किशोर-किशोरीमा हुने तीव्र यौन इच्छा !!

Posted by Sura Health on |







डा. राजेन्द्र भद्रा
पन्ध्र वर्षमा विश्वको तीव्र रुपमा शारीरिक परिवर्तन भइरहेको छ। स्कुलमा पनि किशोरावस्थामा हुने परिवर्तनबारे पढाइ भइरहेकाले यसबारे उसलाई राम्रै ज्ञान छ। यस अवस्थामा यौन इच्छा स्वाभाविक हो भन्ने कुरा पनि उसलाई थाहा छ।
तर अहिले तीव्र यौन इच्छाको कारणले उसले आफ्नो अध्ययनमा सक्दो ध्यान पुर्‍याउन सकेको छैन।कुनै युवती वा किशोरी देख्दा ऊ उत्तेजित हुन्छ। मनमा यौनसम्बन्धी कुरा मात्रै खेलिरहन्छ। यौनसम्पर्क राख्न पाए हुन्थ्यो भन्ने कल्पना गर्छ। त्यसबाट पर भाग्न खोजे तापनि सकिरहेको छैन। ऊ वरिपरिका व्यक्तिहरूलाई हेर्छ, अवलोकन गर्छ। उसलाई लाग्छ- उनीहरूमा कुनै यौन इच्छा नै छैन, कसैले यसबारेमा कुरा नै गर्दैनन्। उसले अरुसँग कुरा गर्न खोजे पनि कसैमा कुरा सुन्ने उत्साह पनि भेटेन। मानौं यो मामुली कुरा हो, यसको केही महत्त्व छैन, तर किन आफूलाई यस्तो भएको ? यति तीव्र यौन इच्छा किन ? आफूले मात्रै किन यसबाहेक अरु नै कुरा सोच्न गाह्रो भएको ? यो पक्कै पनि कुनै विकृति वा रोगको लक्षण हुनुपर्छ भन्ने सोचमा ऊ डुबेको छ।
वयष्क व्यक्तिमध्ये धेरैजसोले यस्ता कुरा भोगेको भए पनि पछि किन हो कुन्नि, बिर्सने गर्छन्। यो अन्योल हुनु अस्वाभाविक होइन, किनकि यौन विकासको बारेमा सुरुमा धेरैलाई थाहा नै हुँदैन। तर घरपरिवार र समाजले देखाउने व्यवहारले यसलाई झनै चर्को बनाइरहेको हुन्छ। सामान्य ज्ञानको कमीले कुनै गम्भीर रोग नै हो कि भन्नेसम्म पुग्न थाल्छ। समयमा नै सम्हालिन नसके वृत्ति विकासमा समेत नकारात्मक प्रभाव पर्न सक्छ।
यौन मानिसको अभिन्न कुरा हुँदाहुँदै पनि यो एकदम गोप्य कुरा पनि हो। यौनसम्बन्धी कतिपय क्रियाकलाप एकदम गोप्य वातावरणमा मात्र गरिन्छ। यसै सन्दर्भमा यौनसँग प्रत्यक्ष सम्बन्ध राख्ने कुराले निर्देशित गर्ने भए पनि सक्दो लुकाउने गरोस्, नदेखोस् भनेर विशेष सतर्कता अपनाइन्छ। सानै उमेरदेखि यौनसम्बन्धी कुरालाई विशेष गरेर छलफल गर्न निरुत्साहित गरिन्छ। किन यस्तो गरिन्छ त भन्ने कुराका आ-आफ्नै कारण हुन सक्छन्, तर उचित जानकारी समयमै नदिँदा त्यसको नराम्रो प्रभाव पर्छ।


यौन इच्छा के हो ?प्राकृतिक रुपमा सबै स्वस्थ व्यक्तिमा यौन इच्छा हुन्छ। मानवमनमा यौन इच्छा एकदम स्वाभाविक पनि हो। मानवजीवनको लागि भोक, निद्रा, प्यासजस्तै यौन पनि आवश्यक कुरा हो। यो प्रकृतिले नै दिएको छ। सामान्य भाषामा बोल्दा यौनसम्पर्क राख्ने वा यौन तनाव शान्त पार्ने इच्छालाई नै यौन इच्छा भन्न सकिन्छ। परिभाषामा केही फरक-फरक मत भए पनि यौन इच्छा वा यौन व्यग्रता एक मानसिक तथा भावनात्मक जैविक व्यग्रतासँग सम्बन्धित स्वाभाविक शक्ति हो। यो प्राकृतिक शक्ति वा व्यग्रताले निश्चित कार्यको लागि अभिप्रेरित गर्दछ।
यी आधारभूत कुरा भएको मस्तिष्कमा यसलाई सञ्चालन गर्ने कार्य प्राचीन मस्तिष्कको भागले गर्दछ। विकासको क्रममा करौडौं वर्षपहिले त्यस किसिमको मस्तिष्क विकसित भएको देखिन्छ। प्राणीको विकासक्रमलाई हेर्ने हो भने यो प्राचीन मस्तिष्क करौडौं वर्षहिले नै विकसित भएको देखिन्छ। मानवमा मस्तिष्कको अन्य थप भाग विकसित हुँदै गए पनि ती प्राचीन मस्तिष्कले अझै अन्य प्रणालीमा जस्तै महत्त्वपूर्ण भूमिका खेलिरहेका छन्।


यौन इच्छा सञ्चालन पक्रिया
मोटामोटी रुपमा हेर्दा यौन इच्छाको सञ्चालनमा विभिन्न प्रणालीहरू सक्रिय देखिन्छन्। एक त इन्डोक्राइन सिस्टम (Endocrine system) अन्तर्गतका हर्मोन अर्थात् रागरसहरूले सञ्चालनमा महत्त्वपूर्ण भूमिका खेल्छन् भने अर्कोतिर इन्द्रिय प्रणालीका साथमा स्नायु प्रणालीले पनि भूमिका खेलेको हुन्छ। पहिले इन्डोक्राइन प्रणालीले यौनक्रिया सञ्चालनमा भूमिका निर्वाह गर्दछ।


क) हर्मोनको प्रभावयौन इच्छा जाग्नुमा हर्मोन अर्थात् रागरसको महत्त्वपूर्ण भूमिका हुन्छ। पुरुष हर्मोन एन्ड्रोजन हो, जुन ९५ प्रतिशत अण्डकोष र यस्तै ५ प्रतिशत एड्रेलन कर्टेक्सबाट निस्कन्छ। प्रमुख पुरुष एन्ड्रोजन टेस्टेस्टेरोन हो। यौन क्रियाकलापमा भन्दा टेस्टेस्टेरोनले यौन इच्छा वा यौन व्यग्रतालाई बढी प्रभाव पारेको हुन्छ। अण्डकोष निकालिएका वा ँखसी’ नै पारिएका व्यक्तिमा भएका अध्ययनबाट यस्ता निष्कर्ष निकालिएका हुन्। महिलामा पनि एन्ड्रोजन निस्कन्छ। पुरुषमा एन्ड्रोजनको कार्यलाई रोक्ने औषधिले यौन इच्छालाई नै प्रभाव पारेको भेटिन्छ। हाइपोगोनाडिजम (Hypogonadism) जसमा टेस्टेस्टेरोनको कमी भएको अवस्था हुन्छ, त्यसमा पनि यौन इच्छा वा यौन व्यग्रता हुँदैन।
के महिलामा पनि उसको यौनिकतामा पुरुष एन्ड्रोजनले जस्तो इस्ट्रोजनले कार्य गर्दछ त ? इस्ट्रोजन महिला रागरस भए पनि पुरुषमा पुरुष हर्मोनको प्रभावभन्दा फरक हुन्छ। इस्ट्रोजनले योनिको भित्री छालाको लचकता वा तन्कन सक्ने गुण र योनिलाई रसिलो बनाइराख्ने कार्यमा सहयोग गर्दछ। तर यौनसम्बन्धी कुरामा उत्प्रेरित गर्ने कार्यमा कत्तिको मद्दत गर्दछ भन्ने कुरा स्पष्ट छैन। महिलामा पनि टेस्टेस्टेरोनले नै यौन इच्छा वा यौन व्यग्रताको लागि महत्त्वपूर्ण भूमिका खेल्छ।


ख) इन्द्रियहरूका कुराअन्य कतिपय शरीरक्रियाको लागि आवश्यक भएजस्तै यौनक्रियाको लागि पनि हाम्रा इन्द्रियहरूले महत्त्वपूर्ण भूमिका खेल्छन्। यौन उत्तेजनाको लागि हाम्रा इन्द्रियहरू नभई नहुने कुरा हुन्। हाम्रो शरीरले कसरी आनन्द पाउँछ भन्ने कुरा नै ऐन्द्रिकता हो। यो हाम्रो शरीरको पाँच इन्द्रियहरु- दृष्टि, स्पर्श, ध्वनि, गन्ध र स्वादसँग सम्बन्धित कुरा हो। यसमध्ये कुनै इन्द्रियबाट आनन्द प्राप्त गर्नु नै ऐन्द्रिकता हुन सक्छ। यौन प्रतिक्रिया चक्र -यौनआनन्द पाउने कुरा) पनि ऐन्द्रिकताभित्र पर्छ।
स्पर्शः छाला नै बाह्य सम्पर्कमा आउने अंगको एक प्रमुख ज्ञानेन्द्रिय हो। अन्य कतिपय कार्यको लागि अहम् मूमिका खेलेजस्तै यौनकार्यमा पनि शायद यो सबैभन्दा महत्त्वपूर्ण छ। यौन आत्मीयताको लागि यो महत्त्वपूर्ण छ। शरीरका कतिपय अंग वा क्षेत्र स्पर्श गर्दा यौनको दृष्टिकोणले संवेदनशील हुने गर्छन्। यस्ता क्षेत्रलाई अंग्रेजीमा इरोजेनस जोन्स (Erogenous zones) भन्ने गरिन्छ। नेपालीमा कामोत्तेजक क्षेत्र भन्न सकिन्छ। यस्ता कामोत्तेजक क्षेत्रहरू यौनांग, नितम्ब, गुदद्वार, यौनांगवरिपरिको क्षेत्र, स्तन, तिघ्राको भित्री भाग, काखी, नाभी, गर्दन, कान अनि मुख -ओठ) हुन्, जुन विशेषतः स्वाभाविक रुपमा नै यौन उत्तेजक हुन्छन्। यसरी स्वाभाविक रुपमा कामोत्तेजक क्षेत्रलाई प्राथमिक कामोत्तेजन क्षेत्र भनिन्छ भने अनुभव र पछि सिकेर यौन उत्तेजित हुने शरीरका भागलाई भने सहायक कामोत्तेजक क्षेत्र भनिन्छ।
यौनसम्पर्क पनि एक विशेष स्पर्श नै हो। यहाँ एक यौनांगले अर्को यौना·को स्पर्श गरिरहेको हुन्छ।
दृष्टिः यौन इच्छामा यसको निकै ठूलो महत्त्व छ। स्पर्शपछि शायद सबैभन्दा ठूलो स्थान यसैको छ। पुरुष महिलाको तुलनामा बढी दृष्टिबाट यौन उत्तेजित हुने गर्छन् भन्ने कुरामा विश्वास गरिने भए पनि हाल आएर गरिएका अध्ययनहरूमा कुरा केही फरक देखिएको छ। सोधिँदा महिलाले त्यसो भन्ने गरेकोले त्यस्तो ठानिएको हुनुपर्छ। हालैका यौन उत्तेजना र प्रतिक्रियासम्बन्धी अध्ययनहरूमा पुरुष तथा महिलाको शरीरक्रिया उस्तै नै भएको भेटिएको हुनाले शायद अब दृष्टिकोणमा पनि परिवर्तन हुन सक्छ।
गन्धः गन्धको पनि मानव यौनजीवनमा निकै महत्त्व हुन्छ। सुगन्ध र अत्तरको प्रयोग गर्नुको पछिल्तिर मुख्य ध्येय चेतन वा अचेतन स्थितिमा यौन नै रहेको पाइन्छ। जनावरको तुलनामा घ्राण -सुँघ्ने) शक्ति सशक्त नभए पनि त्यसको सशक्त प्रभाव भने मानवमा पनि पाइन्छ। व्यक्तिको शरीरको गन्ध मन नपर्ने व्यक्तिसँग अन्तरंग सम्बन्ध कायम हुन केही गाह्रो हुन्छ। यौन इतिहास र सांस्कृतिक प्रभावले सिर्जना गरेको अवस्थामा विशेष गरेर के-कस्तो गन्धले उत्तेजित पार्छ वा पार्दैन भन्ने कुरा पनि निर्धारण गर्दछ। घ्राणशक्तिको महत्त्व भएको हुनाले नै सुगन्धको ठूलो व्यापार संसारभरि नै हुने गरेको छ।
स्वादः स्वादको प्रत्यक्ष सम्बन्ध र महत्त्व भने केही कम रहेको भटिन्छ। तर मुखमैथुनमा संलग्न हुनेको लागि यो निकै महत्त्वपूर्ण साबित हुन सक्छ। चुम्बन एकहदसम्म स्वादसँग सम्बन्धित हुन्छ। खानेकुरा वा व्यञ्जनको यौनसँग सम्बन्ध रहेको पाइन्छ। भोजन या मद्यपान यौन प्रलोभनमा प्रयोग हुने गरेको पाइन्छ। आहार र पोषणको स्वस्थ शरीर र त्यसको यौनसँग सम्बन्ध हुने नै भयो। डेटिङ वा प्रेमचर्या
(Courtship) मा जहिले पनि भोजनको व्यवस्था हुनु संयोग मात्र नहुन सक्छ, तर आफैं अनुसन्धानको विषय हुन सक्छ। यसबारे थप गहन खोज बाँकी नै छ।
ध्वनिः आवाज वा ध्वनिले पनि निकै महत्त्वपूर्ण भूमिका खेल्छ। जनावरहरूले विशेष आवाज निकालेर यौनसम्पर्क राख्न तयार भएको जनाउ दिने गर्छन्। पक्षीहरूमा त यो झनै महत्त्वको छ। हामीले गीत गाएको भन्ने गर्दछौं। आवाज र ध्वनिको मामिलामा धेरै विकास गरेको मानिसले यसलाई प्रयोग नगर्ने कुरा नै भएन। प्रेमालाप, भावना व्यक्त गर्नेजस्ता कुरादेखि लिएर यौनसम्पर्क र त्यस बेलाको सन्तुष्टिको आवाज आफैंमा मदहोस पार्ने अनि यौन उत्तेजक हुने गर्दछ।


ग) मस्तिष्कको भूमिकामानिसले यौनसम्पर्कलाई ँशारीरिक सम्बन्ध’ भन्ने गरे पनि यसको मानसिक पाटो एकदमै महत्त्वपूर्ण हुन्छ। यौन उत्तेजनाको स्रोत जे-सुकै भए पनि अन्तिम रुपमा त्यसलाई अर्थ लगाउने र बुझने कुरा मस्तिष्कले नै गरिरहेको हुन्छ। वैज्ञानिक दृष्टिकोणले हेर्ने हो भने यौन उत्तेजनालाई ँस्नायु प्रणाली तथा यौनांग संलग्न एक जटिल प्रक्रियाको क्रियाशीलता हो’ भनेर परिभाषित गर्न सकिन्छ। यौनसम्बन्धी भावनाहरू मस्तिष्कबाट सुरू हुन्छन्। यसरी सोच्ने हो भने मस्तिष्क नै सबैभन्दा महत्त्वपूर्ण यौन अंग हो।
कतिपय प्राणीजस्तै मानवमा पनि प्राचीन मस्तिष्कले भोक, निद्रा, प्यास अनि यौनलाई सञ्चालित गर्दछ। यौन व्यग्रता सञ्चालित गर्ने मस्तिष्कको भागलाई मोटामोटी रुपमा लिम्बिक सिस्टम (Limbic system) भनिन्छ। वास्तवमा गहिरिएर हेर्ने हो भने यौनसम्बन्धी सबैजसो सन्देशहरूलाई सञ्चालन गर्ने अंग नै मस्तिष्क हो। यौन परिकल्पना, भावना तथा सोचाइहरू विशेष गरेर मस्तिष्कबाट नै प्रस्फुटन हुने गर्दछन्। यौनांग, स्तन वा छालाजस्ता विभिन्न स्रोतबाट प्राप्त उत्तेजनाहरू मस्तिष्कमा नै एकीकृत गरिने तथा बुझिने गरिन्छ र यसको अभावमा मानव यौन प्रतिक्रिया चक्र नै पूरा हुँदैन। कुनै पनि अंगबाट आएका यौनसन्देशलाई मस्तिष्कले ठीक तरिकाले अर्थ लगाएपछि मात्र त्यसले यौन उत्तेजनाको रुपमा कार्य गर्दछ र हामी उत्तेजित भएको महसुस गर्दछौं। त्यसैलै शायद कतिपय अर्थमा मस्तिष्क नै सबैभन्दा ठूलो यौन अंग मान्न सकिन्छ।
मानिसमा स्वाभाविक रुपमा नै विचार, भावना र स्मरणहरू आउँछन्, तर यी कुराहरु एक जटिल प्रक्रयाबाट सञ्चालित हुन्छन्। यौन उत्तेजना कुनै इन्द्रियको संलग्नताविना नै हुन सक्छ। परिकल्पनाबाट नै पनि यौन उत्तेजना हुन सक्छ। शारीरिक मात्र नभई सांस्कृतिक कुराको प्रभावले पनि कुन कुरा यौन उत्तेजक र कुन कुरा यौन आनकर्षक लाग्न सक्छ भन्ने कुरालाई यस्तै कुराले निर्देशित गरेको हुन्छ।
यौनसम्पर्कबाट नै जीवनको सुरुआत भएका हामी सबैको लागि यौनसम्पर्क गरेर वंशजको निरन्तरतालाई साथ दिई प्राकृतिक नियमको पालना गर्नु दायित्व हो। यौनसम्पर्क राख्ने इच्छा अर्थात् यौन इच्छा हुनु जरुरी छ। यो किन भन्ने कुराको मूल कारण खोज्दा हाम्रो प्रमुख जैविक कार्य सन्तान उत्पत्ति हो। पूर्वीय दर्शनको केही पक्षले यौनसम्पर्क सन्तान उत्पत्तिका लागि मात्र हुनुपर्ने कुरालाई जोड दिएका छन्। तर अहिले पहिलेको जस्तो वंश निरन्तरताको लागि धेरै सन्तान जन्माउनुपर्ने आवश्यकता छैन। त्यसैले आनन्दको लागि यसको प्रयोग निकै नै हुने गरेको भेटिन्छ।
मानवजातिमा योन निकै आनन्ददायी हुने गरेको कुरामा कुनै विवाद छैन। भनिन्छ, योन जति सुखमय मानव जीवनमा अन्य सुख नै हुँदैन। कतिपय प्राणीजगत्मा निश्चित समयमा मात्र यौन सक्रिय हुन्छ र सो अवधिमा मात्र यौनसम्पर्क राख्छन्। मानव भने जुनसुकै समयमा यौनसम्पर्क राख्न तयार रहन्छ। संसारमा यौनसम्बन्धी कुरामा कुनै आकर्षण नलाग्ने वा यौन व्यवहार अनाकर्ष लाग्ने व्यक्ति पनि नभेटिने होइन्न्, तर यस्ता अयौनिक व्यक्तिको संख्या अति नै न्यून हुने गर्दछ।


यौनभावना समस्या होइनयौन प्राकृतिक कुरा हो भन्ने बुझनु र त्यसलाई आत्मसात् गर्नु जरुरी छ। यौन इच्छा भयो भनेर यसबारे चिन्ता लिनु नै पर्दैन। तर कतिपय व्यक्ति विशेष गरेर किशोर-किशोरीलाई आफ्ना यौनभावनालाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरा स्पष्टसँग थाहा हुँदैन। यसो हुँदा अलमलमा पर्ने हुन्छ। र विशेष गरेर किशोरावस्थामा यो झनै चर्को रुपमा हुने गर्दछ।
यौनभावनाको कसरी व्यवस्थापन गर्ने भन्ने कुरा एकदमै महत्त्वपूर्ण हो। यसबारे शरीर, अंग-प्रत्यंगको विकास अनि त्यससँगसँगै विकसित भएर आउने अनेक यौनभावनाका बारेमा समुचित जानकारी दिन सकिए समस्या निर्मूल नभए पनि त्यसले गराउने तनाव, चिन्तालाई कम गर्न सकिन्छ। यसो हुनुले त स्वस्थ रुपमा यौन विकास भइरहेको कुरालाई संकेत गर्दछ। यौन इच्छा स्वाभाविक भएकोले यसलाई निर्मूल गर्नुपर्ने कुनै आवश्यकता छैन। जति नै तीव्र हुँदा पनि यसलाई व्यवस्थित गर्नु महत्त्वपूर्ण हो।
विपरीत लिंगी व्यक्तिप्रतिको आकर्षणलाई मात्र आकर्षण हो कि वास्तविक प्रेम हो भनेर छुटयाई उचित निर्णय गर्न सक्नुपर्छ। यौनसम्पर्क नै नराखे पनि हस्तमैथुन यौन इच्छा शान्त पार्ने एक उपाय हुन सक्छ। समाजले बनाएको नियम र मूल्य-मान्यताभित्र कतिपय कुरा मान्न सक्ने बनाउनु पनि अर्को महत्त्वपूर्ण पक्ष हो। मानवसभ्यता जति विकसित हुँदै छ, त्यति नै जटिल पनि हुँदै छ। अब जैविक दृष्टिकोणलाई पनि प्राकृतिक मानी पछयाएर पुग्दैन, यस सभ्य समाजको नियम पालना गर्नु पनि आवश्यक छ।
यौनबाहेक आफ्ना रुचिका अन्य कुरामा बढी समय बिताउने, शारीरिक परिश्रम हुने खेलकुद वा श्रम वा व्यायाम गर्ने, यौनसाहित्य वा चित्र/चलचित्रबाट टाढा रहनेजस्ता कुराहरू केही मात्रामा सहयोगी हुन सक्छन्।
यौनभावना वा यौन इच्छा नै नहुनु बरु समस्या हो। समस्या नै नभएको कुरालाई समस्या ठान्नु आफैंमा एक समस्या हो। दैनिक जीवनमा यस्ता कुराले गम्भीर नकारात्मक प्रभाव पार्न थाल्यो भनेचाहिँ विशेषज्ञको सहयोग चाहिन सक्छ।

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips