पाठेघर खस्दा श्रीमान् नै असहयोगी !!

Posted by Sura Health on |







http://www.ekantipur.com/kantipur/news/news-detail.php?news_id=236023                                        विवाहित महिलाको सबभन्दा नजिकको साथी हो, उसको श्रीमान् । पारिवारिक जीवनमा हरेक कुरामा श्रीमान् श्रीमतीबीच परस्पर विश्वास हुनुपर्छ । त्यसमा पनि यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धी समस्या भए त दुबैलाई एकअर्काको सहयोगको टड्कारो आवश्यकता रहन्छ । किनकी यौन श्रीमान् श्रीमतीको साझा सवालको । एउटाको समस्या दुबैको समस्या हो । तर, यौनसँग जोडिएको पाठेघरसम्बन्धी रोग लुकाउँने प्रवृतिमात्रै होइन् रोग थाहा पाएमा श्रीमान् नै असहयोगी बन्ने समस्य पनि उत्तिकै रहेको भनाई अनुभवी चिकित्सकहरूको छ ।



सामान्यतः श्रीमतीका गोप्य रोगका विषयमा अधिकांश श्रीमान् जानकार हुन्छन् । तर महिलाको पाठेघर खस्ने समस्या समाधानकालागि अधिकांश श्रीमानले सच्चा सहयोगीको भूमिका निभाउने गरेका छैनन् । जसका कारण नेपाली महिलाहरुबीच पाठेघर खस्ने समस्याल जटिल बन्दै जाने गरेको छ । एकातिर अशिक्षा र गरिवीको मार त्यसमाथि श्रीमान्को असहयोगका कारण अधिकांश महिला पाठेघर समस्याको उपचार गराउनुभन्दा रोग पालेर बस्ने गरेको बरिष्ठ स्त्रीरोग विशेषज्ञ सिडी चावलाको भनाई छ ।


पाठेघर खस्ने समस्याको उपचार गराउँदा समाजले वा परिवारले थाहापाए समाजिक अवहेलना सहनु पर्ने भयका कारण पनि यो समस्या महिलाको प्रमुख प्रजनन् स्वास्थ्य समस्या हुन पुगेको छ । विवाहित महिलाको पाठेघर खस्ने समस्या समाधनमा उनीहरुकै श्रीमान्को समेत सहयोग नपाइएको वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. चावला बताउँंछन् । डा. चावला भन्छन्, श्रीमतीको स्वास्थ्य समस्याका बिषयमा थाहा पाएपछि त्यसको उपचार गर्न श्रीमानले पूर्ण सहयोग र साथ हुनुपर्छ । पाठेघर खस्ने समस्या उपचारमार्फत निकोपार्न सकिने भएपनि अधिकांश पुरूष उपचारका लागि श्रीमतीको साथ दिदैनन् ।


पाठेघर समस्या भएकी महिला उपचारका लागि चिकित्सकहाँं आउँंदा प्राय एक्लै आउने गरेका छन् । धुलिखेल अस्पतालमा कार्यरत  डा. चावल भन्छन, साथीका रुपमा देउरानीजेठानी लिएर आउँछन्  । ‘यसैपनि एकातिर यो समस्यालाई महिला लुकाउन चाहन्छन्, त्यसमा पनि श्रीमान्को पनि सहयोग भएन् भने, अवस्था विकराल बन्दै जान्छ ।’ उनले थपे, ‘पाठेघर खस्ने समस्या भएपछि महिला श्रीमानको संसर्गबाट टाढिन खोज्छन् ।’


यस्ता घटनालाई महिला र पुरूषबीचको दूरी समेत बढाउँदै लैजाने र त्यसले सामाजिक र पारिवारिक समस्या समेत निम्त्याउने गर्छ । कतिपय पुरुषले त यो समस्याकै कारण दोस्रो विवाह गरेको पाइएको डा. चावला बताउँछन् । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार नेपालमा पाठेघर खस्ने समस्याबाट ६ लाख भन्दाबढी महिला पिडित छन् । जसमध्ये दुई लाखलाई तत्काल उपचारको आवश्यकता छ । यो समस्याबाट अधिकांश विवाहित र बच्चा जन्माइसकेका महिला बढी पिडित छन् । समान्य अवस्थामा रहेको भन्दा केही तल पाठेघर झरेको वा सरेको अवस्थालाई पाठेघर खसेको ( आड खसेको) भनिन्छ । यसरी खसेको पाठेघरसँंगै यौनमार्गका साथमा मूत्रथैली र गुदद््वारको केही भागले समेत ठाउँ छोड्छ ।


