रोग निको पार्न नर्सको स्पर्श सहयोगी ?
Posted by Sura Health on |
रोग निको पार्न नर्सको स्पर्श सहयोगीपुष्पा क्षत्री मेट्रोन जनमैत्री अस्पताल मे ट्रोन पुष्पा क्षत्रीलाई नर्सिङ पढ्न सुरु गर्दा पढिसकेपछि के गर्नुपर्छ भन्नेसमेत थाहा थिएन । तर नर्सिङ सेवाबाटै एकातिर पेन्सन पकाएर विगत ४ वर्षदेखि उनी जनमैत्री अस्पताल, काठमाडौंमा मेट्रोनको रुपमा पुनः कार्यरत छिन् । ‘सबैभन्दा ठूलो कुरा आफ्नो पेसाप्रतिको सन्तुष्टि नै रहेछ’, उनी भन्छिन्– ‘म विनायोजना यस पेसामा आए पनि बिस्तारै बिरामीको सेवामा रमाउँदै गएँ । त्यसैले अहिले पनि यो पेसा छोड्न सकेकी छैन । यसैमा सन्तुष्टि छ ।’ ३९ वर्षीय मेट्रोन क्षत्रीले १२ वर्ष वीर अस्पताल, ६ वर्ष कान्ति अस्पताल, १ वर्ष राजविराज अस्पताल र १ वर्ष गण्डकी अस्पताल पोखरामा काम गरिसकेकी छिन् । २०४६ सालमा ‘बेस्ट आईसीयु स्टाफ’ अवार्डसमेत हात पार्न सफल भएकी पुष्पाले जनमैत्री अस्पतालमा काम गर्न सुरु गरेको पनि ४ वर्ष बितिसकेको छ । उनमा अझै काम गर्ने उत्साहमा कमी छैन । यस महिनाको नर्स अफ द मन्थ स्तम्भका लागि छानिएकी यिनै जनमैत्री अस्पतालकी नर्सिङ मेट्रोन पुष्पा क्षत्रीसँग साधनाकी सहायक सम्पादक जुनु भट्टराईले गरेको कुराकानीको सार– नर्सिङ पेसामा कसरी प्रवेश गर्नुभयो ? एसएलसी दिएपछि के पढ्ने भनेर दोधारमा थिएँ । साथीहरू धेरैले एजुकेसन पढ्ने भनेकाले म पनि त्यसमै भर्ना भएँ । तर घरमा भाउजू र दिदीले स्टाफ नर्स पढ्नुभएको थियो । त्यसैले पनि होला, एक दिन एक्कासी दिदी–भीनाजुले मलाई महाबौद्ध नर्सिङ कलेजमा लगेर यहीँ पढ भन्नुभयो । मलाई केही थाहै थिएन । त्यहीँ होस्टलमा बसेर पढ्न थालेँ । त्यति बेला वीर अस्पतालमा प्राक्टिकल गराउन लगिन्थ्यो । बिरामीको स्याहार गर्न निकै दिक्क लागेर आउँथ्यो । एक पटक पोलेको बिरामीको ड्रेसिङ गर्न मलाई लगाइएको थियो । पोलेको शरीर देखेर ६ महिनासम्म मासु नै खाइनँ । तर पछि सहज हुँदै गयो र यही पेसामा जीवन व्यतित गरिरहेकी छु । म यस पेसामा आउनुमा दिदी–भिनाजुकै हात छ । पेसागत महत्त्व नै नबुझी नर्सिङ पढ्नुभयो, कसरी रमाउनुभयो त यो पेसामा ? नर्स बनेपछि के हुन्छ भन्नेसमेत थाहा नहुँदै नर्स भइयो । सुरुमा पोखरास्थित गण्डकी अस्पतालमा काम गर्न थालें । त्यहाँ मलाई क्वाटर दिइएको थियो । श्रीमान् काठमाडौँकै बैंकमा जागिरे भएकाले बच्चालाई पूरा अफैँले हेर्नुपथ्र्यो । अस्पतालमा बच्चालाई पनि सँगै राखेर काम गर्थें । त्यस बेला सबैले बच्चाले बच्चा