बुढेसकालमा सकारात्मक सोच !!

Posted by Sura Health on |








सन्दर्भ : विश्व मानसिक स्वास्थ्य दिवस ::                            dr                                                                                                                                                                                                                                         विश्व स्वास्थ्य संगठनले स्वास्थ्यको परिभाषामा स्वास्थ्य भनेको शारीरिक, मानसिक तथा सामाजिक तवरले स्वस्थ रहनु भनेर उल्लेख गरेको छ । हाम्रो देशको संविधानमा पनि स्वास्थ्य भनेको जनताको मौलिक हक र राज्यको दायित्व भनेर उल्लेख गरेको पाइन्छ । नेपाल जस्ता अल्पविकसित देशहरूमा स्वास्थ्यभन्दा शारीरिक स्वास्थ्यको जताततै चर्चा गरिए पनि मानसिक तथा सामाजिक स्वास्थ्यबारे कमै मात्रामा महत्त्व दिएको पाइन्छ ।


विश्व स्वास्थ्य संगठनले हरेक वर्ष १० अक्टोबरलाई विश्व स्वास्थ्य मानसिक स्वास्थ्य दिवसको रूपमा मनाउने गरेको छ । यो सन्दर्भमा यस वर्षको नारा 'मानसिक स्वास्थ्य तथा ज्येष्ठ नागरिक' भनेर विश्वभर विभिन्न कार्यक्रमसाथ मनाउँदैछ । यस सन्दर्भमा नेपालले पनि विश्व स्वास्थ्य संगठनको मानसिक स्वास्थ्यप्रतिको अभिव्यक्तिलाई आत्मसात गरी वर्षभरि नेपालका ज्येष्ठ नागरिकहरूको मानसिक स्वास्थ्यबारे चिन्तन-मनन गरी उनीहरूलाई मनोवैज्ञानिक तवरले स्वस्थ रहने वातावरण सिर्जना गरिदिनुपर्छ ।
विश्व स्वास्थ्य संगठनको आँकडाअनुसार हाल विश्वमा ज्येष्ठ नागरिक अर्थात ६० वर्ष उमेरभन्दा माथिका मानिसहरू करिब ८० करोड छ । नेपालमा हालै सर्वेक्षण गरिएको राष्ट्रिय तथ्याङ्क विभागको सर्वेक्षणअनुसार ज्येष्ठ नागरिकको संख्या करिब २२ लाख छ । अमेरिकामा हालै गरिएको सर्वेक्षणअनुसार ५५ वर्षभन्दा माथिका मानिसहरूमध्ये करिब २० प्रतिशतमा मानसिक रोगको समस्या देखाइएको छ । यस तथ्याङ्कलाई आधार लिने हो भने नेपालमा पनि करिब ५ लाख ज्येष्ठ नागरिकहरू कुनै एक मानसिक समस्याबाट पिरोलिएका हुन्छन् ।
बुढेसकालमा मस्तिष्कका कोशिकाहरूको संख्यामा बिस्तारै कमी आउँछ । यसका साथै मस्तिष्कका कोशिकाहरू पनि कम क्रियाशील हुँदै जान्छन् । यसले गर्दार्र्र् नयाँ कुराहरू सिक्ने क्षमता कमजोर हुँदै जान्छ । अर्कोतिर व्यक्तिको जीवनमा आउने सामाजिक परिवर्तनहरू जस्तै- जागिर, व्यापारबाट रिटायर्ड हुने, परिवारमा एक्लोपन, आर्थिक समस्या इत्यादिको कारणले पनि बुढेसकालमा विभिन्न मानसिक समस्याहरू बढ्ने गर्छ ।
नेपालमा समग्र रूपमा मानसिक स्वास्थ्यसेवाको सर्वसुलभताको अभाव रहेको अवस्थामा बुढेसकालमा आउने मानसिक समस्याको निदान र उपचारको सम्भावना न्युन छ । दक्ष जनशक्तिको अभाव एकातिर छन् भने राज्यले मानसिक स्वास्थ्यको क्षेत्रमा राष्ट्रिय नीति, कार्यक्रम तथा बजेट विनियोजनमा अत्यन्त कन्जुस्याइँ गरेको देखिन्छ, जसको प्रत्यक्ष प्रभावले गर्दा यी ज्येष्ठ नागरिकहरू मानसिक स्वास्थ्यसेवाबाट वञ्चित हुन्छन् ।
ज्येष्ठ नागरिक अर्थात बुढेसकालमा हुने प्रमुख मानसिक स्वास्थ्यको समस्याहरूमा डिमेन्सिया र डिप्रेसन प्रमुख दुई रोग हुन् । जसले व्यक्तिलाई पूर्णरूपमा अशक्त, असक्षम र अरु व्यक्तिको माझमा बाँच्न बाध्य तुल्याउँछ । स्मरणशक्तिको ह्रास हुँदै जानु, व्यक्तित्वमा परिवर्तन हुँदै जानु, आफ्नो हेरचाह गर्नसक्ने क्षमतामा कमी, पहिले जानेका कुरा गर्न नजान्ने डिमेन्सियाका केही प्रमुख लक्षण हुन्, जुन दिमागी क्षमतामा क्रमिक रूपले ह्रास भएर हुन्छ । डिमेन्सिया उत्पन्न गराउने प्रमुख दुई कारणहरूमा अल्जाइमर्स रोग र भास्कुलर डिमेन्सिया हुन् । यी समस्याहरूमा दिमागका कोशिकाहरू क्तमिक रूपमा सुक्दै तथा मर्दै जान्छन् । डिमेन्सियाका लागि हालसम्म निको बनाउने औषधीहरू उपलब्ध छैनन्, तथापि केही औषधीहरू उपलब्ध छन्, जसले मानिसमा एसिटाइलकोलिन नामको रसायनको मात्रा बढाएर केही हदसम्म लक्षणहरू नियन्त्रण गर्न सहायता पुर्‍याउँछ ।
बुढेसकालमा आउने अझै प्रमुख मानसिक स्वास्थ्य समस्या डिप्रेसन हो । डिप्रेसन अर्थात दिक्दारपनाको प्रमुख लक्षणहरूमा उदासीपन लगभग सधैं भइरहनु, खुसी महसुस गर्न असमर्थ हुनु, ध्यान केन्दि्रत गर्न गाह्रो हुनु, बिर्सिने बानी भएको महसुस हुनु, इच्छाहरू मरेर जानु, निद्रामा गडबडी हुनु तथा नकारात्मक सोचहरू दिमागमा आउनु इत्यादि हुन् । डिप्रेसनले पीडित व्यक्तिको व्यवहारमा फरक ल्याउनुका साथै शारीरिक तथा मानिसक पीडा पैदा गर्छ । यसको कारणले पीडित व्यक्तिको दैनिक क्रियाकलाप, पारिवारिक र सामाजिक जीवनमा नकारात्मक असर पुर्‍याउँछ । डिप्रेसनबाट पीडित व्यक्तिहरूमध्ये १५ देखि २० प्रतिशतको मृत्यु आत्महत्याद्वारा हुनेहुँदा पनि समयमा नै उपचारले डिप्रेसनबाट हुने आत्महत्याको संख्यामा कमी ल्याउन सकिन्छ । बुढेसकालमा आउने डिमेन्सिया र डिप्रेसनमध्ये डिप्रेसनको उपचार सम्भव छ । झन्डै ९० प्रतिशत जस्तोसुकै कडा खालको डिप्रेसनलाई उपचारबाट पूर्णरूपले निर्मूल गर्न सकिन्छ । औषधी-उपचार तथा मनोवैज्ञानिक पद्धतिको काउन्सिलिङद्वारा डिप्रेसनको उपचार नेपालमा पनि उपलब्ध छ । यी बाहेक बुढेसकालमा आउन सक्ने अन्य मानसिक स्वास्थ्यको समस्याहरूमा आत्तिने रोग, एक्कासी बिनाकारण हुने अत्यधिक त्रास, अत्यधिक रक्सी सेवन इत्यादि हुन् । यी अन्य मानसिक स्वास्थ्य समस्याहरूको उपचार औषधी तथा काउन्सिलिङबाट गर्न सकिन्छ, जुन नेपालमा उपलब्ध छन् ।
समाजमा विद्यमान बुढेसकाल र उमेर वृद्धिबारे नकारात्मक सोचको अन्त्य गरिनुपर्छ । हामी सबले भोग्नुपर्ने यो बुढेसकाललाई सकारात्मक र सहयोगात्मक सोचको विकास गरौं, यी ज्येष्ठ नागरिकहरूको मानसिक स्वास्थ्य अभिवृद्धिका लागि आवश्यक उपचार पद्धतिहरू औषधी र मनोवैज्ञानिक काउन्सिलिङ उपलब्ध गराएर सहयोग गरौं । नेपालमा पनि ज्येष्ठ नागरिकहरूको स्वास्थ्यस्थिति बारेमा अनुसन्धान सुरु गरौं । मानसिक स्वास्थ्य बारेमा जनचेतना, रोगको सुरु अवस्थामै निदान र तत्काल उपचार सुरु गरेर यी ज्येष्ठ नागरिकहरूलाई सामाजिक अपांगता र अरुप्रतिको निर्भरताबाट मुक्त गर्ने प्रयास गरौं ।
लेखक त्रिवि शिक्षण अस्पताल मानसिक स्वास्थ्य विभागका प्रमुख हुन् ।
                                                                             

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips