दाँत कसरी जोगाउने?

Posted by Sura Health on |







दसैं-तिहार र छठजस्ता ठूला चाड नजिकिँदै छन् । यस्ता चाडपर्वहरूमा हामी माछामासु, मिठाई र अरू खानेकुरा अरू बेलाभन्दा बढी खान्छौं । स्कुल जानुपर्दैन, घरै बस्ने त हो नि भनेर बिदाको बेला तिमीहरूमध्ये धेरैले समयमै दाँत माझ्दैनौ होला । यसो गर्दा दाँत किराले खान सक्छ । यसै पनि पछिल्लो एक दशकमा स्कुले विद्यार्थीको दाँत किराले खाने, गिजावाट रगत निस्कने समस्या बढिरहेको छ । दाँत कुहिँदा त्यसको सतहमा हुने प्वाललाई क्याभिटी भनिछ । बोलीचालीको भाषामा यसलाई दाँत मा किरा लाग्नु वा दाँत किराले खानु भनिन्छ । दाँत मा कालो खैरो दाग छ र दाँत दुख्छ भने किरा लागेको हुन सक्छ । यस्तो भएमा दन्त चिकित्सककहाँ जानुपर्छ ।
दन्त विशेषज्ञहरूका अनुसार सहरिया बालबालिकाको दाँत मा किरा लाग्ने समस्या धेरै छ । फास्टफुड, चकलेट, बिस्कुट, कुकिज धेरै खानाले यस्तो भएको हो । ग्रामीण बालबालिकाकामा गिजाको समस्या धेरै देखिएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को सहयोगमा केही वर्षअघि मुलुकका विभिन्न भागका एक र दुई कक्षामा पढ्ने विद्यार्थीको दन्त स्वास्थ्यस्थिति जान्न अध्ययन गरिएको थियो । यो अध्ययनमा ७० प्रतिशत बालबालिकाको दाँत मा किरा लागेको देखिएको दन्त विशेषज्ञ सुशील कोइराला बताउँछन् । 'पोखराको एउटा बोर्डिङ स्कुलमा एक र दुई कक्षामा पढ्ने ८५ प्रतिशत बालबालिकाको दाँत किराले खाएको पायौं,' डा. कोइराला भन्छन्, 'त्यो स्कुलमा एकदिन बिराएर बालबालिकालाई बिस्कुट र कुकिज दिने गरिएको थियो ।' जंकफुड नखाने र घरमै खाजा बनाएर टिफिन लाने जनकपुरको एउटा स्कुलमा भने बालबालिकाको दाँत राम्रो देखिएको डा. कोइराला बताउँछन् । तर सोलुखुम्बु, नाम्चेको एउटा स्कुलमा भने ७८ प्रतिशत बालबालिकाको दाँत मा किरा लागेको देखियो । त्यहाँ विदेशी पदयात्रीले बालबालिकालाई प्रशस्त चकलेट दिने गरेका रहेछन् । काठमाडौं उपत्यकाका बालबालिकाको दाँत पनि त्यति स्वस्थ छैन । काठमाडौंका सबैभन्दा राम्रा मानिएका स्कुलहरूमा ७० प्रतिशत विद्यार्थीका दाँत मा किरा लागेको देखिएको डा. सुशील कोइराला बताउँछन् । डब्लूएचओको नयाँ आकलनले विश्वभरका ९० प्रतिशत स्कुले विद्यार्थीको दाँत मा किरा लागेको छ । 'बालबालिकाले चकलेट वा गुलियो खानै हुँदैन भन्ने होइन,' डा.कोइराला भन्छन्, 'तर ललिपपभन्दा जेरी राम्रो हुन्छ किनभने यो चपाएर निलिन्छ ।' उनका अनुसार गुलियो चिज धेरै समयसम्म मुखमा रहँदा धेरै असर पुग्छ । चकलेट, कुकिज खइसकेपछि कुनै फलफूल खानु राम्रो हुन्छ । त्यसले दाँत मा टाँसिएको चकलेट, कुकिज, बिस्कुटको अंश हटाउँछ । डा. कोइराला आइसक्रिमभन्दा कुकिजलाई दन्त स्वास्थ्यको दृष्टिले खराब मान्छन् । कुकिज मुखको कुनाकुनामा गएर बस्छ, जब कि आइसक्रिम पग्लन्छ । पाँच वर्षसम्मका भाइबहिनीले आफ्ना अभिभावकको सहयोगमा दाँत माझ्नुपर्छ । दाँत माझ्दा खाने पानीको प्रयोग गर्नुपर्छ । दिनको दुई पटक ब्रस गर्नु राम्रो मानिन्छ । तीन मिनेटसम्म ब्रस गर्नुपर्छ । ब्रसलाई गिँजाबाट दाँत तर्फ लग्नुपर्छ । काइँयो ब्रसले सफा गरेजस्तै गिँजाबाट दाँत तर्फ ब्रस लग्नुपर्छ । यसले गर्दा काइँयोबाट फोहर निस्के जस्तै दाँत मा अड्किएका खाद्य कण, रेसालगायत कुरा सजिलै बाहिर निस्किन्छन् । भाँडा माझेजस्तै बल लगाएर ब्रस गर्नु हुँदैन । ब्रसमा बदामको दानाजति पेस्ट राखेर बिस्तारै सफा गर्नुपर्छ । प्ले ग्रुप नर्सरीका भाइबहिनीको सास गन्हाउने समस्या छ भने टङ क्लिनरबाट जिब्रो सफा गर्नुपर्छ । अनि एउटै ब्रसले महिनौंसम्म दाँत सफा गर्नु स्वस्थकर हुँदैन । हरेक साढे दुई महिनामा ब्रस फेर्नुपर्छ । ब्रस गरिसकेपछि त्यसलाई राम्ररी धोएर छोपेर राख्नुपर्छ । हरेक साता कडा घाममा एक घन्टा ब्रस राख्नु अझ फाइदाजनक हुन्छ । डा. कोइराला खानेबित्तिकै कुल्ला गर्ने हाम्रो चलनलाई कायम राख्नुपर्ने बताउँछन् । कुल्ला गर्नु पनि एक प्रकारले दाँत सफा गर्नु जस्तै हो । यसैगरी गाउँघरमा ब्रस नहुने भाइबहिनीहरूले निमलगायत अन्य दतिवनको समेत उपयोग गर्न सक्छन् । यस्तै नुनले दाँत माझ्नु पनि राम्रै मानिन्छ । तर गाउँघरमा दाँत बढी सेतो बनाउन खरानी, बालुवा आदिले सफा गर्ने चलन पनि हुन्छ । त्यसले चाहिँ दाँत लाई हानि पुर्‍याउँछ ।

दाँत जोगाउने उपाय राति सुत्नुअघि र बिहान खाना खाएपछि ब्रस गर्नुपर्छ । गुलियो, कोल्ड ड्रिंक्स, चलकेट बढी खानु हुँदैन । गुलियो खानेकुरा खाएपछि दाँत सफा गर्नुपर्छ । सागसब्जी, फल, चिज, दूध, दही सेवन गर्नुपर्छ । फ्लोराइड भएको टुथपेस्टले दाँत माझ्नुपर्छ |स्रोत ::कान्तिपुर  

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips