मांसपेशी दुखाइमा योग चिकित्सा ?

Posted by Sura Health on |







मांसपेशी दुख्नुको कारण मांसपेशीमा अनेक कारणले दुखाइ हुने गर्छ । खेलकुद, व्यायाम वा अन्य काम गर्दा लगातार, छिटो एवम् बढी मांसपेशीको प्रयोग हुनाले त्यसबाट उत्पन्न हुने तनाव मुख्य कारण हो । यसरी नै कुनै दुर्घटना, कुटपिट वा अन्य कारणले हुने चोटपटकले पनि मांसपेशीमा असर पर्छ र दुख्छ । हाड–जोर्नी तथा बाथरोगहरू (जस्तै– मूत्राम्लजन्य बाथरोग, र्युमेट्वाइड बाथ, लुपस, जोर्नी खिइनेलगायत अन्य प्रकारका बाथरोगहरू, हाड–जोर्नीको संक्रमण, हाड खिइने–सर्ने–चोटपटकका समस्याहरू), छालामा हुने संक्रमण पनि मांसपेशीमा पीडा हुने कारणहरू हुन् ।

यसरी नै कुनै आन्तरिक अंगमा हुने रोग र संक्रमण, नसाका रोगहरू जस्तै– नशा च्यापिनु, सुन्निनु, नसामा चोटपटक लाग्नु, कमजोर हुनु, पूरा शरीरकै नसाको समस्या, नसा कडा हुने–सुन्निने–बिग्रने रोग  पनि मांसपेशी दुख्ने कारण हुन सक्छ । रक्तसञ्चारको कमी भई पेशीतन्तुमा अक्सिजनको कमी र ल्याक्टिक एसिड बढी जम्मा हुने कारणले पनि मांसपेशीमा दुखाइ हुन सक्छ । कुनै–कुनै छारेरोगमा हातखुट्टाका मांसपेशीमा असÞय पीडा र हल्लिने समस्या हुन्छ भने कतिपयलाई वंशाणुगत कारणले पनि यस्तो समस्या आउँछ । यसरी नै पोषण तत्त्वको कमी, औषधिको असर,  मानसिक वा मनोवैज्ञानिक समस्या, थाइराइडजस्ता हर्मोनजन्य समस्याहरू, जीवनीशक्तिसम्बन्धी रोगहरू थप कारणहरू हुन् ।

मसल पेनका लक्षण
कुनै एक वा धेरै मांसपेशी एकसाथ वा फरक समयमा दुख्ने वा गल्ने हुन्छ । दुखेको मांसपेशीवरपर रातो, सुन्निएको देखिन सक्छ वा कुनै संकेतविना नै मासु दुख्ने पनि हुन्छ । दुखाइको प्रकृति कारणअनुरूप फरक हुन सक्छ । अरु कारणले देखिनेमा सो कारण कत्तिको गम्भीर छ सोही अनुरूप समस्या आउँछ । जस्तै– मूत्राम्ल ज्यादै  बढेर जोर्नी सुन्निएको छ भने वरपरका मांसपेशीमा पनि बढी नै पीडा हुन्छ । हिँड्दा, काम वा व्यायाम गर्दा वा बसिराख्दा पनि फत्रक्क जीउ गल्ने, दुख्ने, बाउँडिने, मासु हल्लिने, काम्ने, ज्वरो आउलाजस्तो हुने वा ज्वरो आउने, जीउ पोल्ने, झमझमाउने, हातगोडा निदाएकोजस्तो हुने, चिसो हुने आदि लक्षणहरू पनि आउन सक्छन् । कुनै भाग अररो ९क्तषालभकक० हुने, जीउ चलाउनसमेत गाह्रो हुने हुन्छ । मुटुको मांसपेशी दुखेको छ भने मुटुको वरिपरि छातीमा दुख्ने हुन्छ । टाउको–आँखाको मांसपेशी दुखाइका कारण टाउको दुख्ने समस्या हुन्छ । पेटका मांसपेशीको कारणले पेट दुख्ने, बान्ता आउने आदि लक्षणसमेत हुन्छ । मांसपेशी क्षति, नसारोग, फाइब्रो मायल्जिया, लुपसजस्ता रोगमा तीव्र र गम्भीर खालको पीडा हुन सक्छ । जाडो वा चिसो मौसम, बादल र वर्षा भएको दिन वा रात, खानपानमा बढी गडबडी भएको दिनमा यस्तो दुखाइ बढी हुन्छ ।

