तिहार मा रमाइलो गर्नुको साथ साथै स्वस्थ्यलाइ पनि ख्याल गरौ !!
Posted by Sura Health on |
कार्तिक १७ -हरियो गोबरले लिपेको
लक्ष्मी पूजा गरेको
हे औंसी बारो
गाईतिहारो भैलो :: बडादसैं भर्खर सकिएको छ जस्तो लागेको थियो होला । तिहार आइसक्यो । आज लक्ष्मी पूजाको दिन हो । पाँच दिनसम्म मनाइने तिहारको आज तेस्रो दिन हो । कागतिहार र कुकुरतिहार हामीले मनाइसक्यौं । भोलि गोबर्द्धन पूजा र पर्सि भाइटीका गरेपछि तिहार पनि सकिन्छ । भोलि नै म्हपूजा पनि गरिन्छ । नेपाल सम्वत्को नयाँ वर्ष पनि भोलिदेखि सुरु हुन्छ । तिहार सकिएको तीन दिनपछि तराईबासी नेपालीको ठूलो पर्व छठ मनाइन्छ । दीपावली भन्नासाथै हामी उज्यालोको पर्व भनेर चिन्छौं । फूलको पर्व भनेर चिन्छौं । सप्तरंगी टीका लगाउने पर्व भनेर चिन्छौं । यति मात्र होइन, पटाका पड्काएर रमाइलो गर्ने चाडका रूपमा पनि हामी यसलाई चिन्छौं ।
तर यसरी रमाइलोका लागि पटाका पड्काउँदा सधैं रमाइलो मात्रै हुँदैन । धेरै मानिस पटाका पड्काउँदा दुर्घटनामा पर्छन् । नेपाल र भारतमा धुमधामका साथ दीपावली मनाइन्छ । पटाका पड्काउने चलन नेपालमा भन्दा भारतमा अझ धेरै छ । त्यसैले त्यहाँ हुने दुर्घटना पनि झन धेरै छ ।
हाम्रो मुलुकमा तिहारमा कति दुर्घटना भएको छ भन्ने खासै अध्ययन भएको छैन । 'इन्डियन जर्नल अफ बर्न'मा प्रकाशित डा.भूपेन्द्रप्रसाद शर्माको अध्ययनअनुसार अनार -फ्लावर पट) ले सबैभन्दा बढी डढ्ने दुर्घटना हुने गरेको छ ।
चिकित्सकीय अनुमानअनुसार वर्षेनि दीपावली, छठको रमझममा दुर्घटनामा परेर ज्यान जोखिममा पार्नेको संख्यासमेत हजारभन्दा बढी नाघ्ने गरेको छ । आतिसबाजी र पटाकाले आगलागी मात्रै हँुदैन, यसले आँखामा चोट लाग्ने, आँखाको पर्दा च्यातिने र अन्धो नै हुने खतरा हुन्छ । यसका साथै हृदयाघात, रक्तचाप, दम, नाकको एलर्जी, ब्रोकाइटिस, निमोनिया, कानको जाली च्यातिनु, टाउको दुख्ने र अनिद्रा हुन सक्छ ।
मधेसमा दीपावलीमा सुरु भएको पटाकाको प्रयोग छठसम्म जारी रहने भएकोले त्यहाँ यस्ता खाले दुर्घटना बढी देखिन्छन् ।
'अभिभावक दीपावली मनाउन व्यस्त हुन्छन्, बालबालिकाहरू एक्लै आफंैले फूलझडी, पटाका, आतिसबाजी चलाउँछन्,' कान्ति बाल अस्पतालका प्रमुख कन्सलटेन्ट पेडियाटि्रसियन प्राडा.चन्देश्वर महासेठ भन्छन्, 'बिनाकुनै नियन्त्रण वा रेखदेखमा पटाका चलाउँदा जीउ डढ्ने लगायत दुर्घटना हुने गरेका छन् ।'
यस्ता दुर्घटनामा पटाकाले छालाको माथिल्लो भागमा पोल्ने मात्रै होइन भित्री तहसम्म डढ्न सक्छ । छालाको भित्री तह डढ्नु खतरनाक हुने डा.महासेठ बताउँछन् । यस्तोमा तुरुन्त अस्पताल पुर्याउनुपर्छ । यस्तोमा पटाका फोर्ने व्यक्ति मात्र नभएर दर्शकका रूपमा रहेकाहरूसमेत दुर्घटनामा पर्छन् ।
पटाकाबाट एक्कासि निस्किने आगोको ज्वालाले डढ्नुसमेत खतरनाक हुन्छ । यो ज्वालाले पड्काउने व्यक्ति लगायत दर्शकहरूलाई समेत प्रभावित गर्छ । 'छालाको माथिल्लो तह दस प्रतिशतसम्म डढ्दा त्यति खतरनाक हुन्न,' डा.महासेठ भन्छन्, 'आगोले पोलेको ठाउँमा तुरुन्त सेलाएको पिउने पानी बिस्तारै हाल्दै गर्नुपर्छ र पछि सिल्भर सल्फा डाइजिन मलम घाउमा लगाउन सकिन्छ ।' छालाको माथिल्लो सतह दस प्रतिशतभन्दा बढी डढ्दा वा शक्तिशाली बमबाट भएको घाउ चोटमा तुरुन्त अस्पताल लग्नुपर्ने उनी बताउँछन् ।
अभिभावकले आफ्नो प्रत्यक्ष निगरानीमा मात्र पटाका, फूलझडी आदि उपयोग गर्न दिनुपर्छ । आठ वर्षभन्दा साना भाइबैनीलाई फूलझडी वा टर्च डढाउन दिनुहुन्न । बढी शक्तिशाली र आगो वा प्रकाश निस्किने सामग्री उपयोग गर्नुहुन्न ।
पटाका फोड्नाले हावामा अन्य हानिकारक वस्तुसँगै बारुदको कण फैलन्छ जसले बच्चालाई केही समयका लागि सास फेर्न समस्या हुनुको साथै आँखा र नाकमा जलनसमेत हुन थाल्छ ।
'बन्द कोठामा पटाका पड्काउनु अझ बढी घातक हुन्छ,' डा.महासेठ भन्छन्, 'दीपावलीमा वा अन्य समयमा हुने दुर्घटनाबाट तत्काल राहतको लागि फस्ट एड बक्स घरमा राख्नुपर्छ ।'
दुर्घटनाबाट बँच्न दीपावलीमा आतिसबाजीको मस्ती लिन खुल्ला ठाउँ रोज्नुपर्छ । पटाका पड्काउने ठाउको छेउछाउमा पेट्रोल, डिजेल, मट्टतिेल, ग्यास सिलिन्डरजस्ता ज्वलनशील पदार्थ हुनु हुँदैन ।
अनार, फूलझडी, चक्कर लगायतका पटाका राम्रो ब्रान्डको हुनुपर्छ । आफ्नो उमेरअनुकूलको पटाका किन्नुपर्छ । पटाका पड्काउँदा अभिभावक पनि साथमा हुनुपर्छ ।
सम्भावित दुर्घटनाबाट बँच्न पटाकामा आगो लगाउन मैनबत्ती वा लामो सिन्कोको उपयोग गर्नुपर्छ । पटाकालाई आफूभन्दा टाढा राखेर जलाउनुपर्छ ।
पटाकाको लहरै आगो लगाएर धमाधम पड्किने बनाउनु धेरै जोखिमपूर्ण काम हो । एकपटकमा एउटै पटाका मात्र जलाउनुपर्छ । एकपटकमा थुप्रै पटाका जलाउँदा ध्यान विचलित हुन सक्छ र दुर्घटनाको कारण बन्छ ।
हवामा छोडिने पटाका रकेट, आतिसबाजी आदि गलत दिशामा छोड्दा दुर्घटना हुन सक्छ । यसैगरी, एकपटक छोडेको पटाका, अनार आदि फुटेन भने त्यसलाई हातले छुने र फेरि डढाउने प्रयास गर्नुहुँदैन । पटाका चलाउने ठाउँमा एक बाल्टी पानी राखिराख्नुपर्छ ।
You can subscribe by e-mail to receive news updates and breaking stories.