You are here: Home /
Health News / जाडोमा बढ्यो डेंगुको प्रकोप !
चितवन । जाडो शुरु भएपनि लामखुट्टे सक्रिय हुँदा चितवनमा डेंगुका बिरामी बढेका छन् । साउनयता १ हजार ६ सय ५१ जना बिरामीको स्वास्थ्य परीक्षण गरिएकामा २ सय ८२ जनामा डेंगु देखिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
बिरामीको भरतपुरको सरकारी अस्पताल, चितवन मेडिकल कलेज, नारायणी सामुदायिक, भरतपुर सामुदायिकलगायतका उपचार भइरहेको छ । १२ वर्षका बालकदेखि ७० वर्षसम्मका वृद्धवृद्धा डेंगुबाट प्रभावित छन् ।
दशैंयता बिरामीको संख्या अचानक बढेको हो । डेंगु बढेपछि जिल्ला जनस्वास्थ्य कार्यालयले डेंगुबारे जनचेतना जगाउन शुरु गरेको छ । कार्यालयले स्वास्थ्यकर्मीलाई तालिममार्फत् डेंगु नियन्त्रणका उपायबारे सिकाइराखेको छ भने पर्चा पम्प्लेट टाँसेर जनचेतना जगाउने काम गरिरहेको छ ।
दशैंमा पानीका परेकाले सुकेर बसेका लामखुट्टेका फुल सक्रिय बनेपछि डेंगुका रोगी बढेको कार्यालयका अधिकारीहरुले जनाएका छन् । साउनयता सबैभन्दा धेरै कात्तिकमा १ सय ७० जना डेंगुका बिरामी फेला परेका हुन् । दशैंअघि कार्यालयले लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किएपनि अचानक पानी परेपछि संक्रमण बढेको हो । डेंगुका रोगी सबैभन्दा धेरै भरतपुर नगरपालिकामा देखिएका छन् ।
अघिल्लो वर्ष ९ सय ४६ जनाको रगत परीक्षण गरिएकामा ५२ जनामा डेंगु देखिएको थियो । अहिले ५ महिनामै २ सय ८२ जनामा डेंगु देखिएको छ ।