दुखाइबाट हुन सक्ने जटिलता
मांसपेशी दुखाइ र अररोपना पनि भएमा काम गर्न,  हिँड्डुल गर्न र सहन पनि निकै गाह्रो हुन्छ । रोग र समस्याअनुरूप यसमा सामान्य वा गम्भीर खालका जटिलताहरू आउन सक्छन् । मांसपेशी क्षय भएर अंगहरू सुक्ने, मांसपेशी कमजोर भई शरीरको सन्तुलन हराउने, थला पर्ने हुन्छ । यसरी नै कारक रोगहरू बढेअनुरूप थप अप्ठइराहरू आउन सक्छन् ।

निदानको उपाय
बिरामीको रोगको इतिहास, मांसपेशी भएको स्थान, दुखाइका साथमा हुने लक्षणहरू, हाड–जोर्नी तथा आन्तरिक अंगमा भएको रोग र लक्षणअनुरूप निदानका उपाय अवलम्बन गर्न सकिन्छ । चिकित्सकले लक्षण र संकेतको जाँच गरेपछि बाथरोग, संक्रमण, हर्मोन आदिको अवस्था थाहा पाउन रगत जाँचलगायत अन्य जानकारी प्राप्त गर्न एक्सरे, सी.टी.स्क्यान, अल्ट्रासाउन्ड आदिमध्ये के गराउने भन्ने निर्णय लिन्छन् र रोग निदान गर्न सकिन्छ । यो समस्यामा कहिलेकाहीँ त कारणहरूको स्पष्ट निदान हुन पनि सक्दैन ।

योग चिकित्सा
मांसपेशीको समस्यामा दुखेको भागको स्थानीय उपचारका लागि रक्तसञ्चार वृद्धि, नसा तथा रक्तनलीहरूमा हुने अवरोधको उपचारजस्ता कुरामा ध्यान दिइन्छ । यसका लागि यौगिक सूक्ष्म व्यायामहरू वा सो अंगमा प्रभाव पार्ने खालका आसनहरू अभ्यास गराइन्छ । यसका साथै सम्पूर्ण शरीरकै उपचार र रक्तशुद्धिका लागि अनेक यौगिक शोधनका उपाय अपनाइन्छ । पूरा शरीरको उपचार र दीर्घकालीन लाभका लागि षट्कर्म, आसन, प्राणायाम आदिले प्रायः मांसपेशी दुखाइ हुने रोगमा लाभ दिन्छ र शरीरको प्रतिरोधक तथा जीवनी शक्तिमा समेत वृद्धि हुन्छ ।

यौगिक सूक्ष्म व्यायाम
विभिन्न हाड–जोर्नीका व्यायामहरू गर्दा त्यससँगै जोडिएको मांसपेशीको पनि व्यायाम पुग्ने हुँदा जोर्नी दुखाइका लागि प्रयोग हुने प्रायः सबै सूक्ष्म व्यायामहरू यसका लागि पनि अभ्यास गर्न सकिन्छ ।

हातका सूक्ष्म व्यायामहरू ः बलपूर्वक औंलाहरू खुम्च्याउने–फैलाउने, नाडीको जोर्नीलाई मुठ्ठी बन्द गरेर वा खोलेर उल्टो–सुल्टो घुमाउने, हातले कुनै वस्तु तानेजस्तो गर्दै कडा गरी कुहिनाबाट हात खुम्च्याउने–फैलाउने, हातलाई तल–दायाँ–बायाँ–माथि राखी लुलो गरेर हल्लाउने तथा घुमाउने आदि आफ्नो शक्तिअनुसार ५–१० पटक अभ्यास गर्नुहोस् । यी व्यायामले हात, छाती, काँधमा भएका मांसपेशीका समस्या कम गर्छन् ।

खुट्टाका सूक्ष्म व्यायाम : खुट्टा अगाडितिर सोझो गरी फैलाएर हात पछाडितिर जमिनमा टेक्ने र  पैताला–पञ्जालाई अघि–पछि तन्काउने, खुट्टाका औंलाहरू खुम्च्याउने–फैलाउने, पैताला–गोलिगाँठोसँगैको जोर्नीलाई उल्टो–सुल्टो घुमाउने, एउटा खुट्टालाई खुम्च्याई हातले तानेर छातीमा बलपूर्वक टाँसिराख्ने गर्न सकिन्छ । यसरी नै बसेर एउटा खुट्टा खुम्च्याउने, कैंचीजस्तो गरी हातको औंला फसाएर जोडेको हत्केलामा पैताला टेकाउने र हातलाई पैतालाले दबाब दिने ४–५ पटक गरेर दोस्रो खुट्टाको पनि गर्ने । अन्तमा उत्तानो बसेर वा सुतेर दुवै खट्टालाई केही फरक राखी लुलो गरेर हल्लाउने गर्ने । घोप्टो सुतेर, बसेर, उठेर विभिन्न किसिमले मांसपेशीलाई लुलो पारी चलाउने समेत गर्न सकिन्छ । यस्ता सरल व्यायामले हातखुट्टा, पेट, कम्मर र नितम्बसम्मका मांसपेशीको दुखाइ र तनावलाई कम गर्न सहयोग गर्छ ।

गर्दन–टाउकोका सूक्ष्म व्यायाम:  बसेर वा उभिएर टाउकोलाई तल–माथि, दायाँ–बायाँ मोड्ने, दायाँ–बायाँ ढल्काई कानले काँध छुने, चारैतिर बिस्तारै उल्टोसुल्टो घुमाउनेजस्ता व्यायामहरू गर्दनका मांसपेशीको दुखाइमा काम लाग्छन् ।

काँधका सूक्ष्म व्यायाम: काँधको भागलाई तल–माथि, अगाडि–पछाडि गरेर कुम चलाउने, कुम घुमाउने, दुवै हात खुम्च्याएर काँधको जोर्नीमा राखी हातलाई चारैतिर उल्टो–सुल्टो घुमाउने गर्दा काँधवरपर, पिठइ, हात, छाती र गर्दनवरपरका मासपेशीको दुखाइ कम गर्छ । यसरी नै (वज्रासनमा बसेर वा उठेर) टाउको पछाडिबाट दाहिने हातले देब्रे हातलाई समातेर बिस्तारै तान्ने, एकैछिन् रोक्ने, छोड्ने, फेरि देब्रे हातले दाहिने हातलाई त्यसरी नै तानेर रोक्ने एवम् छोड्ने गर्दा पिठइ, काँध, गर्दन र हातका मांसपेशीहरू दुख्ने समस्यामा लाभ मिल्छ ।

कम्मर र मेरुदण्डका सूक्ष्म व्यायाम : उत्तानो सुती दुवै हात दायाँ–बायाँ फैलाउने, दुवै खुट्टा खुम्च्याएर केही फरक राख्ने र अब टाउको र खुट्टालाई बिस्तारै विपरीत पार्दै कम्मरको भागबाट शरीरलाई मोड्ने गर्नुहोस् । पालैपालो दुवैतिर मेरुदण्ड मोड्दै जीउ चलाउनुस् । यसरी नै उभिएर हात कम्मरमा राखी कम्मर चारैतिर उल्टो–सुल्टो घुमाउने पनि गर्न सकिन्छ । यी व्यायामले पूरा जीउको मांसपेशीको दुखाइ कम गर्न सघाउँछन् ।

मांसपेशी दुख्ने समस्याका लागि आसनहरू
मांसपेशीको दुखाइका लागि अनेकौं आसनहरू गर्न सकिन्छ, तर कहाँको मांसपेशीको समस्या छ सोहीअनुसार आसनको छनोट गर्न योगविज्ञ वा प्राकृतिक चिकित्सकको सल्लाह लिनुपर्छ । उत्तानपादासन, पवनमुक्तासन, सलभासन, गरुडासन, चन्द्रदर्शनासन, ताडासन, पादसञ्चालनासन, सूर्य नमस्कार आदि बढी उपयोगी छन् । यसरी नै अनेकौं आसनको अभ्यास यस समस्यामा गर्न सकिन्छ । यीमध्ये यहाँ गरुडासनको चर्चा गरिन्छ ।

गरुडासन : उभिनुहोस् । हातलाई छातीको अगाडि ल्याएर कुहिनाबाट दुवैलाई नागबेली किसिमले बेर्ने–बटार्ने गरेर नमस्कार गरेजस्तै गरी अनुहारको अगाडि राख्नुहोस् । अब एक खुट्टाले टेकेर जीउलाई सन्तुलनमा राखी केही खुम्च्याई अर्को खुट्टालाई तिघ्रामाथिबाट बेर्दै पछाडि लगी खुट्टाको पञ्जाले रोकेर अडइउनुस् । सुरुमा आँखा खोल्ने र अभ्यस्त भएपछि बन्द गर्ने गर्नुस् । केहीबेर शरीर सन्तुलित पारी सोही स्थितिमा रहनुहोस् । केही मिनेटपछि अर्कोतिर हातखुट्टा परिवर्तन गर्दै अभ्यास गर्नुहोस् ।

यसको अभ्यास गर्दा शरीर सन्तुलनमा नराखेमा लडिने डर हुन्छ । सुरु–सुरुमा भित्तामा आड लिनुस् । हातगोडा बटार्ने क्रममा सावधान हुनुस् र नमर्किने गरी अभ्यास गर्नुपर्छ । घुँडा बढी दुख्नेहरूले नगर्नुहोला । गरुडासनले मांसपेशी दुख्ने समस्यालगायत नसा दुख्ने, झमझमाउने आदि पनि कम गर्छ । मानसिक एकाग्रता बढाउँछ, तनाव र चिन्ता कम गर्छ । यौन दुर्बलता घटाउँछ ।

थप यौगिक चिकित्साहरू
षट्कर्म तथा अन्य शोधन विधि : षट्कर्मका नेति, धौति, वस्ति, नौलि, त्राटक र कपालभाँतिजस्ता विधिले शरीरलाई शोधन गर्न मद्दत गर्छ । यी कर्महरूको अभ्यासका क्रममा अनेक मांसपेशीलगायत अन्य अंगहरूमा समेत सकारात्मक प्रभाव पर्छ । रगतजन्य कारणहरू (जस्तै– मूत्राम्ल बाथ, र्युमेटिक बाथ आदि) ले गर्दा मांसपेशीमा हुने प्रत्यक्ष दुखाइमा समेत यी षट्कर्मले लाभ पुग्छ र जोर्नी एवम् पेशीहरूमा हुने पीडा कम हुन्छ । यसरी रगत सफा गर्न वा रगतका तत्त्वहरूलाई सामान्य राख्न षट्कर्मलगायत लघु तथा पूर्ण शंखप्रक्षालनको प्रयोग पनि उपयोगी छ । कुनै योगविज्ञसँग यो अभ्यास सिक्नु राम्रो हुन्छ ।

प्राणायाम र ध्यान: मानसिक समस्याले गर्दा हुने नसा तथा मांसपेशीको दुखाइमा मानसिक ऊर्जा बढाएपछि मात्र फाइदा पुग्ने हुन्छ । यसर्थ मानसिक लाभका लागि प्राणायाम र ध्यानको अभ्यास गर्न सकिन्छ । मानसिक चिन्ताजन्य स्नायुविक पीडा, पेशीगत थकान, डिपे्रसनविरोधी हर्मोनहरू कम गरी मष्तिस्क तथा अन्तःस्रावी ग्रन्थिहरूमा सकारात्मक प्रभाव उत्पन्न गरेर तनावरोधी हर्मोन तथा न्युरोट्रान्समिटरहरूको उत्पादन बढाउन अनुलोम–विलोम, नाडिशोधन, भ्रामरी, भस्त्रिका प्राणायाम तथा धारणा र ध्यानको प्रयोग गर्न सकिन्छ ।

भष्मलेपन तथा मर्दन : खरानीलाई सुक्खारूपमा दुखाइ भएको भागमा मलेर घाममा केहीबेर बस्ने तथा कहिलेकाहीँ खरानीलाई पानीमा भिजाएर दुखेको भागमा लेप गरी घाममा सेकाउने गर्दा फाइदा हुन्छ । मुल्तानी माटोको लेपन पनि लाभदायक छ ।

मांसपेशी दुखाइमा खानपान
फाइदा गर्ने खानपान : फलफूल (केरा, अनार, स्याउ, सुन्तला, मौसम आदि), हरियो ताजा तरकारी (पालुंगो, बेथे, चम्सुर आदि), अंकुरित गेडागुडी (चना, मुँग, केराउ आदि), काँचो सलाद (गाजर, चुकन्दर, सलादपात आदि), दही, दूध प्रायः खाने गर्नुपर्छ । यसरी नै चीज, बदाम, मदिसेबदाम, भटमास, ज्वानो, मिश्रित दाल आदिको पनि प्रयोग गर्नुपर्छ । सात्विक यौगिक भोजन लाभदायक हुन्छ ।

बेफाइदा गर्न सक्ने खानपान : तामसिक खानपान गर्नुहुँदैन । यसरी नै कर्कलो, तामा, पुरानो अचारले बेफाइदा गर्छ । धूमपान एवम् बियर, जाँड, वाइन, रक्सीजस्ता मद्यपानले दुखाइको समस्या बढाउन सक्छ । मूत्राम्ल बढेको अवस्थामा गेडागुडी, दही–दूध र मांसाहार हानिकारक हुन्छ ।

दुखाइ भएको भागमा तातोले सेक्ने, तातो पानीमा डुबाउने, मालिस गर्ने आदि पनि गर्न सकिन्छ । कतिपय अवस्थामा भिटामिन, खनिजहरूको आपूर्ति गर्नुपर्ने र थप औषधिको पनि आवश्यकता पर्न सक्छ । तसर्थ विज्ञ चिकित्सकको सल्लाह जरुरी हुन्छ ।

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips