निमोनिया- एक जानकारी!!
Posted by Sura Health on |
-डा. सन्तोष अधिकारी
फोक्सोमा सज(घाउ)हुनुलाई निमोनिया भनिन्छ। बाल मृत्युदरको प्रमुख कारण मानिने यो रोगले हरेक बर्ष विश्वभरिमा १९ लाख बालबालिकाको ज्यान लिन्छ। यी मध्ये नब्बे प्रतिशत मृत्यु विकाशोन्मुख देशमा हुन्छ। विश्वभरमा प्रति सेकण्ड १५ बालकले निमोनियाको कारण ज्यान गुमाइरहेका छन्।
निमोनियाको लछण उमेर अनुसार फरक हुन्छ। यी मध्ये धेरै जसो पाइने लछणहरू तल उल्लेखित छन्:
१) श्वास प्रश्वासको गति बढ्नु
२) खोकी
३) तल्लो छातीको मांशपेशिंया अधिक चल्नु (रीत्र्याक्सन), स्वाश फेर्दा नाकको नथ्था फुल्नु,
४) श्वास फेर्दा कन्नु (ग्रन्टिङ्ग)
५) श्वास फेर्दा आवाज आउनु (स्ट्रैडर/व्हीज)
६) ज्वरो
७) वाक्-वाक् लाग्नु
८) चिड्चिडापन
९) भोक कम लाग्नु
१०) शरीरका केही भाग नीलो हुनु, जस्तै: ओठ, जिब्रो, औंला (साइनोसिस)
उमेर अनुसार विश्व स्वास्थ्य संगठन (WHO)ले श्वास प्रश्वासको गति (बच्चा शान्त भएको बेलामा पुरा एक मिनेटमा लिने श्वासको संख्या)को सिमितता तोकेको छ जसलाई तल टेबलमा दिइएको छ ।
उमेर
|
साधारण श्वास प्रश्वासको गति
(प्रति मिनेट) |
गतिको सिमितता*
(प्रति मिनेट)
|
< २ महिना
|
३०-५०
|
६०
|
२-१२ महिना
|
२५-४०
|
५०
|
१-५ बर्ष
|
२०-३०
|
४०
|
>५ बर्ष
|
१५-२५
|
३०
|
*यो अथवा योभन्दा माथि छ भने निमोनिया मानिन्छ।
उग्रताको आधारमा निमोनिया ३ किसिमको हुनसक्छ।
१) साधारण निमोनिया : तिब्र श्वास गति(सिमितता नाघेको), खोकी वा ज्वरो
२) उग्र निमोनिया : माथिको सबै साथै - क) तल्लो छातीको मांशपेशिंया अधिक चल्नु (रीत्र्याक्सन), अथवा
ख) स्वाश फेर्दा नाकको नथ्था फुल्नु
ग) नवजात शिशुमा (<२ महिना) साधारण निमोनिया छ भने उग्र निमोनिया मानिन्छ।
३) अती उग्र निमोनिया : निमोनियाको साथमा यदी ओठ/जिब्रो नीलो हुनु, दुध/पानी पिउन नसक्नु, मिर्गी आउनु, बेहोश हुनु, बच्चा शुस्त हुनु,श्वासको साथमा टाउको हल्लिनु आदि।
उपचार:
साधारण निमोनिया अस्पतालमा भर्ना नगरिकन पनि उपचार गर्न सकिन्छ। ३ देखि ५ दिनको खाने एन्टीबायोटिकले ठीक हुन्छ। यदि २ दिनमा ठीक भएन भने अथवा साथमा अरु कुनै बिमारी छ भने अथवा उग्र/ अती उग्र निमोनिया छ भने तुरुन्त अस्पताल लागिहाल्नु पर्छ। यस किसिमका निमोनिया खाने एन्टिबायोटिकले ठीक हुंदैनन्। इन्जेक्सन एन्टिबायोटिक कम से कम पहिलो २-४ दिनको लागि दिनु पर्दछ। यस्ता बच्चाहरूलाई अक्सिजनको पनि जरुरत हुन सक्छ। समयमै उपचार पाएन भने ज्यान जाने संभावना पनि प्रवल हुँदै जान्छ। साथै निमोनियाको अन्य परिभ्राट(complications) हुनबाट बचाउनको लागि अस्पतालमा भर्ना गर्नु आबश्यक हुन्छ।
तल दिइएका अवस्थाहरूमा अस्पतालमा भर्ना गर्नु नै पर्ने हुन्छ:
१) २ महिनाभन्दा कम उमेरको कुनै पनि निमोनिया लिएर आएको बच्चा
२) खाने दवाइले ठीक नभएको साधारण निमोनिया
३) उग्र अथवा अती उग्र निमोनिया अथवा बारम्बार निमोनिया
४) अन्य अड्चन जस्तै संघात(shock), हाइपोक्जिया(hypoxia), स्वाश-प्रक्रिया चक(respiratory failure), अती कुपोषण, ओठ/जिब्रो नीलो पर्नु, कन्नु(grunting), नथ्था फुल्नु, उल्टी, विजलन(dehydration), खानामा न्युनता, न्युन रोग क्षमता शक्ति इत्यादी।
घर वरपर यदि यस किसिमका कुनै बालबालीका छन् भने तुरुन्त स्वास्थ्य चौकी अथवा अस्पताल लागि समयमा नै ज्यान जोगाउनु होला।

You can subscribe by e-mail to receive news updates and breaking stories.