सेतो दाग |

Posted by Sura Health on |







  • मेलोनोसाइट प्रत्यारोपणले पूर्ण रुपमा हटाउन सकिन्छ|                                                                                                                             अनुहार वा शरीरको अर्को कुनै ठाउँमा सेतो दाग छ र त्यसबाट हिनताबोध गरिरहनुभएको छ भने, अब आत्तिने दिन गए । केही समयअघिसम्म निको हुन असम्भव ठानिएको रोगबाट अचेल शतप्रतिशत आराम पाउन सकिन्छ । नेपालमा करिब ६ लाख व्यक्ति यो समस्याले आक्रान्त छन् ।

    'हाम्रो अनुमान अनुसार, दुई प्रतिशतभन्दा बढी नेपाली सेतो दागको समस्याबाट प्रभावित छन्,' धुलिखेल अस्पतालका छाला रोग तथा सौन्दर्य विशेषज्ञ डा. धर्मेन्द्र कर्ण भन्छन्, 'यो रोगले अरू कुनै नोक्सान पुर्‍याउँदैन । यसको एउटा मात्र समस्या हेर्दा राम्रो नलाग्नु हो ।' छालाको यो समस्यालाई चिकित्सकीय भाषामा ल्युकोडर्मा, भिटिलिगो भनिन्छ । बोलचालको भाषामा सेतो दाग, श्वेत कुष्ठ, दुबी, पाण्डुरोग, फुलबहरी भन्ने गरिन्छ ।

    सेतो दागको समस्याबाट मुक्ति पाउन छाला रोग विशेषज्ञको सट्टा जडिबुटी, झारफुक जस्ता अन्य विकल्पको भर पर्दा यो रोग बढ्नुबाहेक अरू उपलब्धि हात लाग्दैन । हाम्रो समाजमा सेतो दागलाई कुष्ठ रोग मान्ने भ्रान्तिसमेत छ । यो रोगलाई केही व्यक्ति संक्रामक ठान्ने गल्ती गर्छन् । यो रोगले कसैलाई हानि पुर्‍याउँदैन । यो रोग एक व्यक्तिबाट अर्कोमा सर्दैन । अर्थात्, यो सरुवा रोग होइन ।

    'यो रोग अटो इम्युनिटी डिजआर्डर हो, यसमा शरीरको रोग प्रतिरोधक क्षमताले उल्टो असर गर्न थाल्छ, अर्थात् शरीरलाई नै नोक्सान पुर्‍याउन थाल्छ,' कर्ण भन्छन् । मानव शरीरमा भएका असंख्य कोशिकाका धेरै काम हुन्छन् । केही कोशिका -जसलाई मेलोनोसाइट भनिन्छ) को काम भने छालालाई रंग प्रदान गर्नु पनि हुन्छ । 'यिनै कोशिकाले गर्दा कोही व्यक्ति गोरो, कोही गहँुगोरो, कोही कालो हुन्छन्,' कर्ण भन्छन् ।

    मानव शरीरमा मेलोनोसाइटसँगै मेक्रोफेजेज कोशिका समेत सक्रिय हुन्छ, जसले स्वाभाविक रूपले प्रतिरोधक क्षमता प्रदान गर्छन् । तर कहिलेकाहीँ शरीरमा यस्तो स्थिति उत्पन्न हुन्छ, जसमा मेक्रोफेजेज कोशिकाले मेलोनोसाइट कोशिकालाई चिन्न छोड्छ । यस्तो हुँदा मेलोनोसाइट कोशिकाको प्रतिरोधक क्षमता कम हुन्छ, निष्त्रिmय हुन थाल्छ । कर्ण भन्छन्, 'अनि हाम्रो छालाको रंग उड्न थाल्छ । यो क्रिया कहिलेकाहीँ शरीरको एउटै भागमा स्थिर रहन्छ, कहिलेकाहीँ सम्पूर्ण शरीरमा फैलिन्छ ।'

    यो रोगको सबैभन्दा सामान्य लक्षण छालाको प्राकृतिक रंग मधुरो पर्दै त्यो ठाउको रौंसमेत सेतो हँुदै जानु हो । यस्तो सेता दाग न चिलाउँछ, न दुख्छ । यसमा कुनै किसिमको श्राव हुँदैन । यस्तो दाग भएको ठाउँमा छालाको संवेदनशीलता समेत सामान्य स्तरको रहन्छ, पूर्ववत् नै हुन्छ ।