पाइछ भनेर जिस्क्याउँथे । बिरामी र मेरो बच्चा एकैचोटि रुँदा म पनि कति पटक त रोएकी छु । सोही क्वाटरमा बच्चाको डाक्टर इन्दिरा उपाध्याय हुनुहुन्थ्यो । मेरो छोरालाई केही हुनासाथ दौडाउँदै त्यहाँ पुर्याउँथे । एक पटक राति १ बजे डा. इन्दिराकहाँ छोरालाई पुर्याउँदा उहाँले नर्स भएपछि बच्चाको साधारण समस्या आफैँ Þयान्डिल गर्नुपर्छ, सामान्य रुँदैमा दौडाउने होइन भनेर सम्झाउनुभयो । त्यसपछि बल्ल थाहा पाएँ नर्स भएपछि उसको दायित्व के हुन्छ भन्ने कुरा । त्यसपछि मैले बिरामीलाई आफ्नो परिवारका सदस्यजस्तै माया गरेर सेवा दिन थालें । आफ्सेआफ पेसाको महत्त्व थाहा भयो र यसमै रमाउन थालैं । नर्सिङ पेसा र गृहस्थी जीवन मिलाउन कत्तिको सजिलो छ ? नर्सिङ पेसा अङ्गालेका महिलालाई घर–परिवार सम्हालेर काम गर्न एकदमै गाह्रो हुन्छ । डइटी आवर सकियो भनेर भाग्न पाइँदैन । कहिलेकाहीँ बिदाको दिन पनि काम गर्नुपर्ने अवस्था आइपर्छ । त्यसलाई नबुझ्ने परिवार भैदियो भने झनै गाह्रो हुन्छ । यस पेसामा सन्तानलाई समय दिन सकिँदैन । यसले गर्दा बच्चा आमाको काखको न्यानो मायाबाट वञ्चित हुन पुग्छन् । तर ‘तँ चिता म पुर्याउँछु भनेजस्तै प्रायः नर्सहरूलाई परिवारले सक्दो सहयोग गरेकै पाएको छु, नत्र यो पेसामा कसरी टिकिरहनु र ? अस्पतालको वातावरण शान्त र पे्रममय बनाउन कस–कसको भूमिका रहन्छ ? डाक्टर र नर्स मात्र होइन, अस्पतालमा काम गर्ने हरेक कर्मचारीको व्यवहार नरम हुनुपर्छ । अस्पतालको फार्मेसीदेखि लिएर सरसफाइ गर्नेहरू सबैसँग बिरामीहरू कुनै न कुनै तरिकाले सम्पर्कमा आइरहनुपर्ने हुन्छ । त्यसैले अस्पतालका सबै कर्मचारीको व्यवहारले त्यहाँको वातावरण कस्तो बनाउने भन्ने निर्धारण गर्छ । कहिलेकाहीँ बिरामी–कुरुवाकै व्यवहारले पनि वातावरण तनावग्रस्त बनाउँछ । डस्टबिन त्यहीँ हुँदाहुँदै पनि जथाभावी फोहोर फालिदिन्छन्, भनेको मान्दैनन् । यसले गर्दा कुचिकार झर्कने–रिसाउने गर्छन् । बिरामी–कुरुवाको व्यवहारले हैरान नै हुने भएकाले कहिलेकाहीँ नकराई सुखै पाइन्न । यो देखेर बिरामीले सिंगंो अस्पतालको वातावरणलाई दोष दिने गर्छन् । त्यसैले बिरामी–कुरुवा र कर्मचारीबीच सुमधुर सम्बन्ध हुन सके अस्पतालको वातावरण त्यसै शान्त र प्रेममय बन्छ । नयाँ पुस्ताका नर्समा के कमी देख्नुहुन्छ ? सेवामै फोकस भएको पेसा हो यो । दया–माया नभएका मानिस यस पेसामा काम गर्न सक्दैनन् । नर्सिङ पेसामा लाग्नेहरूमा डर हुनु हुँदैन । डर मान्नेहरूले काम गर्न सक्दैनन् । हिजोआज नयाँ पुस्ताका नर्समा अरु धेरै राम्रा पक्ष भए पनि काउन्सिलिङ पार्ट भने छँदै छैन । मोबाइलमा कुरा गरिराख्ने, बिरामी–कुरुवाले केही सोधे त्यता हेर्दै नहेरी जवाफ दिने, बिरामीलाई स्पर्श नगर्ने खालका स्वभावहरू देखिन्छन् । यस्तो बानीले बिरामी र नर्सबीचको सम्बन्ध नजिक्याउनुभन्दा दूरी बढाइदिन्छ । त्यसैले नयाँ पुस्ताका नर्सले यस्तो बानी सुधार्नुपर्ने जरुरी देख्छु म । बिरामीलाई गरिने स्पर्श पनि एक प्रकारको उपचार नै हो । स्पर्शद्वारा गरिएको उपचारले बिरामीको रोग निको पार्न धेरै सहयोग पुग्छ । यस्तो स्पर्शसहित उपचारशैली नर्सिङ पेसाका नयाँ पुस्तामा निकै कमी देखिन्छ । त्यसैले अब आउने नयाँ पुस्तालाई सहयोग पुगोस् भन्ने ठानेर यस विषयलाई कोर्स बुकमै पनि राख्नुपर्ने माग गरेका छौं । मेट्रोनको जिम्मेवारी सम्हाल्नुभएको छ, कस्तो अनुभव गर्दै हुनुहुन्छ ? मेट्रोन हुन सजिलो कहाँ रहेछ र ? अप्ठइरा र जिम्मेवारी धेरै छन् । सबैलाई एकसाथ मिलाएर लान सके काम लगाउन सकिन्छ, नत्र निकै गाह्रो छ । धेरै ठाउँबाट प्रेसर आउँदोरहेछ । स्टाफ नर्सलाई जागिर लगाइदिनुपर्यो भन्दै सोर्सफोर्स आउँछन् । पार्टीगत एवम् व्यक्तिगतरूपमा आएका यस्ता प्रस्तावले कहिलेकाहीँ निकै तनावग्रस्त बनाइदिन्छ । एक पटक एक सभासद्ले हाउसकिपिङमा एक जना व्यक्तिलाई पठाउनुभएको थियो । एक दिन अचानक फोन गरेर ती सभासद्ले ‘पुष्पा म्याडम १ हाम्रो मान्छेलाई फोहोर उठाउन लाउनुभो नि१’ भन्नुभयो । म त छक्क परें । तपाईं आफैँ भन्नुस् त– हाउसकिपिङमा राखेका मान्छेको काम के हो ? त्यसैले मेट्रोनको जिम्मेवारी लिन त्यति सजिलो छैन मेरो अनुभवमा । नर्सिङ पेसाको भविष्य कस्तो देख्नुहुन्छ ? नर्सिङ पेसाको भविष्य उज्ज्वल छ, तर पेसालाई बुझेर काम गर्नेहरूका लागि मात्र । हिजोआज विदेश जानका लागि भनेर मात्रै पढ्ने विद्यार्थी धेरै छन् । सही तरिकाले पेसागत दायित्व र कर्तव्यलाई बुझेर आउनेहरूको भविष्यचाहिँ निकै राम्रो छ । नर्सिङ सेवामा रहँदा आइपरेका रमाइला एवम् दुःखद क्षणहरू केही छन् कि ? वीरमा आईसीयुमा काम गर्दाको घटना हो, एक जना बिरामीको उपचार गराउँदागराउँदै मृत्यु भयो । मृत्यु हुनासाथ उसको हात–खुट्टा सीधा बनाइदिनुपर्छ भन्ने मलाई थाहै थिएन । पछि सँगै काम गर्ने दिदीले त्यो मान्छेको खुट्टा त सीधा बनाइदियौ नि भनेर सोध्दा झसङ्गै भएँ । पछि बिरामीको मान्छे लास देखेर धेरै रोयो । उसले भन्यो– ‘कि हामीलाई भित्र आउन दिनुपथ्र्याे, कि त हातखुट्टा सीधा पारिदिनुहुथ्र्यो, अब हामीले कसरी लाने ?’ मलाई साह्रै दुःख लाग्यो त्यस बेला । यी कुरा डेथ बडी केयरमा पर्दारहेछन्, हामीलाई सिकाएकै थिएन । मैले गरेको त्यो गल्ती अहिले पनि सम्झन्छु । अहिलेका नर्सलाई म यो घटना सम्झाउँछु कि उनीहरूले मैले जस्तो गल्ती नगरुन् । यस्तै, वीर अस्पतालको आईसीयुमा काम गर्न थालेको केही अवधिपछि वीर अस्पतालको आईसीयु इन्चार्जले एक दिन मलाई सोध्नुभयो– ‘तिमीलाई थाहा छ, अस्पतालबाट यो वर्ष अवार्ड कसले पाउँदै छ ?’ मलाई केही थाहा थिएन । उहाँ अलि कडा स्वभावकी हुनुहुन्थ्यो । काम राम्रो भएन भन्दै सबैलाई कराइरहनुहुन्थ्यो । उहाँले म अनमिस भएको थाहा पाएर भन्नुभयो– ‘तिमी पूरा तयारी भएर आउनू अवार्ड थाप्न ।’ उहाँले मेरो मूल्यांकन त्यसरी गर्नुहुन्छ भन्ने कल्पना पनि गरेकी थिइनँ । म त त्यति बेला यति खुशी भएँ कि अहिले व्यक्त नै गर्न सक्दिनँ । आज पनि त्यो दिन ताजै छ र सम्झन्छु– इमानदारीपूर्वक काम गर्नेको एक दिन सही मूल्यांकन हुन्छ । उपचारमा संलग्न डाक्टर र नर्सको सम्बन्ध कस्तो हुनुपर्छ ? डाक्टर र नर्स दुवैविना उपचार सफल हुँदैन । डाक्टरसँग बिरामीको केयर गर्ने समय हुँदैन । उनीहरूले निर्देशन दिन्छन्, हामी सोहीअनुसार काम गर्छा । तर कतिपय डाक्टरहरू नर्सलाई पेल्न खोज्ने पनि हुन्छन् । नयाँ डाक्टरलाई पुराना अनुभवी सिस्टरले केही सिकाएमा उनीहरू रिसाउँछन् र डोमिनेट गर्न खोज्छन् । कतिपय स्टाफ नर्स र सिस्टर डाक्टरको व्यवहार नराम्रो भएको भनी गुनासो पनि सुनाउने गर्छन् । डाक्टरले त्यो कुरा बुझ्नु जरुरी हुन्छ । डाक्टर टाइममा नआइदिँदा उपचारमा संलग्न स्टाफ नर्सलाई कति अप्ठइरो पर्छ भन्ने उनीहरूले कल्पना पनि गर्दैनन्, त्यतिखेर हामी आफैंले बिरामीलाई यान्डिल गर्नुपर्ने हुन्छ । कुल हुन के गर्नुहुन्छ ? कहिलेकाहीँ तनाव धेरै हुन्छ । त्यो समयमा म चिसो पानी पिउँछु र एकछिन् एक्लै बस्छु । जब दिमाग ठण्डा हुन्छ तब मात्र त्यो विषयमा छलफल गर्छु । कहिलेकाहीँ गीत सुन्छु र दिमागलाई रिफ्रेस गर्छु । अन्त्यमा केही भन्न चाहनुहुन्छ कि ? साधनालाई धेरै–धेरै धन्यवाद १ म साधनाको नियमित पाठक हुँ । स्वास्थ्यसम्बन्धी काम गर्ने मानिसका लागि साधनाको योगदान निकै ठूलो छ । स–साना समस्याको बारेमा साधनाले दिने खुराकले यस पत्रिकालाई घरको डाक्टर भन्दा पनि फरक नपर्ला । हामीलाई आफ्ना कुरा राख्ने मौका दिनुभएकोमा पुनः धन्यवाद र शुभकामना पनि । |
You can subscribe by e-mail to receive news updates and breaking stories.