुदैन । मुख्य कुरा, यहाँ चिकित्सकले बिरामीलाई सम्मान गर्छन् । बिरामीलाई के गर्दा राम्रो हुन्छ, बिरामीकै कुरा बुझेर उपचार गरिन्छ । बिरामीसँग प्रेमपूर्वक व्यवहार गरिन्छ । बिरामीले पनि चिकित्सकलाई सम्मानजनक व्यवहार गर्छन् । जसका कारण उपचारमा सहजता आउँछ ।


स्वास्थ्य क्षेत्रमा देखिएको समस्या के छ ?


सम्पूर्ण स्वास्थ्य सेवा निःशुल्क भएको हुँदा सरकारलाई अलि गाह्रो परिरहेको छ । क्यान्सर रोगका औषधिहरू महँगो पर्छन् । यदि, क्यान्सरकै कारण बिरामी बाँच्ने सम्भवना कम छ भने सरकारले औषधि नदिन भन्छ । जसका कारण बिरामीलाई समस्या पर्छ । बिरामी पक्षले औषधिले बिरामी एक–दुई महिना बाँच्छ भन्छन् र बचाउन जोड दिन्छन् । यस्तो अवस्थामा धेरै समस्या हुन्छ ।


नेपाली चिकित्सकहरूको कुनै संघसंस्था पनि छ कि ?


नेपाली चिकित्सकहरूको नेप्लिज डाक्टर एसोसिएसन भन्ने संस्था छ । यहाँ बस्ने नेपाली ब्रिटिसका छोरा–छोरीले पनि नेप्लिज डाक्टर समाजको स्थापना गरेका छन् । मैले नेपाली चिकित्सकहरू मात्र होइन बेलायतका चिकित्सकलाई पनि समावेश गरी हेल्थ एक्चेन्ज नेपाल खोलेको छु । जसमा नेपालप्रति चासो राख्ने बेलायती चिकित्सकहरू छन् । त्यस संस्थाबाट स्वास्थ्य क्षेत्रमा हामी धेरै काम गर्दैै छौं ।


हेल्थ एक्चेन्ज नेपालले नेपालका लागि कस्तो कार्य गर्दै आएको छ ?


हामी मधुमेह रोगमा काम गर्दै आएका छौं । हेल्थ एक्चेन्जले हरेक वर्ष नेपालमा मधुमेह सम्बन्धी सम्मेलन गर्दै आएको छ । तीनवर्षे सम्मेलन गरिसकेका छौं । चौथो वर्ष सर्वसाधारणलाई समेत लक्षित गरी राष्ट्रिय सभागृहमा सम्मेलन गर्ने तयारी गरेका छौं । वीर अस्पताल, पाटन अस्पतालमा पनि तालिम दिने गरेका छौं । नोभेम्बरमा ल्याप्टोस्कोपीको एउटा टिम नेपाल आउँदैछ । ९ जना नेपाली चिकित्सकलाई बेलायत ल्याएर तालिमसमेत दिइसकेका छौं । सकेसम्म नेपालका लागि काम गरेका छौं ।

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips