तिहारको खाना र स्वास्थ्य !!
Posted by Sura Health on |
तातो सेल, अनरसासँगै घरेलु परिकारहरूको मज्जा, बत्तीको झिलिमिली र जुवाको विशेष संमिश्रण हुने रमाइलो अवसर हो-तिहार। तिहारमा साथीहरूसँग देउसी-भैलो खेल्नुको रमाइलो त छँदैछ, दिदीबहिनीहरूले आफ्नै हातले तयार गरेका खानेकुराले भोक मात्र मेटाउँदैन, आपसी सद्भाव पनि बढाउँछ। उनीहरूको कोसेली अर्थात् सेल, अनरसा, मिठाईं, मसला र फलफूल आदिको सम्झनाले मात्र पनि मन आनन्दित हुन्छ। घरबाहिरका विभिन्न किसिमका खानेकुरा खाँदा-खाँदा दिक्क भएकाहरूलाई घरमा पकाइएको शुद्ध घिउको तात्तातो सेल खान पाउँदा जति आनन्द आउँछ, त्यसले स्वास्थ्यलाई पनि उत्तिकै राम्रो गर्छ। तिहारमा दिदीबहिनीले दिने मसला हाम्रो स्वास्थ्यका दृष्टिले पनि उपयुक्त छन्। त्यसमा समावेश हुने ओखरलाई पोषणको बट्टा भने पनि हुन्छ। ओखरमा एन्टिइन्फ्लामेन्टरी तथा एन्टिअक्सिडेन्ट तत्वहरूका साथै ओमेगा ३ जस्तो महत्वपूर्ण तत्व पनि पाइन्छ। यसको नियमित सेवनले कोलेस्ट्रोल घट्छ, रोगविरुद्ध लड्ने शक्ति बढ्छ तथा दीर्घरोगमा पनि कम पीडा हुन्छ। त्यस्तै बदाममा भिटामिन ई, प्रोटिन, फाइबरका साथै अन्य भिटामिनहरू पाइन्छन्। बदामले क्यान्सर तथा मुटु रोगबाट मात्र बचाउँदैन, मोतीबिन्दु हुने सम्भावना पनि कम गर्छ। पिस्ता सानो भए पनि त्यसको एक दानामा हामीलाई एक दिनमा चाहिने फाइबरको करिब १० प्रतिशत भाग हुन्छ। त्यसबाहेक पिस्तामा भिटामिन बी समूहका भिटामिन तथा खनिज पदार्थहरू पाइन्छन्। पिस्तामा एमिनो एसिड उच्च मात्रामा पाइने भएकाले त्यसले बालक, वृद्ध सबैको विकासमा महत्वपूर्ण भूमिका खेल्छ। त्यस्तै काजुमा प्रशस्त मात्रामा बोसो हुन्छ। यो बोसो अनस्याचुरेटेड तथा मोनोयाचुरेटेड हुने भएकाले शरीरमा रहेको ट्राइग्लिेसोराइड घट्छ। यसबाहेक काजुमा महत्वपूर्ण खनिजहरू -कपर, जिङ्क तथा म्याग्नेसियम) पाइने भएकाले मस्तिष्क, स्नायु तथा रोगप्रतिरोधात्मक शक्तिको विकासमा मद्दत पुग्छ। त्यस्तै कटुसमा पनि अनस्याचुरेटेड फ्याट, खनिज पदार्थहरू -कपर, जिङ्क, म्याग्नेसियम, फस्फोरस, क्याल्सियम, पोटासियम) तथा भिटामिन ए, ई तथा बी समूहका भिटामिनहरू पाइन्छन्। यसको सेवनले केही क्यान्सरबाट समेत जोगाउँछ।
तिहारका खानेकुरामा मिठाईं अर्थात् गुलियोको स्थान सबैभन्दा माथि हुन्छ। सेल, अनरसा, मिठाईं सबैमा चिनी प्रयोग गरिएको हुन्छ। चिनी गुलियो हुन्छ, त्यसैले धेरैलाई मन पनि पर्छ। यद्यपि स्वास्थ्यका दृष्टिकोणले चिनीलाई राम्रो मानिँदैन। हुन त चिनी खाएर 'चिनी रोग' अर्थात् मधुमेह हुन्छ भन्ने छैन तर मधुमेह भएकाले यसको सेवन गर्न मिल्दैन। चिनी अर्थात् ग्लुकोजको रासायनिक बनोट भिटामिन 'सी' सँग मिल्दोजुल्दो हुन्छ। रगतमा ग्लुकोजको मात्रा बढेपछि शरीरका कोषहरूमा गएर बसिदिन्छ र भिटामिन सीको कमी गराइदिन्छ। यसले गर्दा रोगविरुद्ध लड्ने शक्तिमा र्हास आउँछ। रगतमा ग्लुकोजको मात्रा उच्च रहेको अवस्थामा 'इन्सुलिन' नामक हार्मोनको मात्रा पनि बढ्छ। यसले 'ग्रोथ हार्मोन' को उत्पादनमा कमी ल्याउँछ र रोगविरुद्ध लड्ने शक्तिमा र्हास आउँछ। इन्सुलिनले शरीरमा बोसो भण्डार गर्न तथा 'ट्राइग्लिस्राइड' नामक बोसोको मात्रा बढाउन सहयोग गर्छ। यसले गर्दा मुटु तथा धमनीका रोगहरू लगाउने, उच्चरक्तचापका रोगी बनाउँछ। बढी मात्रामा चिनी सेवन गर्दा मोटोपनको समस्या थपिने, शिशुहरूमा दाँतको समस्या बढ्ने, मानसिक एकाग्रतामा कमी आउने तथा डिप्रेसनको सिकार हुने हुन्छ। यसले मिर्गौलामा नकारात्मक असर पार्नुका साथै शरीर सुन्निने पनि गराउन सक्छ। बढी गुलियो खानेहरूमा पेटको समस्या, हड्डी खिइने समस्या, टाउको दुख्ने तथा माइग्रेनको समस्या बढेको पाइएको छ। हरेक चाडपर्वमा पसलमा सजाइएका मिठाईंहरू किन्ने चलन बढ्दै गएको छ। बजारका मिठाईंमा अनावश्यक रंग, प्रिजभेटिभ्स तथा एडेटिभ्स (रसायनहरू) प्रयोग गरिएको हुन सक्छ। यस किसिमका रसायन तथा रंगहरूले पेट गडबड गराउनुका साथै पखाला लाग्ने सम्भावना पनि बढाउँछन्। कुनै रंगले दीर्घकालीन असर गर्न सक्छ। यसले जिब्रोमा खटिरा आउने, पेट पोल्ने, मुखबाट अमिलो पानी आउने, सास गन्हाउने आदि समस्यालाई जन्म दिनसक्छ। त्यसैले बजारका आकर्षक मिठाईं भन्दा घरका परिकार रोज्नु स्वस्थकर हुन्छ।
हाम्रा परिकारहरूको विशेषताको कुरा गर्दा चिल्लोलाई छुटाउन मिल्दैन। धेरै तेल, घिउ प्रयोग गरिएका तथा तारेका वा फ्राई गरिएका खानेकुरालाई हामी उच्च प्राथमिकतामा राख्छौं। स्वास्थ्यका दृष्टिकोणले चिल्ला खानेकुराले पनि धेरै रोगलाई जन्म दिन सक्छन्। एक ग्राम बोसोले ९ किलो क्यालोरी अर्थात् कार्बोहाड्रेडको तुलनामा दुई गुणा शक्ति दिन्छ। चिल्लो अर्थात् तेल, घिउ वा बोसोले मोटोपन, मुटु तथा धमनीका रोगहरू, उच्चरक्तचाप तथा मधुमेहलाई निम्त्याउन सक्छ। यसले खाना अपच गराउने, कब्जियत वा पखाला लगाउने, आन्द्राका रोगहरू, पित्तथैलीमा समस्या, पत्थरी तथा आन्द्राको क्यान्सर आदि पनि गराउन सक्छ। खानेकुराहरू फ्राई गर्दा स्वादिलो त हुन्छ तर बढी चिल्लो हुनुका साथै त्यसमा पाइने अधिकांश पौस्टिक तत्व नष्ट भएर जान्छ। त्यस्तै खानामा धेरै मसला तथा पिरो प्रयोग गर्नु हुँदैन। मसालेदार तथा साँधेको अमिलो अचारले एसिडिटी बढाउँछ भने पेटको अल्सरसमेत हुनसक्छ। यस्ता खानेकुराले मुखमा अमिलो पानी आउने, डकार आउने तथा पेट पोल्ने गराउन सक्छ। त्यसैले पेटको समस्या भएका मानिसहरूले चिल्लो, पिरो, अमिलो अनि मसालेदार खानेकुरा खानुभन्दा पनि त्यसको विकल्प सोच्नु उपयुक्त हुन्छ। अर्कातिर चिल्लो, पिरो अनि मसालेदार खानेकुराले मानिसको रक्तसञ्चारमा वृद्धि गर्छ भन्ने वैज्ञानिक मान्यता पनि छ। यसले शरीरको तापक्रम पनि बढाउँछ। कतिपय मसलाले विभिन्न किसिमका पाचनरसको उत्पादन पनि बढाउँछ। कालो मरिचमा भिटामिन सी तथा एका साथै केही खनिज पदार्थ एवं प्रोटिन पाइन्छ। जोर्नीहरूको पीडा, टाउको दुखेको, ज्वरो आएको, यौन दुर्बलता मात्र होइन, खाना अपच भएको अवस्थामा पनि कालो मरिच प्रयोग गर्न सकिन्छ। तिहारको अवसरमा गरिने एकदिनको मदिरापानले मुटु, पेट, मस्तिष्क, मिर्गौला तथा अन्य दीर्घकालीन असर हुने सम्भावना कम हुन्छ। यद्यपि एकैपटक बढी मदिरा सेवनले मानिसको ज्यान जान सक्छ। तास तथा जुवाको सुरमा तिहारमा लगातार वा छिटो-छिटो धेरै मदिरा सेवन गर्नु खतरनाक साबित हुन सक्छ। हुन त रगतमा इथानोलको मात्रामा शून्य दशमलव शून्य तीन (०.०३) पुग्नेबित्तिकै मादक पदार्थको असर देखिन थाल्छ। यस्तो अवस्थामा मदिराजन्य पदार्थ सेवनकर्ता बढी मात्र बोल्दैन आनन्दसमेत महसुस गर्छ। यो अवस्थामा आफूलाई कायम राख्न सक्नु उपयुक्त हुन्छ र रमाइलो पनि भैरहन्छ। त्यसपछि पनि मदिराको सेवन नरोके रगतमा इथानोलको मात्रा बढ्दै जान्छ। यो अवस्थामा मानिसले आफूलाई बढी अनुभवी देखाउने तथा आफ्ना कुरामा तर्क गर्ने हुन्छ। रगतमा इथानोलको मात्रा शून्य दशमलव दुईभन्दा बढी भए सचेततामा कमी आउने, गरेका कामको स्मरण नरहने, पिसाब गरेको थाहा नपाउने लक्षणहरू देखिन सक्छन्। मानिस यो अवस्थामा पुग्नेबित्तिकै उपचार गर्नुपर्ने हुन्छ। यो अवस्थामा थप मदिरा सेवन गर्नु भनेको मृत्युको मुखमा जानु हो। यद्यपि थप मदिरा सेवन नगरे पनि पेटमा रहेको मदिरा शोषण हुन सक्छ र रगतमा इथानोलको मात्रा बढ्न सक्छ। रगतमा यसको मात्रा शून्य दशमलव ३ भन्दा बढी भएमा बेहोस हुने तथा शून्य दशमलव ५ भन्दा बढी भए ज्यानै जाने सम्भावना हुन्छ। मदिराका कारण मानिसको मृत्यु भएको हामीले सुनेका छौं। कसैलाई थोरै मदिराले पनि मात लाग्न सक्छ त कसैलाई धेरै चाहिन्छ। शरीरको तौल, बोसोको मात्रा र मदिराको किसिमसँग मात लाग्ने तथा मृत्यु हुने कुराको गहिरो सम्बन्ध हुन्छ। सामान्यतया ५५ केजी तौल भएको व्यक्तिले एक घन्टाभित्र ४० प्रतिशत इथानोल भएको मदिरा (हि्वस्की, भोटका, रम) १० प्याक (४४० मिलिलिटर) भन्दा बढी सेवन गरे कतिपय अवस्थामा मानिसको मृत्यु पनि हुन सक्छ। बढी मदिरापान गरेको भोलिपल्ट शरीरमा पानीको मात्राका साथै ग्लुकोजको पनि कमी हुन्छ फलस्वरूप टाउको दुख्ने, थकित महसुस गर्ने र कतिपय अवस्थामा बेहोस हुने हुनसक्छ।
चाडपर्वको रमाइलो वातावरण तथा विभिन्न परिकारको सुगन्धले जिब्रो रसाएको अवस्थामा के खाने र के नखाने भन्दा पनि अलिअलि सबै खाइदिँदा खासै फरक पर्दैन। यद्यपि आफ्नो नियमित खानामा गुलियो, चिल्लो, पिरो, नुनिलो आदि खानेकुरामा कमी ल्याउनुपर्छ। दिदीबहिनीहरूले तिहारमा आफ्नै हातले बनाएका खानेकुरा ख्वाउँदा अनावश्यक रंग तथा रसायनबाट बच्न सकिन्छ। संयमित भएर उचित मात्रामा खाए सेल, अनरसा, अचार, फलफूल, मिठाईं, पान तथा मसलाले स्वास्थ्यलाई फाइदा पुर्याउँछन्। त्यसैले आफ्ना दाजुभाइलाई गुलियो, चिल्लो, पिरो, अमिलो अनि मसालेदार खानेकुराभन्दा फलफूल बढी दिनुपर्छ।
You can subscribe by e-mail to receive news updates and breaking stories.