विज्ञहरुका अनुसार पाठेघर खस्ने समस्याका प्रमुख तीन चरण हुन्छन् । पहिलो चरणमा पाठेघरले आफ्नो ठाँउ छोड्छ । यस अवस्थामा पाठेघर योनीभित्रै हुन्छ । दोश्रो चरणमा पाठेघरले ठाउँ छोड्छ र योनीको मुखसम्म आउँछ । र तेस्रो चरण पाठेघर योनीको मुखबाहिर आउँछ । वरिष्ठ स्त्रीरोग विज्ञ डा. अचला वैद्यकाअनुसार महिलाको पेट र जनेन्द्रीयको माशंपेशी तन्किनेगरी धेरै दबाब परेमा पाठेघर तल झर्ने सम्भावना हुन्छ । सुत्केरी भएका बेला गहैं भारी उठाउँदा, लामोसमय सुत्केरी व्यथा लाग्दा, बर्षेनी बच्चा जन्माएका महिलाको पेट र जनेन्द्रीयका मांशपेशीहरू तन्केर कमजोर हुन्छन र पाठेघर झर्छ ।


तल्लो पेट दुख्नु, योनीद्धार खुल्ला हुनु, शारीरिक सम्पर्क गर्दा अत्यधिक दुख्नु र तल्लो पेटमा भारी भएको महसुस हुनु पाठेघर खसेको लक्षण हुन् । डा. बैद्य भन्छिन, त्यसैले यस किसिमका लक्षण देखिएका महिलाले जतिसक्दो चाँडो स्वास्थ्य जाँच गराउनुपर्छ । यस समस्याको उपचारका लागि थापाथलीस्थित प्रसुती गृहमा आएका ललितपुरकी सावित्रा लाखेले वीस वर्षदेखि पीडित भएपनि उपचारका लागि श्रीमान्ले चासो नदिएको दुःखेसो गरिन् । चार छोराकी आमा सावित्री पछिल्लोपटक जेठी बुहारीसँग अस्पताल आएकी थिइन् ।


सरकारले हरेक वर्ष ग्रामीण क्षेत्रका महिलाका लक्षितगरी पाठेघरको उपचार गर्ने योजना अन्र्तगत स्वास्थ्य शिविरहरु सञ्चालन गर्ने गरेको छ । पाठेघर खस्ने समस्या भएका महिलाको अनुपातमा यो कार्यक्रमले थोरै महिलालाई मात्र समेटेको छ । अझै पनि ग्रामिण भेकका महिला रोग लुकाउन प्रवृति बढी छ । चेतनाको अभाव, गरिबी समाजिक अपहेलनाको भय र गुणस्तरीय उपचार दिने स्वास्थ्य संस्थाको अभावले महिला रोग पालेरै बस्नु परेको अवस्था छ ।
सुदूर र मध्यपश्चिमका अधिकांश पहाडी क्षेत्रका महिलाको प्रमुख स्वास्थ्य समस्या नै पाठेघर खस्नु ( आड खस्ने) भएको लामो समय सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायलका निर्देशक रहेर काम गसिसकेका स्वास्थ्य मन्त्रालयको मूल्यांकन तथा अनुगमन महाशाखाका निर्देशक श्रीकृष्ण भट्टले बताए । सरकारले यस किसिमको समस्या भएका महिलाका लागि बजेट बढाउँन आवश्यक भएको भट्टको भनाई छ ।


रोगको असर


चिकित्सकका अनुसार पाठेघर झर्दा एउटा बेलुनजस्तो पोको योनीबाट बाहिर निस्कन्छ । त्यो पेटीकोटलगायतका भित्री कपडामा टाँसिने र घस्रनेहँुदा पाछिगएर घाऊ बन्छ । यसबाट रगत मिसिएको फोहोर गन्हाउने पानी निस्कन्छ । यो समस्या भएका महिलालाई दिसापिसाव गर्दा वा सम्भोग गर्दा दुख्ने, बच्चा जन्माउँदा लामो समयसम्म व्यथालाग्ने, हिड्दा अप्ठेरो महसुस हुने, शारीरिक काम गर्दा तल्लो पेटदुख्ने, कम्मर दुख्ने जस्ता समस्यासँंग जुध्नुपर्ने हुन्छ । पाठेघर खसेकै कारण श्रीमान र श्रीमतीबीचको यौन सम्बन्धमा कमी आउँछ । समस्याका बिषयमा सबै कुरा खुलेर श्रीमानलाई नभन्ने महिलाका श्रीमानले श्रीमतीलाई शंकाका दृष्टिले हेर्ने गर्छन । जसका कारण पारिवारिक सम्बन्ध नै बिग्रन सक्ने संभावना समेत हुन्छ । त्यसैले यो समस्यालाई लुकाइराख्नु भन्दा स्वास्थ्य संस्था वा अस्पताल गएर उपचारका लागि आवश्यक सल्लाह लिनुपर्छ ।

उपचार


पाठेघर खस्ने समस्या भएका महिलाकालागि विभिन्न उपचार विधि छन् । जसका माध्यमबाट यो समस्याबाट छुटकरा पाउँन सकिन्छ । रिङ पेसरी ( रबरको चुराजस्तो उपकरण ) लाई योनीभित्र पठाई पाठेघरलाई आफ्नो ठाउमा अड्याएर राख्नु पर्छ । यो उपकरण स्वास्थ्य कार्यकर्ताले योनीभित्र राखिदिएपछि तीन महिनासम्म केही गर्नु पर्दैन । हरेक तिन महिनामा यसलाई झिकेर राम्रंरी सफा गर्नुपर्छ र पानीमा राम्ररी उमालेर फेरि राख्नुपर्छ ।
पाठेघर तल खसेको अनुभव भएमा जाँच गराउनका लागि स्वास्थ्य संस्था जानुपर्छ । जाँच गराएपछि कुन किसिमको उपचार आवश्यक छ भन्ने कुरा थाहा पाएपछि उपचार सुरु गर्नुपर्छ । पाठेघर तल खस्यो भने शल्यक्रियामार्फत पनि उपचार गर्न सकिन्छ । तालिम प्राप्त दक्ष चिकित्सकले खसेको पाठेघरलाई शल्यक्रिया गरेर झिकिदिन्छन् । शल्यक्रिया गरेर पाठेघर निकालेपछि महिलाले साविकमा झै सजिलोसँंग कामकाज गर्न सक्छन । तर महिनावारी र बच्चा जन्माउँन भने संभव छैन् ।


पाठेघर खस्नबाट कसरी बच्ने ?   



  • सुत्केरी अवस्थामा गहंगो भारी नउचाल्ने वा नबोक्ने
  • गर्भवती हुदा आवश्यक मात्रामा आराम गर्नु पर्छ
  • हल्का खालको काममात्र गर्नु पर्छ
  • सुत्केरी व्यथा लामो समयसम्म लाग्न दिनु हुदैन
  • १२ घण्टाभन्दा बढि व्यथा लाग्यो भने चिकित्सकको सल्लाह लिनु पर्छ
  • पोषिलो खाना खानु पर्छ
  • झोल कुरा प्रसस्त मात्रामा खानु पर्छ ।
  • शारीरिक व्यायाम गर्नु पर्छ
  • कम अन्तरालमै बच्चा जन्माउनु हुदैन
  • सुत्केरी अवस्थामै शारीरिक सम्बन्ध राख्नु हुदैन


 किन खस्छ पाठेघर ?



  • कम उमेरमा बच्चा पाँउदा
  • सुत्केरी भएको ६ हप्ताभित्रै गहैं भारी उठाउदा
  • कम समयको अन्तरालमा बच्चा जन्माउँदा
  • गर्भवस्था र सुत्केरी अवस्थामा आवश्यक मात्रामा पोषिलो खानेकुराको अभाव
  • असुरक्षित गर्भपतन गराउँदा
  • बच्चा जन्माउने समय अगावै आवश्यकता भन्दा बलगर्नु
  • सुत्केरी अवस्थामै शारीरिक सम्पर्क गर्नु
  • प्रसूतिपछि आराम नगर्नु

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips