अस्पताल बिगार्न गिरोह सक्रिय ?
Posted by Sura Health on |
अस्पतालको अवस्था त जीर्ण छ नि ?
अस्पतालको अवस्था बाहिर हल्ला चलेजस्तो जीर्ण त छैन तर केही समस्या भने पक्कै छ । हामी अहिले समस्या समाधानतर्फ लागेका छौं । गुनासो धेरै भए पनि उपचार त भइरहेको छ । हामी पनि कमी–कमजोरीलाई सुधारेर सहज वातावरण बनाउ“दै छांै । हल्लाको भरमा केही भएन भन्नु अस्पतालको बदनाम गराउने उद्देश्य हो । निजी अस्पताल पनि बिरामी आफ्नोमा लान अस्पताल बदनाम गराउन सक्रिय रहेको हुनुपर्छ । हाम्रो अस्पतालको साधन र स्रोतले भ्याएसम्म हामीले बिरामीलाई सहज रूपमा उपचार गरेका छौं र गर्छौं ।
अस्पतालका बिरामी निजीमा पठाइन्छन् र चिकित्सकले पनि समय दि“दैनन् भन्ने आरोप छ नि ?
बिरामीको उपचार गर्ने डाक्टर त पक्कै पनि सेवामुखी हुनुपर्छ । अस्पतालको नियमअनुसार ९.३० बजे आउने र ३ बजेसम्म ड्यिुटीमा रहनुपर्छ । मैले दुईजना डाक्टरलाई अस्पतालमा समय नदिएका कारण कारबाही गरेको छु । निजीमा बिरामी पठाउने गरेको हल्ला मैले पनि सुनेको छु । तर, प्रमाण पाउन सकेको छैन । सरकारले बिरामीको सेवा दिनका लागि तलब दिएर पठाएको छ । कसैले गलत गर्छ भने अवश्य कारबाही हुन्छ । अस्पतालमा गलत गरे विकल्पमा नया“ डाक्टर ल्याइन्छ, यसले बेरोजगार चिकित्सकलाई पनि रोजगार प्राप्त हुन्छ ।
ल्याबमा ध्यान नपुग्दा इमर्जेन्सीका बिरामी निजीमा परीक्षण गर्न बाध्य भएका छन् नि ?
अस्पतालको प्रमुख भएको कारणले सबैतिर हेर्ने मेरो जिम्मा हो तर पनि सबै ठाउ“मा एकै पटक सुधार हुन नसक्ने भएकाले बिस्तारै मैले सुधारको पहल गर्दै छु । सबैको सहयोग भए अस्पताल सुधार असम्भव छैन । मैले ल्याबको प्रमुखस“ग बसेर छलफल पनि गरेको छु । इमर्जेन्सीबाट केही गलत भएको जानकारी मैले पाएको छु । म त्यस्ता गतिविधि रोक्ने प्रयासमा छु । बिरामीको व्यापार गर्ने र कमिसनखोरलाई कारबाही गर्न लुम्बिनी अञ्चल अस्पताल तयार छ । लथालिंग र भताभुंग अवस्थाबाट यो अस्पताल चल्दैन । बिरामी रिफर गर्नुपर्ने अवस्था आए अस्पतालको सिफारिस अनिवार्य हुनुपर्छ । अन्यथा जो कोही पनि सजायको भागिदार हुन्छ । अस्पताल बिरामी खेलाउने र खेल्ने स्थान होइन । कसैले पनि बिरामीको भविष्यमाथि खेलवाड गर्न मिल्दैन ।
अस्पतालका खास समस्या के हुन् त ?
समस्या सबैतिर छ । आईसीयू र एनआईसीयूदेखि सानो–सानो समस्या देखिएका छन् । अस्पतालको मुख्य समस्या भनेको स्तरवृद्धि नहुनु हो । यो अस्पताललाई उपक्षेत्रीय अस्पताल बनाउन सके सबै समस्या समाधान भएर जान्छन् । अञ्चल अस्पतालमा एनेस्थेसियाको डाक्टर नै छैन । यसले आईसीयू र शल्यक्रियामा समेत समस्या भएको छ । हामीले पटक–पटक मन्त्रालयमा धाए पनि एनेस्थेसिया पाउन सकेका छैनौं । समस्याको घेरामा रहे पनि हामीले सक्दो सेवा दिइरहेका छांै । राजनीतिक दलहरूको मुख ताक्दा पनि अहिलेसम्म केही हुन सकेन ।
उपचार गरिब, दुःखीभन्दा पनि राजनीतिक आस्थाका आधारमा हुन्छ भन्ने सुनिन्छ नि ?
हो, पक्कै पनि यो केही सत्य कुरा हो । अरूले भन्दा बोलवालाहरू भनौ वा एक किसिमको गिरोहहरूले यस्तो अवस्थाको सिर्जना गरेका छन् । अस्पतालमा दुःखीको नाममा यस्तो गर्नु गलत हो । यो रोकिनु आवश्यक छ । अहिले त हामीले मापदण्ड बनाएर काम गर्न लागेका छौं । जिल्ला विकास समिति वा जिल्ला प्रशासनले सिफारिस गरेको आधारमा उपचार गर्ने व्यवस्था मिलाउ“दै छौं । गरिबको नामबाट हुनेखानेले सेवा सुविधा लिनु गलत हो । अस्पतालमा यस्तो परम्परा नै भइसकेको रहेछ । यसलाई तोड्न केही समय त पक्कै लाग्छ । अब यस्तो गुनासो र गरिबको नाममा धनीहरूले फाइदा ल्याउन नपाउने व्यवस्था मिलाउ“दै छु । विकास समितिले अस्पतालको हितको लागि केही बोल्ड निर्णय बनाउन सके अस्पताल प्रशासनले सहज रूपमा कार्यान्वयन गरेर देखाउने थियौं । नीति र नियमको अभावले पनि समस्या भएको छ ।
अस्तालका अन्य समस्या के छन् ?
लुम्बिनी अञ्चल अस्पतालमा भवनको समस्या एकदमै छ । भवनको समस्याले ल्याबलाई समेत समस्या बनाएको छ । डाक्टरको अभाव छ । १ सय ४ वर्ष पुरानो अस्पतालमा समस्या हुनु भनेको दुःखद हो । दैनिक ८ सय बिरामी आउने अस्पतालमा पूर्वाधारसमेत पर्याप्त छैन । सरकारले अस्पताललाई ध्यँन नदिएका कारण यस्तो भएको हो ।
स्रोत :: स्वास्थ्य खबरपत्रिका
You can subscribe by e-mail to receive news updates and breaking stories.