रक्तअल्पता (Anemia)
Posted by Sura Health on |
दशैं तिहारको समय छ । रमाइलो मौसम छ । अफिस तथा स्कूलमा छुट्टीहरु सुरु भैसकेका छन् । गाउँ घरमा खेती भित्राउने समय पनि अझै आइसकेको छैन । हामी मध्ये धेरै जना चाडबाडको तयारी तथा साथीभाइ भेटघाट मा ब्यस्त छौं । अफिसका ब्यस्त दिनहरु, खेतमा थकित हुने गरि रात अबेरसम्म गरिने कामहरुबाट केहि समयको लागि भएपनि टाढा भएका छौं ।
तर तपाई हामी मध्ये कति जना अफिसको व्यस्तता नभएपनि या खेतको कठिन कामहरु गर्नु नपरेपनि आलस्य महसुस गरिराखेका हुन्छौं । घरको सानोतिनो कामहरु जस्तै सरसफाई, सानो पैदल हिडाईबाट पनि पनि थकित हुने, चक्कर आउने, फेन्ट होला जस्तो हुने, कमजोर महसुस हुने जस्ता लक्षण छन्र भने यो रगतको कमीले गर्दा हुन सक्छ । खासगरी महिला, बच्चा बच्चीहरु तथा बढ्दो उमेरका किशोर किशोरीमा रगतको कमि हुनु एक आम समस्या हो ।
रगत हाम्रो सरिरमा पोषक पदार्थ, अक्सिजन, बिकार हरु इत्यादी ओसारपोसार गर्ने महत्वपुर्ण अंग हो। सामान्यतया ६० किलो को स्वास्थ्य मान्छे मा लगभग 5 लिटर रगत हुन्छ । रगतमा ५५ प्रतिशत प्लाज्मा भन्ने तरल पदार्थ र बाकी रक्तकोश हुन्छन । राता रक्तकोश सबैभन्दा धेरै हुन्छन जसमा हेमोग्लोबिन भन्ने पदार्थ हुन्छ । हेमोग्लोबिन को कारण ले गर्दा नै रगत रातो देखिने हो । हेमोग्लोबिनले फोक्सो बाट ताजा अक्सिजन सरिरका विभिन्न तन्तुहरुमा पुर्याउछ । राता रक्तकोश या हेमोग्लोबिन को कमि भएमा सरिरका अंग हरुले अक्सिजन सजिलै संग पाउदैनन जसको कारण मान्छेले कमजोरी महसुस गर्छ अनि छिटो छिटो सांस लिन सुरु गर्छ ताकी सरिर मा अक्सिजन को कमि नहोस ।
रक्तअल्पता अर्थात् एनीमिया
रगतमा हुने राता रक्तकोस या रक्तकोश भित्र हुने हेमोग्लोबिन मध्ये कुनैको पनि कमि भएमा यसलाई रक्तअल्पता भनिन्छ । सामान्यतया स्वस्थ पुरुषमा हेमोग्लोबिन १३.० gm/dl तथा महिला मा १२.० gm/dl भन्दा बढ़ी हुन्छ । यो भन्दा कम हेमोग्लोबिन भएमा रक्तअल्पता भएको मानिन्छ । नेपाल लगायत बिकासोन्मुख देशहरुमा रक्त अल्पता को समस्या निकै नै ब्याप्त छ । खास गरेर प्रजनन उमेरका महिलाहरुमा ४०-८० प्रतिशतमा यो समस्या भएको अध्धयन हरुले देखाएका छन् ।
रक्तअल्पता किन हुन्छ?
हेमोग्लोबिन मा हुने सबै भन्दा महत्वपुर्ण तत्व हो आइरन । यसको अर्थ आइरन नभएमा हेमोग्लोबिन या राता रक्तकोश बन्न सक्दैन । आइरन र प्रोटिन मिलेर हेमोग्लोबिन बन्ने प्रक्रियामा विभिन्न भिटामिनको पनि महत्वपुर्ण भूमिका हुन्छ । रक्तकोश निर्माणमा खास गरि फोलिक एसिड भन्ने भिटामिन र भिटामिन B-१२ पनि अत्यन्त आवस्यक हुन्छन । कुनै पनि कारणले सरिरमा आइरन, भिटामिन फोलिक एसिड, भिटामिन BB-12 तथा प्रोटिनको कमि भएमा हेमोग्लोबिन बन्ने प्रक्रियामा अबरोध आउछ र रक्तअल्पता हुन सक्छ । सरिरमा रगतको कमि उत्पन्न गराउने कारणहरु ३ प्रकारका हुन सक्छन ।
1. रगत कम बन्नु- माथि उल्लेख गरिएका तत्व को अभाव ले गर्दा जस्तै खाना मा पोषक पदार्थको कमिले गर्दा रगत बन्ने प्रक्रियामा रोकावट आउछ । बढ्दो उमेरका किशोर किशोरीहरु, गर्भवती महिलाहरु, स्तनपान गराउने महिलाहरुमा पोषक तत्वको आवस्यकता सामान्य मानिसमा भन्दा धेरै हुन्छ जुन पुरा नभएमा रगत निर्माणमा प्रतक्ष्य असर पर्छ ।
2. सरिरमा रक्तकोशको नस्ट छिटो छिटो हुनु- राता रक्तकोशहरुको आयु १२० दिनसम्म हुन्छ । तर कुनै कुनै बिरामीमा कोषहरू छिटो छिटो नस्ट हुने गर्छन । रगत बन्ने प्रक्रियामा गडबडी हुने बिरामीहरु जस्तो कि सिकल सेल एनेमिया , थालासेमिया इत्यादी, अनि मलेरिया जस्ता बिरामीहरुमा रक्तकोशहरु उमेर अगाडी नै मर्ने गर्छन । नस्ट भएको अनुपातमा नया रगत बन्न नसक्दा सरिरमा रगतको कमि हुन जान्छ ।
3. सरिर बाट रगत खेर जानु – चोटपटक तथा घाउबाट रगत धेरै बग्नु, कुनै ठुलो अप्रेसन हुनु, महिनावारीमा अत्यधिक रक्तस्राव हुनु, पेटमा अल्सर, क्यान्सर तथा मलद्वारमा पाइल्सको रोग हुनु, पेटमा रगत चुस्ने परिजिविहरु हुनु रक्तअल्पताका अरु कारण हुन ।
रक्तअल्पताका लक्षणहरु
रगतको कमि भएर पनि कतिपयलाई लामो समयसम्म लक्षणहरु नदेखिन सक्छन भने कतिजनालाई सुरुबाटै समस्याहरु आउन सक्छन । रगतको कमि हुनु आफैमा एक बिरामी हुन पनि सक्छ भने कहिलेकाही अरु कुनै बिमारीको लक्षण पनि हुन सक्छ । रगतको कमिको कारणले हुने केहि लक्षण हुन्-
1. सरिरमा आलस्यपन आउने, अल्छी लाग्ने, छिटो थकाई लाग्ने
2. सधै कमजोरी को महसुस हुने, चक्कर आउने, टाउको दुख्ने, रिंगटा लाग्ने, फेन्ट हुने
3. सानो सानो काम गर्दा पनि सांस फुल्ने, मुटुको धड्कन बढ्ने
4. हात खुट्टाहरु चिसो रहने, अनुहार, आँखाको परेलीको पछाडिको भाग एबम जिब्रो सुक्खा र सेतो देखिने
5. मुखमा, ओंठको कुनाहरुमा, जिब्रोमा घाउ खटिरा धेरै आउने
6. नङहरु सेता, सुख्खा र सजिलै संग भाचिने
7. सोच्ने क्षमतामा कमि आउने, बच्चाको पढाइमा कमजोरी आउने
8. आइरनको कमि ले गर्दा हुने रक्तअल्पतामा कतिपय बच्चाले माटो, कागज, घाँस या अन्य अखाद्य बस्तु खान मन पराउछन ।
9. कसैकसैमा हात खुट्टा तथा सरिर सुनिने, हात खुट्टा तथा सरिर झमझमाउने, बिरक्त लाग्ने जस्ता लक्षण देखिन्छन
रक्तअल्पताको उपचार तथा रगत बढाउने उपायहरु
रक्तअल्पताका प्रकारहरु सयौ छन् तर अधिकांशमा यो समस्या आइरन र अरु पोषक तत्वको कमिले गर्दा हुन्छ । यसको उपचार भनेको आइरन र भिटामिन युक्त खानाको सेवन गर्नु हो । यदि गम्भीर रक्तअल्पता छ भने डाक्टरले ट्याब्लेट या इन्जेक्सनको रुपमा आइरन र भिटामिन दिनसक्छन । साथ साथै पोषक तत्वको कमि गराउने कारण हरु जस्तै अपचको रोग, रगत खेर जाने कारण जस्तै अल्सर, पेटमा जुका, पाइल्स, महिनावारीको बिमारी इत्यादिको उपचार गराउनु पनि उत्तिकै जरुरि हुन्छ ।
कुनैपनि रोग लागिसकेपछि उपचार गर्नुभन्दा रोग लाग्नुनै नदिनु बेश हुन्छ । यसर्थ रगतको कमि बाट समस्याहरु आइ ट्याब्लेट र इन्जेक्सन लिनुभन्दा यो समस्या आउन नै नदिनु राम्रो । यसको लागि आइरन तथा भिटामिनयुक्त खाद्य पदार्थ हाम्रो नियमित खानपिन मा समावेस हुनु जरुरि छ । आइरन र आवस्यक भिटामिनका मुख्य स्रोत हुन्:
1. आइरनको स्रोत- मासु, कलेजो, अन्डाको पहेलो भाग, हरिया सागपात (रायो, चम्सुर आदि), नफलेको अर्थात् पलिश नगरेको गहुँको पिठो, अन्य अन्नहरु (चामल, मकै) भटमास तथा अरु कोशे तरकारीहरू इत्यादी । जनावर बाट पाइने आइरन सरिरले सजिलोसंग लिन्छ ।
2. भिटामिन B-१२ को स्रोत- यो जनावर बाट मात्र पाइन्छ । शुद्ध शाकाहारी मानिसले दुध एबम दूधका परिकार बाट यसको मात्रा पुरा गर्न सक्छन । यसका अरु स्रोत माछा माशु हुन् । कलेजो यो भिटामिन को सबैभन्दा राम्रो स्रोत मध्ये एक हो ।
3. भिटामिन फोलिक एसिडको स्रोत : कलेजो यसको पनि सबैभन्दा राम्रो स्रोत हो। यसको अलावा अन्डा को पहेलो भाग, माछा मासु, पालिस नगरेको गहुँको पिठो, कोशेबाली समुहका तरकारीहरू (बोडी, भटमास, सिमि इत्यादी ), हरिया सागपात, बन्दागोवी, ब्रोकाउली, सुन्तला, केरा आदि फोलिक एसिडका स्रोत हरु हुन् ।
प्रजनन उमेरका महिलाहरु, गर्भवती तथा स्तनपान गराउने महिलाहरु, बच्चा तथा किशोर किशोरीहरु तथा दिर्घ रोगीहरुमा रक्तअल्पता को सम्भावना धेरै हुन्छ । यसर्थ आइरन एबम भिटामिन युक्त खाद्य पदार्थ नियमितरुपमा खानपिनमा समाबेस गरौ, जसले गर्दा रगत स्वस्थ हुनुको साथै सरिर पनि स्वस्थ रहोस ।


You can subscribe by e-mail to receive news updates and breaking stories.