    अमेरिकन एकेडेमी अफ डर्मेटोलजीका अनुसार, अधिकांश व्यक्तिलाई सेतो दाग ४० वर्षको उमेरभन्दा अघि नै हुन्छ । छालाको रंग सम्बन्धी यो गडबडी सबै जातजाति र महिला-पुरुषलाई समान रूपले हुन्छ । केही खास शरीरमा प्रतिरोधक क्षमता चाहिनेभन्दा बढी भएको स्थिति भएकाहरू बढी मात्रामा पीडित हुने गरेका छन् ।

    अमेरिकन भिटिलिगो रिसर्च फाउन्डेसन लगायतको तथ्यपत्र अनुसार, अभिभावकलाई सेता दाग भए बालबालिकामा समेत विकसित हुने सम्भावना बढी हुन्छ ।

    उपचार

    नेपालमा सेतो दागको सबै खाले उपचार उपलब्ध रहेको डा. कर्ण बताउँछन् । यसको उपचार सामान्य रूपले औषधि, क्रिमद्वारा समेत गरिन्छ । यसमा फोटो थेरापी समेत उपयोग गरिन्छ ।

    औषधिबाट उपचार सम्भव नभए शल्यक्रिया गरिन्छ । सानो दागलाई शल्यक्रिया गरी निकालेर टाँका लगाउन सकिन्छ । यसका लागि छाला प्रत्यारोपण्ा आवश्यक हुँदैन ।

    ठूलो दाग हटाउन भने छाला प्रत्यारोपण्ा आवश्यक हुन्छ । यस्तै, लेजर शल्यक्रिया समेत प्रभावकारी मानिन्छ । सेतो दाग हटाउन टाटु समेत गर्ने गरिएको पाइन्छ ।

    तर हाल यसको उपचारको लागि नयाँ पद्घतिहरू आएका छन । यस अन्तर्गत मेलोनोसाइट कल्चर, प्लेटलेट रिच प्लाज्मा र मेलोनोसाइट ट्रान्सप्लान्टेसन हो ।

    'मेलोनोसाइट प्रत्यारोपण अत्याधुनिक पद्घति हो,' कर्ण भन्छन्, 'हाम्रो देशमा समेत उपलब्ध यो उपचारमा सेतो दागले प्रभावित खण्डको उपचार गरिन्छ ।'
       मेलोनोसाइट प्रत्यारोपणको लागि शरीरको सामान्य छालाको सानो टुक्रा काटिन्छ । त्यसको रंग बनाउने कोषलाइ छुट्टयाएर त्यसलाई तरल पदार्थमा परिवर्तन गरिन्छ । यो तरल पदार्थ जहाँ सेतो दाग छ, चिकित्सकले त्यहाँ लगाउँछन् । यसले छालाको सामान्य रंग पूर्ववत् हुन्छ ।

    'एक सय वर्ग सेन्टिमिटर छालाको मेलानोसाइट प्रत्यारोपणका लागि १० वर्ग सेन्टिमिटर स्वस्थ छाला चाहिन्छ,' डा. कर्ण भन्छन् । यस अन्तर्गत स्वस्थ छालालाई एउटा रसायनमा राखेर छालालाई रंग दिने कोषहरू छुट्याएर यसको झोल बनाइन्छ । यो झोललाई सेतो दाग भएको छालाको पहिलो पत्र निकालेर लगाइन्छ । यसको सफलताको दर ९५ प्रतिशतभन्दा बढी रहेको जनाउँदै कर्ण छाला पूर्ण रूपमा पहिलेझैं हुन एक महिनादेखि तीन महिना लाग्ने बताउँछन् ।

    'सेतो दागको उपचारमा हामी योभन्दा पनि आधुनिक तरिका उपयोग गर्ने प्रक्रियामा छौं,' उनी भन्छन्, 'यस अन्तर्गत बिरामीको कपालबाट छालालाई रंग दिने कोष झिकेर यसको उपयोग गरिनेछ ।' यसमा बिरामीको छाला काटनु पर्दैन ।

    सबैभन्दा बढी मेलानोसाइट कपालमा हुन्छ ।                                                                                                  स्रोत :कान्तिपुर,

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips